arrow

कोहलपुर नगर प्रहरी एक्सनमा, नगर क्षेत्रमा ठेलागाडा तथा फुटपाथ पसल निषेध

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ पुष ९ शनिबार
footpath-action-kohalpur.jpg

कोहलपुर । कोहलपुर नगर प्रहरीले नगर क्षेत्रमा ठेला तथा फुटपाथ पसल संचालनमा निषेध गरेको छ । गएको मंसिर २७ गतेको कार्यपालिकाको बैठकमा नगरक्षेत्रमा अव्यवस्थित तरिकाले ठेला तथा फुटपाथ पसल व्यवसाय संचालन गर्न निषेध गर्ने निर्णय भएसँगै नगर प्रहरीले त्यसको कार्यान्वयनसमेत शुरु गरेको छ । 

कोहलपुर नगरपालिका क्षेत्र भित्र ठेलागाडा, सडक तथा फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गर्न कार्यदलनै गठन गरिएको थियो । वडा नं १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा गठित समितिले प्रतिवेदनसमेत बुझाइसकेको छ । 

प्रतिवेदनमा औल्याइएका सुझावलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै कार्यपालिका बैठकलले तत्कालका लागि ठेला तथा फुटपाथ व्यवसायीहरुलाई व्यवसाय गर्न कोहलपुर उद्योग वाणिज्य संघ परिसरसँगै पछाडि रहेको खाली स्थान छुट्याएको थियो । 

उद्योग वाणिज्य संघसँगको सहकार्यमा ती व्यवसायीलाई संघको पछाडिको खाली जग्गामा व्यवसाय गर्न दिइएको छ । व्यवसाय संचालनका लागि संघमा सूचीकृत हुनुपर्नेछ । त्यहाँ कपडा, फलफुल र तरकारी व्यवसायीहरु बस्न सक्ने छन् । ती स्थानबाहेक नगर क्षेत्रमा ठेला तथा फुटपाथमा पसल व्यवसाय संचालन गरेको पाइएपछि केही व्यवसायीहरुलाई नगर प्रहरीले कारबाहीको दायरामा ल्याउन शुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

आज चार ओटा ठेला व्यवासायीलाई कारबाहीको दायरामा ल्याइएको छ । ‘नगर क्षेत्रमा ठेला घुमाएर–डुलाएर व्यवसाय गर्नेलाई अव निश्चित स्थान तोकिएको छ थापाले भने, ‘त्यो बाहेक अन्य ठाउँमा पसल व्यवसाय संचालन गरेको पाइए कारवाही हुन्छ ।’ 

नगर क्षेत्रमा अव्यवस्थित तरिकाले ठेला व्यवासाय संचालन गर्दा दुर्घटनाको जोखिम पनि हुने र शहरलाईसमेत कुरुप देखाउने भएकाले त्यसलाई व्यवस्थित गर्ने कामलाई कडाई गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ