arrow

बागमतीमा को बन्ला मुख्यमन्त्री ? बानियाँ बलियो दावेदार

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ पुष ८ शुक्रबार
indra-bahadur.jpg

हेटौंडा ।  बागमती प्रदेशका लागि प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले गत शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बागमती प्रदेश सभाका लागि निर्वाचित सदस्यहरूको विवरण सहितको प्रतिवेदन पेस गरेसँगै बागमती प्रदेश सरकार गठनका लागि बाटो खुलेको छ ।

सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रदेशको मुख्यमन्त्री को बन्ने भन्नेमा ठूलै रस्साकस्सी छ । बागमतीमा यसअघि नेकपा एमालेको स्पष्ट बहुमत भए पनि यसपालि एमालेलाई ठूलै धक्का लागेकाले यहाँ सत्ता गठबन्धनको सरकार बन्ने लगभग निश्चित छ । गठबन्धनकै सरकार बन्ने भएपछि नेतृत्व गरिरहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस मुख्यमन्त्री नछाड्ने गरी गृहकार्य गरिरहेको छ ।

प्रदेश र देशकै पहिलो पार्टी बनेकाले पनि मुख्यमन्त्रीमा कांग्रेसको दावी स्वाभाविक भए पनि गठबन्धनमा रहेका दलहरूबीच भागबन्डा मिलाउनु जटिल विषय हो ।  

बागमतीमा मुख्यमन्त्री पाउनुपर्ने गठबन्धनका तिनै दलले दाबी गरिरहेका छन् । यद्यपि नेपाली कांग्रेस अझै बलियो दाबेदारको रूपमा रहेको छ । मुख्यमन्त्री बन्नको लागि दल भित्रको संसदीय दलको नेता छान्नु जरुरी रहन्छ ।

नेपाली कांग्रेस भित्र बागमतीको मुख्यमन्त्रीमा २ समूहका व्यक्तिको नाम चर्चामा आएसँगै कांग्रेसको संसदीय दलको विषय अर्को चासोको विषय बनेको छ । संसदीय दलको नेतामा २ जना आकाङ्क्षी देखिएपछि कांग्रेस बागमतीको संसदीय दलको निर्वाचन गर्नेसमेत कांग्रेसले निर्णय गरिसकेको छ ।

कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया शुरु भएको छ । बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि  बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ ।

त्यस्तै सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्री बन्ने दाउमा छन् । बागमतीमा मुख्यमन्त्री बन्ने पालो माओवादीको भएको तर्क गर्दै जम्कट्टेल मुख्यमन्त्रीको कसरतमा छन् । दुई पटक प्रदेशमन्त्री भइसकेका जम्कट्टेल धादिङ १ (ख) बाट निर्वाचित भएका हुन् । 

माओवादीबाटै मकवानपुर २ (क) बाट निर्वाचित कुमारी मोक्तान पनि मुख्यमन्त्रीकी आकाङ्क्षी हुन्। मोक्तान हाल प्रदेशको सामाजिक विकास मन्त्री छिन् । त्यस्तै गठबन्धनको अर्को दल एकीकृत समाजवादीमा पनि मुख्यमन्त्रीको आकाङ्क्षी छन् । सानो दल भए पनि पार्टीका नेता कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीको आकाङ्क्षी हुन् । खनाल चितवन १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कांग्रेसमा को बलियो ?

गठबन्धनको नाइके नेपाली कांग्रेसको अबको मुख्यमन्त्री कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँ नै हुन् भन्ने चर्चा केही समयअघि देखिनै चलेको थियो । त्यसो त प्रदेशमा एमालेको सरकार ढलेपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र बानियाँबीच आधाआधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति बनेको भए पनि पाण्डेले बानियाँलाई मुख्यमन्त्री नछोडेकाले पनि अब उनैको पालो हो भनिएको छ । बानियाँ मकवानपुर २ (ख) बाट निर्वाचित भएका छन् ।

कांग्रेसबाटै बहादुरसिंह लामा पनि मुख्यमन्त्रीका अर्का दाबेदार हुन् । लामा नुवाकोट २ (ख) बाट विजयी सांसद हुन् । प्रतिनिधि सभामा चुनाव लड्न खोजेका लामालाई मुख्यमन्त्रीमा समर्थन गर्ने आश्वासन दिएर नेताहरूले प्रदेशमा पठाएकाले अब उनैलाई बनाउनु पर्ने केही कांग्रेसीको माग छ । बानियाँ र लामा दुवै जना कांग्रेसको संस्थापन पक्षका नेता हुन् । केन्द्रीय सदस्यसमेत रहेका लामा प्रदेश सभा सदस्य निर्वाचित भए लगत्तै दलको नेता बन्ने कसरतमा जुटेका हुन् भने कांग्रेस बागमती प्रदेशको सभापति बानियाँले यसअघि पनि सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए । 

प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको संस्थापनबाटै दुई जनाको दाबी परेपछि कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य समेत विभाजित भएका छन् । हाल प्रदेशमा कांग्रेसले प्रत्यक्ष तर्फ २५ सिट जितेको छ भने समानुपातिकतर्फ १२ सिट गरी ३७ सिट जितेको छ ।

३७ सांसदमध्ये अधिकांश संस्थापन पक्षका रहेका छन् । दुवै संस्थापन पक्ष भए पनि केही समय अघिदेखि बानियाँलाई कांग्रेसको संस्थापनइतर समूहले पनि सहयोग गर्ने बताएको छ । तर यी दुवै नेतालाई आ-आफ्नो भूगोलका केन्द्रीय स्तरका नेताहरूको सहयोग भने रहेको छैन ।

कांग्रेसकी सहमहामन्त्रीसमेत रहेकी मकवानपुरकी महालक्ष्मी उपाध्याय डिनाले सहयोग गरेकी छैनिन् भने उता लामालाई नुवाकोटमै केन्द्रीय नेता अर्जुननरसिंह केसीलगायतका नेताले सहयोग गरेका छैनन् । तर बानियाँलाई संस्थापनइतरले पनि सहयोग गर्ने भएपछि संसदीय दलको नेतामा उनको सम्भावना बलियो देखिएको छ ।

अर्कोतर्फ निर्वाचनको समयमा बानियाँले १० जना प्रदेश सदस्यहरूलाई टिकट वितरण गरेका थिए । जसमध्ये अधिकांशले निर्वाचन जितेका छन् । कांग्रेसको विशेष स्रोतका अनुसार बानियाँको पक्षमा २६ भन्दा बढी सांसद रहेका छन् भने लामाको पक्षमा आधा दर्जन सांसदको साथ रहेको छ ।

गएको निर्वाचन सकिए लगत्तै बानियाँ हेटौंडा छोडेर काठमाडौंमा रहेका छन् । उनले कुनै पनि हालतमा संसदीय दलको नेता बन्ने र बागमती प्रदेशको मुख्यमन्त्री बन्ने गरी लबिङ गरिरहेका छन् । यसअघि हातमै आएको मुख्यमन्त्रीको पद नेकपा एसले खाइदियो । यसैले पनि बानियाँलाई न्याय  दिन यसपालि संसदीय दलको नेता बन्नबाट रोक्न नहुने कांग्रेसी बुद्धिजीवीहरुको विश्लेषण छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ