arrow

कति कमायो टेलिकमले प्रथम त्रैमासिकमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
nepal-telecom-1618296039.png
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्षको प्रथम त्रैमासिकको आयव्यय सार्वजनिक गरेको छ । जसअनुसार २०७८ असोज मसान्तसम्मको कुल आय रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आर्थिक वर्षको सोही अवधि (२०७९ असोज मसान्तसम्म) मा कुल आय रु. ८ करोड ७७ लाख ४३ हजार (अर्थात् ०.८० प्रतिशत) ले वृद्धि भई रु. ११ अर्ब ४ करोड ९० हजार रहेको जनाएको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासिकमा कम्पनीको कुल सञ्चालन आय रु. ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा रु. ६९ करोड ७७ लाख ९ हजार (अर्थात, ७.१४ प्रतिशत) ले कमी भई रु. ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको पनि कम्पनीले जनाएको छ ।  

गत आ.व. को प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफा रु. २ अर्ब २५ करोड  ९९ लाख ४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि सम्ममा रु. ३ करोड ४३ लाख ८० हजार (अर्थात, १.५२ प्रतिशत) ले कमी भई रु. २ अर्ब २२ करोड ५५ लाख ७ हजार रहेको जनाइएको छ ।

त्यस्तै गत आ.व. को प्रथम त्रैमासिक अवधिसम्मको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको पनि टेलिकमले जनाएको छ–
कार्य सञ्चालन आयमा वृद्धिः डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब रु. ११ करोड ४० लाख वृद्धि भएको । 
कार्य सञ्चालन आयमा कमीः १, अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. १० करोडले कमी भएको । साथै ओटीटी सेवाको बढ्दो प्रयोगका कारण भ्वाइस सेवाको समग्र आयमा कमी भएको । 

२, मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा सञ्चालन हुन नसकेको 

३, आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएको । 

४, कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको । 

गैर कार्य सञ्चालन आयमा भएको परिवर्तनः १, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब रु. ७९ करोडले वृद्धि भएको । 

२, विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ७ करोड फरेन एक्सचेन्ज गेन भएको । 

३, कम्पनीको लेखा नीति तथा आईएफआरएस–एनएफआरएस बमोजिम गणना गर्दा इन्पेयरमेन्ट तथा फाइनान्स कष्टमा गत आ.व.मा भन्दा कमी आएको । 

४, आ.व.२०७९–८० देखि कर्मचारीहरुको तलब सुविधामा वृद्धि भएको कारणले कर्मचारी खर्च वृद्धि हुन गएको ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ