- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । “राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै ।
मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै”
लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको यो गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुन् जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट ।
उनले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट शुरू गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् ।
चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन शुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिना चार/पाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसकेका छन् ।
उनले विभिन्न व्यवसाय शुरु गर्नु भए पनि कतैबाट सोचेजस्तो लाभ भएन । उनी भन्छन्, “मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालें तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आदानी दिएको छ । अहिले पनि महिनामै चार/पाँच वटा बाख्रा बेचिन्छ ।”
निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा “गरे हुन्छ”, भन्ने सोच थपिएको उनको भनाइ छ । बाख्रापालनबाट राम्रो फाइदा देखेका भरतबहादुर जङ्गली जनावरबाट भने आजित छन् । उनको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ ।
बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उनी बताउछन् । “बाख्रापालनबाट केही घाटा छैन,” उनले भने, “दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ ।”
उनले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पालेका छन् । उनी भन्छन्, “मेरा सम्पति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइदैन ।” भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधि जस्ता कुरा केही नपाएको गुनासो गर्छन् ।
“राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्यो,” उनी भन्छन्, ‘कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।”
पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् । वनभोजमा आउनेहरुले पनि खसी बोका किनेर लैजाने गरेको उनी बताउछन् । “यसै वर्षको मङ्सिर-पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,” उनले भने ।
अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आएका छन् । “मैले बाख्रा पालेको लामो समय भइसक्यो,” उनले भने, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।”
आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै छैनन्, उनका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्छन् । पुँगरमा बस्दै आएका बलराम विष्ट भन्छन्, “पुँगरमा खुला ठाउँ भएकाले वस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।”
उनले पनि पुँगरमा फलफूल र तरकारीको साथै बाख्रा र भैँसी पाल्दै आएका छन् । अहिले पुँगर लेकमा सडक पुगेपछि नियमित रूपमा गाडी सञ्चालन भइरहेकाले उत्पादित वस्तु बजार लैजान पनि सहज भएको छ । रासस