arrow

बालविवाह अन्त्यका लागि छायानाथ रारा नगरपालिकाले रणनीतिक योजना बनाउने

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ पुष १९ मंगलबार
chayanath-rara.jpg

मुगु । मुगु स्थित छायानाथ रारा नगरपालिकाले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने भएको छ । सोमबार बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल मुगुले आयोजना गरेको बाल विवाह न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका विषयक पत्रकार सम्मेलनमा नगरप्रमुख विष्णु कुमार भामले पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै नगरपालिकाले नगर क्षेत्रमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भामले नगरमा रहेका १४ वडाहरू मध्य ४, ५, ६, ३, १०, ११, १३, १४ वडाहरूमा बाल विवाह बढी हुने गरेको पाइएको र ती वडा सहित सबै वडामा आगामी दिनहरूमा नगरपालिकाले बाल विवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम कडाइका साथ लागू गर्ने बताए ।

बाल विवाह न्यूनीकरण गर्दै पुरै नगरमा अन्त्य सम्म गर्नका लागि रणनीति योजना बनाउँदा बालविवाह सङ्ग जानकार राख्ने विज्ञहरू , गैसस, पत्रकार र नागरिक समाजका प्रतिनिधि सहितको मसौदा समिति बनाइनेछ ।

रणनैतिक योजनामा कार्यक्रम, लागत, लक्ष, उपलब्धि, स्रोतको सुनिश्चितता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ती, सूचकहरू समेटिने छन् र सोही रणनीतिक योजनाले प्रस्ताव गरेको बजेट आगामी नगर सभाबाट विनियोजन गर्ने र आगामी हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने निर्णय पारित गराउने पनि नगरप्रमुख भामले बताए ।

पत्रकार सम्मेलनमा बाल विवाह न्यूनीकरणका लागि साझा अभियान मुगुका संयोजक सन्तोष कुमार मल्लले नगरले बाल विवाह न्यूनीकरणका लागि अवलम्बन गर्नु पर्ने कार्यहरूमा थप ६ बुँदा समावेश गर्नु पर्ने भन्दै अभियानको ज्ञापन पत्र नगर प्रमुख भामलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरित ज्ञापन पत्रमा देश कै बढी बाल विवाह हुने प्रदेश कर्णाली भएको र कर्णालीमा पनि मुगु भएकाले बाल विवाह न्यूनीकरणका लागि नगरपालिकाले प्रतिबद्धता जनाउनु पर्ने, छाउपडी तथा जातीय विभेद विरुद्ध प्रतिबद्धता हुनु पर्ने, बालविवाह अन्त्यका लागि बन्ने प्रादेशिक रणनैतिक योजना लिएका रणनीति आफ्नो नगर क्षेत्रमा लागू गर्ने, निर्वाचन तथा राजनैतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने सुनिश्चितता लागि पहल गर्ने, विद्यालयमा बाल भर्ना दर वृद्धि गर्न र कक्षा नियमितताका लागि ठोस कार्यक्रम लागू गर्ने, बालबालिका सम्बन्धी कार्यक्रम र काम गर्न नगरको कुल बजेटको १५% विनियोजन गर्न लगाउने बाध्यकारी नियम बनाउने उल्लेख गरिएको छ ।

नगर प्रमुख भामले आफ्नै कार्यकालमा छायानाथ रारा नगरपालिका बालविवाह मुक्त नगरपालिका घोषणा गर्ने गरि आफ्नो नगरपालिकाले आगामी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम बालविवाह विरुद्धको साझा अभियान सञ्जाल मुगुका संयोजक सन्तोष कुमार मल्लको सभापतित्व र नगरप्रमुख विष्णुकुमार भामको प्रमुख आतिथ्य भएको थियो भने कार्यक्रममा नगर उपप्रमुख ऐश्वर्या मल्ल, पत्रकार महासङ्ग मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, नागरिक समाजका अध्यक्ष रूप बहादुर मल्ल अतिथिको रूपमा उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ