arrow

जसपाका इस्तियाक राईलाई राप्रपा र एमालेको धोका, पार्टीबाटै विद्रोह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
mohomad-istiyak-rai-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ। आम निर्वाचन २०७९ को मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । निर्वाचनका लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । 

सत्ता गठबन्धनमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् भने अर्कोतर्फ नेकपा एमालेको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल परिवार दल, नेपाली कांग्रेस वीपी लगायतका रहेका छन् । 

तर, बाँके २ मा जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईविरुद्ध नेकपा एमाले र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले तालमेल गरेका छन् । उनीविरुद्ध राप्रपाका डा. धवलशमशेर राणा चुनावी मैदानमा छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ। जसपालाई एमाले र राप्रपाले त धोका दियो नै अर्कोतर्फ आफ्नै पार्टीबाट बागी उम्मेदवार बनेपछि उनका लागि यो चुनाव निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ। 

पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला लड्दै आएको बाँके क्षेत्र नम्बर २ मा हुने निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ। बाँके-२ मा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा, जसपाका राई र राप्रपाका राणा उम्मेदवार रहेका छन् । 

यस पटक उनलाई आफ्नै परिवारको पनि साथ नभएपछि उनले जातीयताको मुद्दालाई बोकिरहेका छन् । जसपा बाँकेका सचिवसमेत रहेका मन्त्री राईका भाइ (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

यस्तै जसपाका केन्द्रीय सदस्यसमेत रहेका नेता बाबु खाँ पठानले पनि विद्रोह गरेर मन्त्री राईविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट उम्मेदवार बन्न नपाएपछि उनले विद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

जसपाका सचिव समशुल र केन्द्रीय सदस्य खाँले सङ्घीय निर्वाचनमा पार्टीभित्र एउटै व्यक्तिलाई पटक-पटक उम्मेदवार बनाउन नहुने भन्दै पूर्वमन्त्री राईविरुद्ध विद्रोह गरेका हुन् । राईकै कारण आफूहरूको राजनीति नै समाप्त हुन थालेको उनीहरूको बुझाई छ ।  

अर्कोतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चुनावी मैदानमा छन् । उनलाई सत्ता गठबन्धनमा रहेका सम्पूर्ण दलहरूले समर्थन गर्दै चुनावी प्रचार-प्रसारमा लागेका छन् । राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।  

नेपाली कांग्रेसले युवा नेता राणालाई उम्मेदवार बनाएर मत सुरक्षित बनाउने रणनीति लिएको छ । स्थानीय तहको मतको आधारमा यहाँ कांग्रेसका राणा बलियो छन् । बाँके क्षेत्र नम्बर २ मा ९७ हजार ८०९ मतदाता  छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ