arrow

कफी उत्पादन वृद्धिमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
coffee-plant.jpg.jpeg
फाइल तस्वीर

नुवाकोट । विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । आज ‘व्यावसायिक कफी खेतीमा जोड-गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले नुवाकोटमा पछिल्लो समय कफी उत्पादनमा वृद्धि भइरहेको र यसको क्षेत्र विस्तारमा सबैको ध्यान पुग्नुपर्ने बताए । “सन् २००८ देखि नुवाकोटमा व्यवस्थित कफी उत्पादन हुन थालेको हो । 

अहिले नुवाकोटको कफी विदेश निर्यात् हुन थालेको रहेछ । यो खुशीको कुरा हो”, उनले भने,  “खेती प्रवर्द्धनका लागि ध्यान दिनुपर्छ । किसानलाई थप हौसलाको खाँचो रहेको छ ।”

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले स्थानीय सरकारले विकासको बजेट बाटोमा मात्र नभई माटोमा पनि लगानी गरे कफी खेतीको विकास र प्रवर्द्धन हुने बताए । उनले नेपालको कफीको विदेशमा समेत उच्च माग भएकाले किसानले यसको उत्पादनमा जोड दिनुपर्ने बताए ।

 “कफी नेपालको विदेशी मुद्रा भित्र्याउने वस्तु हो । गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्छ, विदेशमा जति पनि बिक्री हुन्छ । नेपालको आर्थिक उन्नतिका लागि कफी उत्पादन एउटा प्रमुख खेती हो”, कार्यकारी निर्देशक भट्टराईले भने । 

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष केशरबहादुर सिटौलाले किसानलाई उपयुक्त प्रविधि र प्रशिक्षणको खाँचो रहेकोले बोर्डले अहिले यसैमा केन्द्रित भएर योजना ल्याएको बताए । 

नेपालमा अहिले तीन हजार तीन सय ४३ हेक्टर जमीनमा कफी खेती हुँदै आएको छ । गत आर्थिक वर्षमा तीन सय ५५ मेट्रिकटन कफी उत्पादन भएको र यसको २० प्रतिशत कफी विदेशी बजारमा बिक्री भएको बोर्डले जनाएको छ । 

नेपालमा विसं १९९५ हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालमा कफी खेती सुरु भएको बोर्डले जनाएको छ । 

बोर्डले मङ्सिर १ गतेदेखि लागू हुने काँचो कफीको न्यूनतम सहमत मूल्य पनि तोकेको छ । ए ग्रेडको फ्रेस चेरी कफी प्रतिकिलो रु ९५, बि ग्रेडको रु ८५, ए ग्रेडको पार्चमेन्ट कफी रु चार सय ७५, बि ग्रेडको रु चार २०, ए ग्रेडको ड्राई कफी प्रतिकिलो रु एक सय ७० र बि ग्रेडको ड्राई कफीको मूल्य प्रतिकिलो रु एक सय १५ तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ