पोखरा । लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य तथा कानून विभाग प्रमुख पत्रकार सरिता तिमिल्सिना पगेनीलाई प्रदान गरिने भएको छ ।
लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ । पुरस्कारका प्रदान गर्नका लागि कविराज खनाल संयोजक, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरका प्रतिनिधि राममणि अधिकारी, पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव विष्णुहरि पौडेल सदस्य समितिले तिमिल्सिनालाई छनोट गरेको हो ।
तिमिल्सिना पोखरा पोष्ट डटकममा प्रधान सम्पादक हुन् । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको संयोजक खनालले बताए ।
उनले नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, एनएस क्लव ललितकला पत्रकारिता पुरस्कार, चेलिबेटी सशक्तिकरण सम्मान, स्वतन्त्र पत्रकार संघद्वारा सञचालित महिला पत्रकार सशसक्तिकरण सम्मान प्राप्त गरिसकेकी छन् ।
कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीका अवसरमा पुस १५ गते अर्घाैंअर्चलेमा हुने विशेष समारोहमा उनलाई पुरस्कृत गरिने मञ्चका अध्यक्ष खनालले जानकारी दिए ।
तिमिल्सिनाले हाम्राकुराडटकम, सगरमाथा टेलिभिजन, पोखरा आवाज राष्ट्रिय दैनिक, रेडियो अन्नपूर्ण, रेडियो सफलता लगायतका सञ्चार माध्यममा काम गरेकी छन् ।
पत्रकारिता विषयमा स्नातकोत्तर एवम् कानून विषयमा स्नातक सम्मको अध्ययन गरेकी तिमिल्सिना नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, डब्लुडब्लुजे गण्डकी अध्यक्ष, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक उपाध्यक्षको जिम्मेवारीमा छन् ।