arrow

थारु नाच संरक्षणमा युवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
tharu-child.jpg

तुलसीपुर । तुलसीपुर-१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै छन् । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न जुटेका हुन् । 

 “हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”, स्थानीयवासी चौधरीले भने, “यस वर्षदेखि हामी आफैँ सक्रिय भएका छौँ ।” योभन्दा पहिले सोही क्षेत्रमा युवाले थारु नाच पनि नाच्दैनथे । परम्परागत रुपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदै गएको अवस्था भएपछि यसलाई जोगाउन आफूहरु सक्रिय भएको उनको भनाइ थियो । 

त्यस्तै सोही ठाउँकी अस्मिता चौधरी पनि थारुको पोसाकमा सजिनुभएको थियो । युवतीहरुले पनि आफ्नै समूह बनाएर नाच गर्न थालेका छन् । “पहिले बूढापाकाले मात्रै नाच्नु हुन्थ्यो”, उनले भने, “अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छौँ ।” 

यस वर्षदेखि आफूहरु नाच संरक्षणमा लागेको उनको भनाइ थियो । थारु समुदाय संस्कार र संस्कृतिमा धनी भए पनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए । उनहरु उदाहरण मात्रै हो । पछिल्लो समय युवाहरु थारु संस्कार, संस्कृति संरक्षणमा सक्रिय देखिएका छन् । जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दै आएका छन् । दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । सबैजसो पालिका तथा वडामा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । “हामीले पनि माघी विशेष कार्यक्रम ग¥यौँ”, उनले भने, “सबैजसो पालिका र वडाले कार्यक्रम गर्छन्, यसले पनि युवा थारु संस्कार, संस्कृति संरक्षणमा लाग्ने गर्नुभएको छ ।” तुलसीपुरमा मात्रै एक सय २७ थारु समुदायका गाउँ छन् । 

थारु समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुङ्गहवा, हुर्दवा, मघौटा, बर्कालगायतका नाच नाच्ने गर्छन् । माघी नजिकिँदै गर्दै गाउँगाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन् । माघीको रौनक बढिरहेको छ । आफ्नो वेशभूषामा थारु समुदाय सचिरहेका हुन्छन् । थारु समुदायका परिकार पनि पाकिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ