- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिराहा। मिर्चैया–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गा मुढाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।
बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटक पटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो । झडपमा आन्दोलनकारीले पेट्रोल बमसहित ढुङ्गामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते हुनुभएको डिएसपी वलीले जानकारी दिए ।
चौधरीको उपचारका लागि काठमाडौं रेफर गरिएको र अन्यको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गर्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र आन्दोलनकारीतर्फ कुनै क्षति नभएको प्रहरी प्रवक्ता एवं सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारको क्रममा गए राति निधन भएको थियो । अहिले राजमार्गमा सवारीसाधन आवतजावत सुचारु रहेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।