arrow

राजावादी पशुपतिले खुवाउँदै शपथ, विपरीत विचारबाट आएकालाई असजिलो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
pashupati-shamsher-rana-rpp.jpg

काठमाडौं । प्रतिनिधि सभाका निर्वाचित सांसदहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले शपथ ग्रहण गराउने भएपछि विपरीत विचारका र आन्दोलनबाट आएका नेताहरुलाई असजिलो महसुस भएको छ । 

जनताले म्याण्डेट दिएका कारण कुनै अभिव्यक्ति सार्वजनिक नगरे पनि माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुले उनीबाट सपथ लिनुपर्ने भएपछि असजिलो महसुस गरिरहेका छन् । 

तर यो विषयमा कोही कसैले आफ्नो धारणा बाहिर सार्वजनिक गर्न सकेका छैनन् । अहिलेको संसदमा कट्टर राजावादीका हातबाट कट्टर गणतन्त्रवादी नेताहरुले समेत शपथ लिँदैछन् । 

२०६५ सालमै राजतन्त्र हटाएर मुलुकमा गणतन्त्र स्थापना गराएका दलहरुले राजतन्त्रको वकालत गर्दै आएको पार्टीका सांसदबाट शपथ लिनुपर्ने अवस्था आइलागेको छ । संसदको ऐन, कानून र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । 

संसदीय अंक गणितमा संघीयता, धर्म निरपेक्षता, गणतन्त्रको पक्षमा दुईतिहाईभन्दा बढी सांसद रहेका छन् । संसदमा १२ सिट मात्रै भएको राप्रपा यी सबै पक्षको विराधी पार्टी हो । तर पनि त्यही पार्टीका सांसद जबरा ज्येष्ठ नागरिक भएको हैसियतले अन्य सांसदहरुलाई सपथ खुवाउँदै छन् । 

राजेन्द्र लिङदेनले नेतृत्व गरेको राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्दै आएको छ । जसले गर्दा अहिले नेपालको संसदमा प्रतिनिधित्व गर्ने सबै ठूला दलहरु गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा छन् ।

यिनै दलहरुले नेपालमा गणतन्त्रको जग बसाएका हुन् । त्यसकारण पनि कट्टर गणतन्त्रवादी नेताहरुका लागि पशुपति शमशेरले सपथ खुवाउँदा उनीहरुको मनमा कहीँ न कहीँ असजिलो उत्पन्न हुनेछ । 

‘हामीले सधै गणतन्त्रको पक्षमा लडाइँ लड्यौँ, राजतन्त्रलाई फाल्यौँ तर आज राजतन्त्रको पक्षधर नेताबाट संसद सदस्यको सपथ खाँदै छौँ यसले हामीलाई कहीँ न कही मनमा चिसो उपन्न भएको छ’, नेकपा माओवादीका एक सांसदले भने । 
त्यसका लागि पुस ७ गते बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथग्रहण कार्यक्रम तय गरिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई शपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदहरुलाई शपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि बुधबारको कार्यक्रम तय गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन गराइरहेका प्रा.डा.ऋषिराम शर्माका अनुसार ऐनले दिएको अधिकार प्रयोग गर्नुपर्ने भएकाले नेपाली नागरिकको हैसियतमा एउटा सांसदले अर्को सांसदलाई सपथ खुवाउँदा कुनै फरक नपर्ने बताएका छन् । 

‘अहिलेको अवस्थामा उहाँ सबै सांसदहरुभन्दा जेठो हुनुहुन्छ, संसदको ऐन नियम र परम्पराले त्यही निर्धारण गरेको छ ऐनले निर्धारण गरेको विषयमा हामीले अन्यथा सोच्न मिल्दैन’, प्रा.डा. शर्माले भने । 

नागरिकतामा उल्लेख भए अनुसार ८१ वर्ष भएका जबराको विक्रम संवत १९९८ मंसिर २४ गते जन्म भएको थियो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुगेका भए पनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए । 

उनले अहिले पनि नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको थियो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरु निर्वाचित भएका छन् । 

उनीहरुलाई शपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेकाले जबरा ज्येष्ठ सदस्य भएका कारण उनीबाटै शपथ गराउन लागिएको हो । 

संवैधानिक कानूनका ज्ञाता रहेका वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले पनि अहिलेको अवस्थामा अरु सांसदभन्दा जबरा ज्येष्ठ सदस्य भएकाले उनले शपथ खुवाउनु पर्ने व्यवस्था रहेका कारण त्यसमा अन्यथा मान्नु पर्ने जरुरी नभएको बताए । 

‘उहाँले पाएको कानुनी अधिकार हो यसमा यो वा त्यो पक्ष भन्ने मानसिकता राख्नु हुँदैन यसले राम्रो सन्देश जाँदैन, उहाँको विचार र राजनीतिक आस्था फरक होला तर संसद सदस्यको हैसियतबाट गराउने सदस्यले राजनीतिक आस्था र विचारलाई शपथसँग जोडेर हेर्न मिल्दैन’, वरिष्ठ अधिवक्ता आचार्यले भने । 

उनका अनुसार जनताले जुन म्याण्डेट दिएर पठाएका छन् त्यो विषयमा कुरा गर्ने हो । उनले जनताको म्याण्डेट लिएर आएकै कारण कानुन बमोजिम शपथ खुवाउने हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ