arrow

माओवादी युवा नेताहरु पार्टीप्रति चिन्तित, प्रचण्डको आलोचना गर्दै छुट्टै भेला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
maoist-young-leaders.jpg

काठमाडौं । माओवादी केन्द्रका नेताहरु सरकारमा सहभागी हुने कि नहुने बहस गरिरहेका बेला युवा नेताहरुले भने नेतृत्वको आलोचना गर्दै छुट्टै भेला गरेका छन् । 

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीलाई कमजोर परिणाम हात लागेको भन्दै उनीहरुले छुट्टै भेला गरेका हुन् । पार्टी कमजोर हुँदै गएको अवस्थामा उनीहरूले यसको पुनर्गठन वा अर्को विकल्प खोज्ने भन्दै भेलाको आयोजना गरेको स्रोतको दाबी छ । 

पार्टी नेतृत्वले समस्या समाधानका लागि पहल नगर्ने हो भने अब माओवादीको भविष्य नभएको प्रारम्भिक मतका आधारमा भेला गर्नु परेको एक सहभागीको धारणा छ । 

स्थानीय, प्रदेश तथा संघीय संसद्को चुनावमा माओवादीले अपेक्षाकृत जित निकाल्न नसकेको, पार्टी सिद्धान्त र व्यवहारमा निरन्तर क्षयीकरण हुँदै गएको र अब पनि माओवादी आन्दोलनको पुनर्गठन नगर्ने हो भने निरन्तर ओरालो लाग्ने पक्का भएकाले युवाहरूले पहलकदमी लिनुपरेको सहभागी मध्ये एक नेताको भनाइ छ ।

 ‘पार्टीलाई जीवन्त बनाउन मात्रै होइन पार्टीभित्र देखिएका समस्याको समाधानका लागि पनि अहिलेको भेला आवश्यक रहेको छ’, भेलाको नेतृत्वकर्ता मध्येका एक लेखनाथ न्यौपानेले भने । 

पार्टीको पुनर्गठन गर्नुपर्छ भन्ने चाहना भएका युवाहरू बसेर छलफल गरिएको पनि उनको भनाइ छ । 

‘एक चरण छलफल गरेर आएका निचोडहरूलाई पार्टी शीर्ष नेतृत्वसमक्ष बुझाइने छ’, उनले भने । बिहीबार राजधानीमा भएको सो भेलामा युवा मात्रै नभएर पार्टी पदाधिकारी, स्थायी तथा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूसमेत सहभागी थिए । 

 ‘माओवादीका जनवर्गीय संगठनका अध्यक्ष र महासचिव पनि उपस्थित भएका छन्,’ न्यौपानेले भने । पार्टीभित्र योजना बनाउने तर कार्यान्वयन नगर्ने, देश माओवादीको एजेण्डामा चल्ने तर माओवादी दिनदिनै कमजोर हुँदै जाने क्रम नरोकिएपछि युवा नेताहरू एकताबद्ध भएर छलफल गर्न लागेको पनि अर्का सहभागीले बताए । 

सो भेलाको नेतृत्व माओवादीका युवा नेताहरूमा लेखनाथ न्यौपाने, रामदीप आचार्य, हिमाल शर्मा, रञ्जित तामाङ, डीपी ढकाललगायत गरेका थिए । 

भेलापछि न्यौपानेले यो कुनै गुटबन्दी नभएको बताएका छन् । ‘पार्टी गुटको कुरा होइन । पदको कुरो पनि होइन । कुण्ठाको कुरो त हुँदै होइन । पार्टीलाई पार्टी जस्तै बनाउने जसले विश्वास र आशा संगठित गर्छ अनि बहुसंख्यक आधारभूत तहका मानिसकासाथै देशको नेत्तृत्व हुन्छ’, उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनीहरुले अहिलेको जस्तै अवस्था रहे आगामी दिनमा पार्टीले ‘डबल डिजिट’मा कुनै परिणाम हासिल नगर्ने भन्दै नेतृत्वलाई सचेत गराउन लागि परेको बताएका छन् ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफू नै प्रधानमन्त्री हुने ध्यानमा लागिरहेका छन् । उनले आफू जसरी पनि प्रधानमन्त्री हुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावपछि आफू नै प्रधानमन्त्री हुनेमा सहमति भएको बताउन थालेका छन् । 

उनले गठबन्धनबाट आफू प्रधानमन्त्री हुन नपाए विकल्प खुला रहेको भन्दै एमालेसँग सहकार्य गर्न सकिने घुर्की पनि लगाउन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ