arrow

युवा प्रधानमन्त्रीका पक्षमा

logo
मनोज लामिछाने, 
प्रकाशित २०७९ पुष ५ मंगलबार
manoj-lamichhane-article-gagan.jpg

विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २००६ साल चैत २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट स्थापना पश्चात् राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारा दिएर सात दशकदेखि अनवरत संघर्ष गर्दै आइरहेको गौरवमय इतिहास बोकेको पार्टी नेपाली कांग्रेस सत्ता स्वार्थ राजनीतिमा यसरी लट्पटियो कि वीपीको सिद्दान्तलाई सत्ता प्राप्तिका लागि हतियारको रुपमा मात्र प्रयोग गरिरह्यो । युगपुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा हुर्किएको र राणा शासनको अन्त्यका निम्ति ज्यानको आहुति दिने गङ्गालालको ‘मेरो रगत खेर जान नदिनू है’ भन्ने वाक्यलाई आदर्श मान्दै भद्रगोल जेल फोरेर भागेका लौहपुरुष, प्रजातन्त्रका पिता तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता सादगी तथा सुबर्ण शमशेर जस्ता त्यागी नेताहरुको संस्कारमा हुर्किएको कांग्रेस २०४६ सालपछि यति विचलित हुँदै गयो कि देश र जनताका लागि जीवनभर संघर्ष गरेका नेताहरु सत्ता र शक्तिको लोभमा पार्टी फुटाउने र जुटाउने काममा केन्द्रित हुनथाले ।

यतिसम्म कि जनताले दिएको दुई तिहाइको सरकार बनाउने म्यान्डेटलाईसमेत लत्याएर एउटा इतिहास बोकेको पार्टीलाई टुक्रा पारियो र आफूलाई वीपीको अनुयायी भन्ने नेताहरु समेतले पार्टीलाई आफ्नो निहित स्वार्थका लागि सत्ता प्राप्तिको सिँढीको रुपमा प्रयोग गरिरहे । यसको उदाहरण अहिले कांग्रेसमा प्रधानमन्त्री र मन्त्रीका लागि चलेको दोहोरीलाई लिन सकिन्छ । गठबन्धन गर्ने बहानामा कुनै दिन नेपाली कांग्रेसलाई आफ्नो पहिलो दुस्मन मान्ने र कुममा चढेर टाउकोमा मुक्का हान्नु पर्छ भनेर कांग्रेसलाई बर्ग शत्रुको रुपमा हेर्ने माओवादी केन्द्रसँग काँधमा काँध मिलाएर चुनावमा होमिनु एक सच्चा इमान्दार कार्यकर्ताको हितमा कदापि थिएन । 

यसको परिणाम कांग्रेसको ठूलो जनाधार हुँदा हुँदै पनि प्रतिनिधि सभाको चुनावमा ५७ सिटमा खुम्चिनु पर्यो । विगतको नतिजालाई हेर्ने हो पनि त्यो साख गिर्दै गएको अनुमान गर्न सकिन्छ । २०१५ सालमा १०९ मध्ये ल्याएको ७४ सिट र अहिले १६५ मध्ये ल्याएको ५७ सिटले कांग्रेसको गति कसरी खस्किँदैछ भन्ने स्पष्ट हुन्छ । किनकि एउटा सिंगो इतिहास बोकेको पार्टीले ५७ सिटमा चित्त बुझाउनुपर्ने अवस्था आउनु भनेको अहिलेको नेतृत्वलाई लिन सकिन्छ । यो अवस्थाको भागीदार अहिले नेपाली कांग्रेस पार्टीभित्रका आफूलाई शीर्ष नेता भन्नेहरु हुनुपर्दछ ।  

अहिले मुलुक युवामय हुँदै गैरहेको छ र आम नेपाली जनताहरुको चाहना पनि युवाहरुको काँधमा सत्ता हस्तान्तरण हुनुपर्छ भन्ने छ । विगतमा भएको स्थानीय तहको चुनावको नतिजा र अहिले भर्खर सम्पन्न भएको आमनिर्वाचनमा देखिएको युवाहरुको उपस्थितिलाई हेर्दा युवाहरु राज्य सत्ताको केन्द्रमा हुनुपर्छ भन्ने नै हो । यसका लागि सबै पार्टीका शीर्ष नेताहरुले उदार भएर आफ्ना पार्टीभित्र रहेका युवाहरुलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो । 

यो समयको माग पनि हो । अहिले नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ । देशमा पाँच पटक प्रधानमन्त्री भइसकेका र उमेरले आराम गर भन्ने अवस्थामा पुगेका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाउमा तँछाडमछाड गरिरहेका छन् । यो कार्य युवाहरुलाई शक्तिको केन्द्रमा ल्याउनका लागि ठूलो बाधक होे भन्ने एकथरिको राय छ भने अर्काथरिकाहरु भने युवाहरुको राज्यको उच्च तहमा पुग्ने बेला भएको छैन भन्ने तर्क छ । 

तर नेपाली कांग्रेसको इतिहास पल्टाउने हो भने अहिलेको यो तर्कको कुनै तुक छैन ।  किनकि तत्कालीन अवस्थामा ३२ वर्षका युवाले कांग्रेस पार्टीको बागडोर सम्हालेका थिए । ती युवा नेता वीपी थिए । अहिले नेपाली राजनीतिमा देखिएको शीर्ष नेताहरुको अवस्था हेर्न हो भने अधिकांश नेताहरुले विश्राम लिनुपर्ने देखिन्छ ।

२०४७ देखि २०७९ सम्मको अवस्था हेर्दा कृष्णप्रसाद भट्टराई, ज्ञानेन्द्र शाह, खिलराज रेग्मीदेखि केपी ओलीसम्म आइपुग्दा १४ जनाले देशको प्रधानमन्त्रीको पदभार सम्हालेको देखिन्छ । ३२ वर्षको अवधिमा सत्तामा बस्ने राजनैतिक पार्टीबाट प्रधानमन्त्रीहरुको नाम र पटक हेर्ने हो भने, गिरिजाप्रसाद कोइराला ५ पटक, शेरबहादुर देउवा ५ पटक, कृष्णप्रसाद भट्टराई २, लोकेन्द्रबहादुर चन्द २, सूर्यबहादुर थापा २, पुष्पकमल दाहाल प्रचण्ड २, केपी ओली २, माधवकुमार नेपाल १, बाबुराम भट्टराई १, झलनाथ खनाल १ पटक, सुशील कोइराला १ पटक, मनमोहन अधिकारी १ पटक देखिन्छ । 

यसको अर्थ हो, विगत ३२ वर्षदेखि यिनै नेताहरुले राज्यको सर्वोच्च पद ओगटेर बसेका छन् । उमेरले डाँडा काटिसक्यो, हिँड्नका लागि सहारा चाहिन्छ तर देशको सर्वोच्च पदका लागि तँछाडमछाड गरिरहेका छन् । बिडम्बना आफ्ना पार्टीभित्र रहेका अधिकांश युवाहरु त्यही पुराना नेताहरुलाई राज्य सत्ताको केन्द्रमा ल्याउन लबी गरिरहेका छन् । 

युवाहरुले युवाका लागि आवाज उठाउने कहिले ? अहिले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि र युवाहरु राज्य सत्ताको केन्द्रमा आउनु पर्छ भनेर प्रधानमन्त्रीको प्रत्यासीको रुपमा उभिएका छन् । यस्तो अवस्थामा सबै युवाहरु सांसदहरु एक हुनुपर्ने होइन र ? उनका राम्रा पक्षहरुको वकालत गर्दै उनको कमजोरीप्रति सचेत गराउँदै अहिलेको पुस्ता हस्तान्तरणका लागि सबै युवा सांसदहरु एकजुट भएर राज्य सत्तामा रहेका पुराना नेताहरुका विरासतलाई नयाँ पुस्तामा अवतरण गर्न युवाहरु एकढिक्का भएर गगनलाई साथ दिनु अहिलेको समयको माग होइन र ? किनकी अहिले युवाहरुले युवाका लागि गरेको त्यागले कालान्तरमा नेपालका धेरै युवाहरु राज्य सत्ताको केन्द्रमा आउने छन् । यसका लागि युवाहरुले सोच्नु पर्ने होइन र ?

गगन थापाको कुरा गर्दा विगतमा उनी छोटो समय स्वास्थ्यमन्त्री भएका थिए । उक्त समयमा उनले नीतिगत उपलब्धिहरु हासिल गरेका थिए । डायलासिस सेवा पूरै निःशुल्क भएको घोषणा गरिएको, मृगौला प्रत्यारोपण पुरै निःशुल्क, मृगौलाको प्रारम्भिक परीक्षणका लागि डिपिस्टिक किट पठाइएको, बाथ, मुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको, नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा शुरु भएको, विशिष्टलाई १५ लाख रुपैयाँ भन्दा बढी उपचार खर्च नदिने व्यवस्था, कान्ति बाल अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था, सैनिक अस्पतालमा सर्वसाधारणका लागि खुल्ला, हरेक सरकारी अस्पताल बिहान ९ देखि दिउँसो ३ बजेसम्म अनिवार्य ओपीडी सेवा संचालन, दिउँसो ३ देखि साँझ ५ बजेसम्म पेइङ सेवा, सबै स्वास्थ्य चौकीहरु ४ बजेसम्म चलाउने कामको थालनी गरे । 

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधि र चिकित्सक पुगेको अवस्था, झण्डै ७ सय चिकित्सक नियुक्त गरिएको, ५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परीक्षण शुरु, ७५ जिल्लामा निःशुल्क भीआईए स्क्रिनिङ, १०५३ स्वास्थ्य चौकीमा पीईएन प्याकेज, आत्मनिर्भर भएका औषधिहरु विदेशबाट ल्याउन नपाइने, विदेशबाट ल्याउनै पर्ने महंगा औषधि सरकारी निकायबाटै किनेर बेच्ने, ५० बढी अस्पतालमा फार्मेसीको स्थापना र संचालन, सबै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि ५ बजेसम्म संचालन, जिल्ला स्तरबाट पनि औषधी खरिदको व्यवस्था, फार्मेसी संचालनका लागि केन्द्रमा ३० लाख, क्षेत्रमा २५ लाख, उपक्षेत्रमा २० लाख, अञ्चलमा १५ लाख बिउ पूँजी पठाइएको, जिल्ला अस्पतालका लागि मात्रै ३ करोड ४४ लाख रुपैयाँ बिउ पूँजी पठाइएको, मुटु र क्यान्सरको उपचार सेवा विस्तार, बिना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गरी कानूनी दायरामा ल्याइएको थियो ।

सरकारी स्वास्थ्यकर्र्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था गरिएको, स्वास्थ्य सामग्री, सर्जिकल सामग्रीको नियमन गर्ने पहिलो प्रयास, विपन्न नागरिक उपचार सहायता, कडा रोग ८ बाट १२, लाइन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरुमा कुपन प्रणाली लागू, काठमाडौंमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलासिस सेवाका लागि अनुमति, मृगौला डायलासिस मेशिन किनिएको, काठमाडौं बाहिर डायलासिस सेवा विस्तार, सिकलसेल एनिमियाको परीक्षण तथा उपचार धनगढीबाट शुरु, हृदयरोग निवारण सेवा भेरीबाट शुरु गर्नुका साथै जनकपुरमा शुरु गर्न अध्ययन थालिएको, सेनासँगको सहकार्यमा रौतहटबाट बृहत स्वास्थ्य शिविरको शुरुआत, मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रिया सहितको विशेषज्ञ सेवा शुरु गरियो । 

त्यस्तै नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय, पुल दरबन्दी सृजना, ५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाइ गठन गर्ने व्यवस्था, पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था, सूर्तिजन्य पदार्थ जथाभावी बेच्न रोग, छुट्टै लाइसेन्स लिनुपर्ने व्यवस्था, हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाई, ‘मेरो वर्ष, म स्वास्थ, मेरो देश स्वास्थ्य’ अभियान शुरु, विद्यालयमा सामुदायिक नर्सको अवधारणा, खोप निर्देशिका लागू, एम्बुलेन्स निर्देशिका लागू, प्रयोगशाला निर्देशिका लागू, मदिरा नियन्त्रण तथा नियमन नीति लागू, मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू, नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड लागू, स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागू, चिकित्सक तथा स्वास्थ्यकर्र्मीहरुको सेवा सुविधा सम्बन्धी कार्यविधि लागू, वैदेशिक तालिम र भ्रमण सम्बन्धी मापदण्ड लागू, मदिरा ऐन लागू, आयुर्वेद नीति लागू, गुणस्तर सुनिश्चितता सम्बन्धी ऐन लागू, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका लागू, मानसिक स्वास्थ्य नीति लागू गरेका थिए । 

गगन थापाले छोटो समयमा गरेका राम्रा कामहरु हुन् यी । यसबाट विश्लेषण गर्न सकिन्छ युवाले अवसर पाए जनताले अनुभूति गर्न सक्ने गरी काम गर्न सक्छन् । यो लेखको आसय गगन थापाको वकालत गरिएको भने पक्कै होइन । युवाहरुलाई राज्य शक्तिको केन्द्रमा ल्याउनु पर्छ भन्ने नै हो । 

गगन थापा अहिले यसका लागि कम्मर कसेर लागेका प्रतिनिधि पात्र हुन् । उनले विगतमा गरेका राम्रा र नराम्रा कामका भागीदार उनी नै हुनेछन् । यसको लेखाजोखा इतिहासले गर्ला नै । तर कुरा यत्ति हो युवाहरुको हातमा नेतृत्व जानुपर्छ र यो अहिलेको उचित समय हो । यसका लागि सबै युवा सांसदहरु एकजुट भएर यो मौकाको फाइदा उठाउनु पर्ने देखिन्छ । किनकि जनता अहिले युवाको साथमा छन् नकि उमेरले विश्राम गर्नेका पक्षमा ।    

    


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ