arrow

इलाममा अन्तिम कसरतमा उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
jhalnatha.JPG

इलाम । चुनावको दिन नजिकिएसँगै उम्मेदवारहरू अन्तिम कसरतमा जुटेका छन् । उम्मेदवारहरू अहिले घरदैलो र आमसभामार्फत जनताको मन जित्नेतिर लागेका छन्। 

इलाममा दुई ठूला ‘हेभिवेट’ मानिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका कारण यस पटकको निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ । 

यहाँ हुने निर्वाचनमा दुई ठूला उम्मेदवारसँग प्रतिस्पर्धामा लागि दुई पार्टीका जिल्ला सभापतिले नै टक्कर दिने सङ्केत देखिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत यसै जिल्लाबाट निर्वाचनमा उठेका छन् ।  

पूर्वप्रधानमन्त्री खनालले यस पटक लोकतान्त्रिक–वाम गठबन्धनको साथमा नेकपा (एकीकृत समाजवादी) बाट इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनीसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत भिड्दै छन् । सातौँ पटक सोही निर्वाचन क्षेत्रबाट उठेका खनाल छैटौँ जितको खोजीमा छन् । 

एक पटक नेपाली कांग्रेसका उम्मेदवार बेनुपराज प्रसाईंसँग पराजित भएका उनी यस पटक आफ्नै पूर्वसहकर्मीसँग चुनाव लड्दै छन् । खनालसँग उनकै चेलो मानिने बस्नेत दुई कार्यकाल इलाम नगरपालिकाको प्रमुख भइसकेका छन् । 

खनालले यस पटक आफ्नो प्रतिस्पर्धा नै नहुने भन्दै आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । उनले एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका गठबन्धन दलबाट आउने मतले आफ्नो जित सुनिश्चित रहेको बताए । 

यता प्रतिस्पर्धी बस्नेतले भने पाका उम्मेदवारलाई सम्मानसहित नयाँ उम्मेदवारले जित्ने दाबी गरेका छन् । उनीहरू दुवैले इलाम क्षेत्र नम्बर १ का जनतामाझ घरदैलो गरिरहेका छन्  । 

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको इलामको क्षेत्र नम्बर २ मा समेत प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । यहाँ पूर्वसभामुख नेम्वाङसँग नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनावी प्रतिस्पर्धीका रूपमा छन् । खड्कालाई सत्ता गठबन्धन दलहरूको साथ रहेको छ । 

नेम्वाङ यस पटक पनि यही क्षेत्रबाट चुनाव लड्दै छन् । यसअघि चार पटक यही क्षेत्रबाट निर्वाचित भएका उनी यस पटक पनि जितका लागि कसरत गरिरहेका छन् । 

समाज सेवामा चर्चा कमाएका कांग्रेस जिल्ला सभापतिसँगको प्रतिस्पर्धा नेम्वाङका लागि निकै कडारूपमा लिइएको छ । नेम्वाङले निर्वाचन घोषणा भएपछि खासै आफ्नो क्षेत्र नछोडी घुमिरहेका छन् । उनले संविधान जारी गर्दा आफ्नो पहल र प्रयास भएको र यहाँका जनताको शिर झुक्न नदिने भन्दै आफूलाई जिताउन आग्रह गर्दै आएका छन्  । 

उनका प्रतिस्पर्धी खड्का पनि उत्तिकै लागि परेका छन् । खड्काले वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । उनले पटकपटक जितेर पनि आफ्नो निर्वाचन क्षेत्रमा विकासको बीउ रोप्न नसकेका नेताविरुद्ध धेरै युवा लागेको जिकिर गरे । गठबन्धन दलहरू एक जुट भएर निर्वाचनमा होमिनु नै आफ्नो जित सुनिश्चित भएको उनको भनाइ छ । 

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वासमेत यसै निर्वाचन क्षेत्रबाट चुनावमा होमिसकेका छन्। उनले पनि यस क्षेत्रमा एउटै उम्मेदवारले पटकपटक जितेका कारण यहाँको विकास हुन नसकेकाले विकासको खाकासहित आफू आएको र आफ्नो जित सुनिश्चित रहेको बताए । 

दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको इलाममा दुई लाख २४ हजार चार सय ७४ मतदाता रहेका छन् । चुनावका लागि यहाँ एक सय ५० निर्वाचनस्थल र दुई सय ८५ वटा मतदान केन्द्र तोकिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ