arrow

पातले छाँगो अवलोकन गर्ने बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
devis-fall-pokhara.jpg

पोखरा । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । 

पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ ।

पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आएपनि दशैंपछि  पर्यटकको सङख्या ह्वात्तै बढेको छ । 

अहिले अधिकांश भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू बढी हुने गरेको जानकारी पातले छाँगोस्थित टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले दिनुभयो । सबै देशका गरी यतिबेला दैनिक तीनदेखि तीन हजार पाँच सयको सङ्ख्यामा छाँगो अवलोकन गर्न आउने पर्यटकको तथ्याङ्क पनि सापकोटाले दिनुभयो । दशैंअघि दैनिक हजारको सङ्ख्यामा अवलोकन गर्न पर्यटक आउथे ।  

    सोमबार दिउँसो पातले छाँगो अवलोकन गर्न पुगेकी भारत विहार प्रदेश निवासी पुनम कुमारीले भनिन्, “पातले छाँगो निकै सुन्दर लाग्यो, यहाँका फेवा ताल, गुप्तेश्वर र महेन्द्र गुफा, म्युजियमलगायत अन्य ठाउँ  सुन्दर छन् ।” 

    स्पेनबाट आएका दुई पर्यटक पातले छाँगो अवलोकनपछि भन्दै थिए, यस्ता प्राकृतिक झरनाले हाम्रो मन निकै लोभ्यायो । सहर नजिकै फेवाताल, डेभिज फल्स, बेगनास, माछापुछ्रे हिमाल जस्ता प्राकृतिक सम्पदा देख्न पाउँदा आनन्दित भएको उनीहरु बताउँछन् । 

पातले छाँगो अवलोकन गरेबापत प्रवेश शुल्कबाट वार्षिक रु दुई करोड बढी आम्दानी हुन्छ । छाँगो सञ्चालन र संरक्षणको जिम्मा स्थानीय छोरेपाटन माविले लिएको छ । उक्त शुल्कबापत हुने आम्दानी निजी स्रोतबाट राखिएका ७० शिक्षकको तलब र छाँगोमा परिचालित कर्मचारीको तलबका साथै बाँकी रकम त्यहीको संरचना निर्माणमा खर्च गर्ने गरेको उक्त विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले बताए । 

प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा दुई हजार तीन सय विद्यार्थी छन् । त्यहाँ सरकारीस्तरबाट २५ शिक्षक दरबन्दी छन् । निजीस्तरबाट ७० शिक्षक तथा कर्मचारी रहेका हुँदा शुल्कबाट उठेको रकम अधिकांश तलब भत्तामा नै खर्च हुने गर्छ । २०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको हो । 

आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने जानकारी शर्माले दिए । 

यहाँको पर्यटकहरु सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ । डेभी नाम गरेकी एक स्विस पर्यटक सन् १९६१ यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । 

पाँच सय मिटर भूमिगत जल प्रवाह र सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । 

छाँगो वरिपरिका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्तिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ । 

करिब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा आन्तरिक र भारतीय पर्यटकको चाप हुने गरेको छ । अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी रु २०, नेपाली रु ४० र विदेशीलाई रु ८०  र तेस्रो मुलुकका विदेशीका लागि रु सय तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ