arrow

मिशन प्रधानमन्त्री

प्रचण्डको छट्पटी बढ्दै, लिँदै चिनियाँ सहारा, काम गर्ला माधव नेपालको मन्त्रले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच शुक्रबार साँझ भएको भेटघाटमा दुवै जनाले प्रधानमन्त्री पदलाई ‘मिशन’ बनाएका छन् । दुव नेताहरु आधा आधा कार्यकाल बाँड्न सहमत भए पनि को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुरा नमिल्दा भेटवार्ता बिना निस्कर्ष टुंगिएको छ । 

प्रधानमन्त्री देउवासँग भएको कुराकानीलाई लिएर शनिबार बिहानै प्रचण्ड नेकपा एकीकत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा पुगेका छन् । शुक्रबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका नेता नेपालसँग भेटघाटका लागि पुगेका प्रचण्डले आफूले शुरुको सरकारको नेतृत्व गर्न पाउनु पर्ने प्रस्तावमा कांग्रेस सभापति देउवाले धोका दिएको र दुवैको ‘बटमलाइन’ शुरुको प्रधानमन्त्री रहेको ब्रिफिङ गरेका छन् । 

माधव नेपाल भने शुरुमा देउवालाई प्रधानमन्त्री दिएर भए पनि गठबन्धन जोगाएर लैजानुपर्ने पक्षमा उभिएका छन् । शुक्रबार देउवालाई भेट्नुअघि प्रचण्डले चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिशन (डीसीएम) लाई भेटेका थिए । काठमाडौंस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूतले शुक्रबार बिहान भेटघाट गरेपछि प्रचण्डले आफू निकट रहेका नेताहरुलाई कांग्रेससँगको सहकार्य कमजोर हुँदै गएको बताएका थिए । 

उनीहरुबीच खुमलटारस्थित दाहाल प्रचण्ड निवासमा गोप्य भेटवार्ता भएको थियो । उच्च सुरक्षा स्रोतका अनुसार चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिशन (डीसीएम) वाङ सीनबीच बिहान ९ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको थियो । तर यो विषयमा प्रचण्ड सचिवालयले केही बताएको छैन । चिनियाँहरु अहिलेको गठबन्धन टुटाएर नेकपा एमालेसँगको सहकार्यमा माओवादीको नेतृत्वमा सरकार बनाउन चाहिरहेका छन् । 

पछिल्लो समय एमालेलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग सत्ता बार्गेनिङ गरिरहेको अवस्थामा चिनियाँ राजदूतावासबाट गएका डीसीएमले चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश सुनाएको बुझिएको छ । 

नयाँ राजदूत नेपाल आउन ढिलाई भैरहेको बेला वाङ सिनले नै चिनियाँ  कम्युनिष्ट पार्टीको सन्देश प्रवाह गरिरहेका छन् । कार्यवाहक राजदूतसँगको भेटघाटपछि आधा आधा कार्यकालमध्ये शुरुको कार्यकालमा आफूलाई चाहिने भन्दै प्रचण्डले कांग्रेससँग बार्गेनिङ गरिरहेका छन् । 

प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई अल्टिमेटम दिँदै त्यसो नभए एमालेसँग मिलेर सरकार बनाउने चेतावनी दिएको स्रोतको दाबी छ । 

बालुवाटारमा बिहीबार–शुक्रबार साँझ भएको गठबन्धनका दुई नेताहरूको छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि देउवाले निकट नेताहरूसँग छलफल थालेका थिए । 

तर देउवाले शुक्रबार पनि कुनै जवाफ दिएनन् । प्रचण्डको अडानमा देउवाले भने सहमति जनाएका छैनन् । पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेपछि सत्ता गठबन्धन एक प्रकारले धरमराएको छ । 

देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ थियो ।  कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरे विकल्पमा जाने संकेत प्रचण्डले गरिसकेका छन् । 

प्रचण्ड यसपटक जसरी पनि प्रधानमन्त्री बन्ने मनसायमा छन् । कांग्रेसले साथ नदिए एमालेसँग मिलेर सरकार गठन गर्ने विकल्प उनका अगाडि छ । यसमा एमाले नेताहरूले पनि प्रचण्डलाई हरियो बत्ती देखाएका छन् । 

राष्ट्रपतिले सरकार गठनका लागि बहुमत लिएर आउन दिएको समयसीमा आइतबार सकिँदैछ । यही अवस्थामा प्रचण्डले माधवकुमार नेपाललाई मनाउन कोटेश्वर पुगेका हुन् । 

‘माधव नेपाल नभएको भए यतिबेला प्रचण्डले ओलीसँग सहकार्य गर्ने बताइसकेर वार्ता अगाडी बढाउने थिए तर नेपालकै कारण रोकिएका छन्’, स्रोतले भन्यो । 

शुक्रवार बालुवाटारमा भएको छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताएको भन्दै प्रचण्डले गठबन्धनमा कांग्रेसले धोका दिएको बतउन थालिसकेका छन् । 

माओवादी निकट स्रोतका अनुसार देउवाले पार्टीमा दोस्रो तका नेताहरुबाट धेरै दबाब आएको भन्दै आन्तरिक छलफल गरेरमात्रै निर्णय दिन सक्ने बताएका थिए । निर्णायक भनिएको छलफलमा देउवाले यस्तो भनेपछि बैठक निष्कर्षविहीन बनेको थियो । 

स्रोतका अनुसार चुनावअघि पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डलाई बनाउने भनेर देउवाले सहमति जनाएकोमा प्रचण्डले यसलाई धोकाको संज्ञा दिएका छन् । 

तर, ठूलो पार्टीको हैसियतमा पार्टीले नै नेतृत्व गर्नुपर्ने भन्दै कांग्रेसका दोस्रो तहका नेताको चर्को दबाब छ । उता वाम गठबन्धनको पक्षमा रहेका वर्षमान पुनले सरकार गठनकै क्रममा कांग्रेससँगको सहकार्यलाई टुटाउन खोजेको र उनकै पहलमा एमालेसँग कुराकानी भैरहेको छ स्रोतको दाबी छ । 

एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेसँगै माओवादीसँगको सहकार्यमा खुला गरिदिएको थियो । त्यसपछि माओवादीका नेताहरुलाई कुराकानी गर्न सहज भएको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ