arrow

लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विवादले पालिका रुग्ण, नागरिकका कामकाज ठप्प

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २२ शुक्रबार
lahami napa.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको देउखुरी उपत्यकाको प्रमुख व्यापारिक केन्द्र हो लमही बजार । पूर्वपश्चिम राजमार्गमा पर्ने लमहीमा पछिल्लो समय बजारीकरण बढ्दै गएको छ । सडक र सवारीसाधन सुविधाले उपयुक्त मानिने लमही दिनरात चहलपहल हुने गर्नाले यात्रुहरूको रोजाइमा पर्ने गरेको छ । 

तर, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवा र पुनः हाजिरीको विषयले भने, करिब एक महिना यतादेखि नगरपालिका कुरूप बन्दै गएको छ । विकास निर्माण तथा अन्य नागरिकका कामहरू समेत अस्तव्यस्त बन्दै आएको छ । 

प्रमुख प्रशासकीय अधिकृत विषयले नगरपालिकामा कार्यरत कर्मचारीहरू आन्दोलित भएपछि अन्ततः मङ्सिर १५ गते नगरप्रमुख, उपप्रमुख सहित वडा न–१,२,३,४,५,८ र ९ का वडाध्यक्षहरू र आन्दोलित पक्षका शिवराज न्यौपाने, महेश थापा ठेडी, सौगात वली, रेशमलाल शर्मा, यज्ञ बहादुर वली लगायतका कर्मचारीहरूले दोस्रो पक्ष मानिएका प्रमुख प्रशासकीय अधिकृत डाँगी समेतलाई राखेर त्रिपक्षीय सम्झौता सर्तमा “लेखियो, हाल प्रमुख प्रशासकीय अधिकृतको रूपमा बहाल रहेका गेहेन्द्र बहादुर डाँगीलाई यथाशीघ्र यस नगरपालिकाबाट सरुवा गरिदिनुहुन नि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी पठाउने उल्लेख छ,।”

बर्दियाको मधुवन नगरपालिकामा नियमित सरुवा भएर हाजिर नभएका (जान नमानेका) डाँगीको पुनः सोही जिल्लाको ठाकुरबाबा नगरपालिकामा सरुवा पत्र बन्यो तर पनि अधिकृत डाँगीले लमही नगरपालिकाबाट अन्यत्र राजी भएनन्, । उनको चट्टानी अडान रह्यो । पालिकामा कर्मचारीहरूलाई गर्ने व्यवहार चरम “निरङ्कुश” भएको भन्दै कर्मचारीहरू कडा विरोधमा उत्रिँदै सरुवा नगरिए काममा नफर्किने अडान लिए, कहिदिन लमही नगरपालिका आन्दोलनमय बन्न पुग्यो । 

अहिले नगरपालिका एक महिना भन्दा धेरै समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छ । जसले गर्दा पुराना कामहरूको कुनै भुक्तानी हुन सकेको छैन । न, त नयाँ योजनाहरू सुरु हुन सकेका छन् । प्रगति विवरण हेर्ने हो भने, शून्य छ । एउटा अधिकृतका कारण नगरपालिका अस्तव्यस्त हुँदा सम्बन्धित निकाय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यान पुग्न सकेको छैन । जबकि, मन्त्रालयमा नगरप्रमुख सहित वडाध्यक्षहरू सहित पुगेर घटनाबारे जानकारी गराउँदै, नयाँ अधिकृत पठाई दिन अनुरोध गरेको वडाध्यक्षहरू बत्ताउँछन् । 

अधिकृत लामो समयसम्म नहुँदा स्थानीय नागरिकका कामकाज र विभिन्न उपभोक्ताहरूले गरेका काम प्रभावित भएका छन् । वडा न–७ कि पुनम घर्ती मगर साल्टट्रेडिङ्ग बाट अनुदानबाट प्राप्त हुने रासायनिक मलको सिफारिसका लागि नगरपालिकामा पटक पटक धाइन, काम भएन,। एउटा सिफारिस बनाउन समेत नगरवासीले व्यहोर्नु परेको हैरानी सब अधिकृत नभएका कारण भएको पुनमको भनाई छ ।

गत असोज १८ गतेतिर भएको अविरल बर्षातका कारण नगरपालिकामा बस्ने नागरिकहरू बाढीबाट पीडित बने । तर, स्थानीय सरकारबाट बाढीपीडितलाई प्रदान गर्ने राहत सुविधा अझै पाउन सकेका छैनन् । यती मात्रै होइन, नगर कार्यपालिका बैठक समेत बस्न नसक्दा नगरभित्र पर्ने खोला ठेक्का लाग्न नसक्दा चोरी तस्करी बढ्दै गएको छ । प्राणघातक रोग मुटु, क्यान्सर, मिर्गौला जस्ता दीर्घरोगीहरुलाई उपचारको लागि पालिकाले दिनुपर्ने सिफारिस समेत रोकिदा बिरामीहरूको उपचार प्रभावित हुन पुगेको छ । 

लमही नगरपालिका वडा न–५ का वडाध्यक्ष सागर सुवेदी भन्छन्, पालिकाको यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन्, । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना पुग्दा समेत नगरपालिकाबाट नयाँ आयोजना सञ्चालन हुन सकेका छैनन् । सङ्घीय सशर्त तथा सहरी विकास आयोजनाको कामहरू समेत अघि बढ्न सकेको छैन । जसले गर्दा स्थानीय विकासको काम प्रभावित भएको छ । 

यता लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले समस्या समाधान गर्न पहल कदमलाई निरन्तरता दिएको बत्ताउँछन् । उनका अनुसार केही दिन भित्रै नगरपालिकाले विवादित अधिकृत विषयबाट निकास पाउने बताए । हाल नगरपालिकाको दैनिक प्रशासनिक कामकाज ठप्प छ।

विवादित घटनाक्रम
प्रमुख प्रशासकीय अधिकृत डाँगीको गत भदौ दोस्रो हप्ता मधुवन नगरपालिका बर्दियामा नियमित सरुवा भयो । डाँगीको ठाउँमा खाँडाचक्र नगरपालिका कालीकोटबाट देवेन्द्र प्रसाद श्रेष्ठ लमही नगरपालिकामा सरुवा भएर आए । तर डाँगी मधुवन नगरपालिकामा गएनन्, । त्यहाँ अरू नै प्रमुख प्रशासकीय अधिकृत हाजिर भए । त्यसपछि ठाकुरबाबा नगरपालिकामा सरुवा पत्र बन्यो । त्यहाँ पनि डाँगी गएनन्, तर लमही नगरपालिकाबाट सरुवा भएको एक महिना नबित्दै गत असोज १२ गते लमही नगरपालिकामा पुनः डाँगीले सरुवा पत्र दर्ता गर्दै हाजिर भए । 

जहाँ देवेन्द्र प्रसाद श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै थिए । निर्वाचन आचारसंहिता लागु हुने अघिल्लो दिन डाँगीको हाजिरी भयो । असोज १३/१४ गते श्रेष्ठले काम गरे पनि उहाँको रमाना तयार भयो । एक महिना नबित्दै पुनः प्रमुख प्रशासकीय अधिकृत डाँगी लमही नगरपालिकामा हाजिर भएपछि वडाध्यक्षहरू आन्दोलित भए । नगरपालिकामा तालाबन्दी गर्दै सेवा समेत प्रभावित पारियो । 

असोज २४ मा नगर प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको बैठकले डाँगीको सरुवा गर्ने सहमतिसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइयो । वडाध्यक्षहरूले आन्दोलन स्थगन गरे । त्यसपछि डाँगीले असोज २७ गते उच्च अदालत तुलसीपुरमा हाजिर हुन कामकाज गर्न पाउनुपर्ने माग राख्दै मुद्दा दर्ता गरे । अदालतले असोज २८ मा अन्तरिम आदेश दियो । त्यसपछि डाँगी अदालतको आदेश लिएर नगरपालिकामा हाजिर भए । यही बीचमा दरबन्दी नभएको ठाउँमा कर्मचारीलाई सरुवा गरेको विषय सतहमा आयो । कर्मचारीले समस्या समाधानको माग राख्दै मङ्सिर ८ मा नगर प्रमुख, उपप्रमुखसहित जिल्ला प्रशासन कार्यालयसम्म ज्ञापन पत्र पुर्‍याए । ज्ञापन पत्रको सुनुवाइ भएन ।

त्यसपछि मङ्सिर ११ बाट दश बुँदे माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिए । वडाध्यक्षले साथ दिएपछि आन्दोलन तातियो । डाँगीसँग साथमा रहेर काम गर्न नसकिने भन्दै कर्मचारीहरू अघि बढे । मङ्सिर १५ गते लमही नगर विकास समितिको क्वार्टरमा प्रमुख प्रशासकीय अधिकृत घेराउमा गरे । सोही दिन नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष र कर्मचारीको बीचमा प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवा गर्ने विषयमा लिखित सहमति भयो । कर्मचारीहरूले पुनः प्रमुख प्रशासकीय अधिकृत डाँगी आए आन्दोलनमा उत्रिने चेतावनी सहित काममा फर्किए । तर अहिले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । गेहेन्द्र बहादुर डाँगीलाई आउन नदिने र नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि नआउने स्थिति बनेपछि नगरपालिका अस्तव्यस्त बनेको छ । डाँगीले रवीन्द्र क्षेत्रीलाई दिएको निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मङ्सिर २१ मा खोसेपछि दैनिक कामकाज समेत प्रभावित बनेको छ । डाँगीले पुनः उच्च अदालत तुलसीपुरमा अपहेलन सम्बन्धी जनप्रतिनिधि र कर्मचारीलाई मुद्दा दर्ता गरेका छन् ।

दलको विज्ञप्ति
लमही नगरपालिकामा भएको समस्याको बारेमा बल्ल राजनीतिक दलहरू बोल्न थालेका छन् । लामो समय अस्तव्यस्त हुँदा चुपचाप रहेका दलहरू विज्ञप्ति जारी गर्दै तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र लमही नगरपालिका समितिले बुधवार विज्ञप्ति जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐनले दिएका अधिकारहरू कार्यान्वयन गर्न नसक्दा लमही नगरपालिका अस्तव्यस्त हुँदा जनताको काम नभएकोप्रति जनदबाबसहितको पहल आवश्यक रहेको नगर अध्यक्ष दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै नेपाल कम्युनिस्ट पार्टी लमही नगर कमिटीका अध्यक्ष पूर्ण खनालले पनि विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा, थमौती जस्ता सामान्य विषयले समग्र नागरिकका काम प्रभावित पार्ने समस्या हल गर्न, अन्यथा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ