arrow

सभापति निर्वाचनको अन्तिम चरणजस्तै मोडिए रामचन्द्र, प्रकाशमान, विमलेन्द्र र शशाङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
congress-election-parliament-leader.jpg

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार बिहान मतदान हुँदैछ । बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । 

यो संसदीय दलको नेताको चुनाव भए पनि समीकरण भने गत वर्ष भएको पार्टीको १४ औं महाधिवेशनको सभापतिको दोस्रो चरणको निर्वाचनको झल्कोजस्तै देखिएको छ । त्यतिबेला रामचन्द्र पौडेलले आफू सभापतिमा लड्ने बताउँदै आएका थिए । तर अन्तिम समयमा संस्थापन इतर समूहबाट सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामै भाग नलिइ तटस्थको नाममा संस्थापनइतर समूहलाई असहयोग गरेका थिए । उनको मौनताले शेरबहादुर देउवालाई फाइदा गरेको थियो । 

यसपालि संसदीय दलको नेतामा पनि उनले त्यसै गरे । अघिल्लो दिनसम्म आफू उम्मेदवार हुने बताइरेका थिए । तर सभापति देउवासँग सहमति मिलाई राष्ट्रपतिका लागि सुरक्षित हुने वचन पाएपछि छाडेको बुझिन्छ र उनले यसपालि खुलेरै देउवाको समर्थन गर्दै प्रस्तावक नै बसे ।  

त्यसैगरी १४ औं महाधिवेशनको सभापतिमा लडेका प्रकाशमान सिंह र विमलेन्द्र निधीले पहिलो चरणको मतदानमा सफल हुन सकिएन भने अन्तिम चरणमा सभापतिका उम्मेदवार शेखर कोइरालालाई सघाउने वचन दिएका थिए । तर एकाएक उनीहरुले शेखरलाई हैन देउवालाई समर्थन गरे । यसपालि संसदीय दलको निर्वाचनमा उनीहरुले देउवालाई साथ दिने बताएका छन् । 

त्यस्तै १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिमा लड्ने भन्दै आएर अन्तिम समयतिर सहमति नभएपछि होड छाडेका डा. शशाङ्क कोइरालाले देउवालाई नै साथ दिने बताएका छन् । उनले हालै एक सार्वजनिक कार्यक्रममासमेत मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका थिए । 

तर त्यही भनेर बसेको भए उनका पिता विश्वेश्वरप्रसाद कोइरालाले कांग्रेसको नेतृत्व गर्न सक्ने थिएनन् र नेपालमा प्रजातन्त्र आउन २००७ सालमै मुस्किल हुने थियो । त्यतिमात्र हैन उनी २०१५ सालको निर्वाचनबाट चुनिएर पहिलो निर्वाचित प्रधानमन्त्री पनि बन्न सक्ने थिएनन् । 

अर्थात् डा. शशाङ्क युवाप्रति विश्वस्त छैनन् भन्ने हो । उनी वीपीको सिद्धान्तबाट केही टाढा भएको छनक पाउन सकिन्छ । 

यसरी समर्थन पाएको समीकरण आउँदा सभापति देउवा नै संसदीय दलको नेता हुने लगभग पक्का छ । 

यसमा गगन थापा पनि सहमत जस्तै छन् । तर उनले देखाएको हिम्मतप्रति भने धेरैले प्रशंसा गरेका छन् । उनी पृथक देखिएका छन् । अबको युग युवाको हो भन्ने देखाइरहेका छन् । 

उनले भने, ‘संसदीय दलभित्र हामी पार्टीका आन्तरिक मतदाता होइनौं हामी जनताबाट चुनिएर आएका हौं । सांसदले जनमतको प्रतिनिधित्व गर्नुपर्छ । के जनमत प्रकट भएको छ, जनताको आकांक्षा के छ । त्यो ख्याल गर्नुपर्छ ।’ 

गगनले भने, ‘युवाले परिवर्तनलाई लिएर हिँड्ने भएकाले मेरो उम्मेदवारी हो ।’

उनले जनताको मन र परिवर्तन बुझेर आएका सांसदहरुले अहिले सोचेको जस्तो नतिजा नआउन सक्छ भन्दै टिकट बाँड्ने बेलामा सभापति देउवा हावी भएको बताएका छन् ।  

देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । गगनले पहिलो पटक कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुन पाउने ढोका खुल्छ । 



नयाँ