- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा-१४ छिनेडाँडाकी कृतिका तामाङ्ग अहिले दश जोड दुईमा अध्ययनरत् छिन् । मिस तामाङ्ग पोखरा २०२३ की प्रतियोगीका रुपमा उनले यो पटक भाग लिएकी हुन् ।
तामाङ्ग भएर पनि तामाङ्ग समुदायको विषयमा थाहा नपाउँदा आफूलाई निकै खिन्नता महसुस गर्ने उनी आफ्नो समुदायको भाषा, संस्कार र संस्कृतिका बारेमा बुझ्न मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् ।
मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी सुमिता तामाङ्ग पोखरा सराङ्गकोट निवासी हुन् । भर्खरै व्यवस्थापन संकायमा दश जोड दुई सकेकी सुमिता आफ्नो प्रेरणा तथा साहसको प्रतिकका रुपमा आमालाई मान्छिन् । आत्मविश्वासी बन्न चाहने सुमितालाई मिस तामाङ्ग पोखरामा सहभागी भइसकेपछि आफ्नो समुदायको बारेमा धेरै विषयहरुमा जान्न पाएकोका खुशी लागेको छ ।
मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी रेनुका तामाङ्ग पोखरा-२७ रिठेपानीमा बस्छिन् । भर्खरै सुनकोशी माविबाट दश जोड दुइको अध्ययन पूरा गरेकी रेनुका पेशागत रुपमा एक शिक्षिका पनि हुन् । उनले ओखलढुङ्गाको सुनकोशी माविमै अध्यापन गराउछिन् ।
आफ्नी आमाको प्रेरणाको कारण उनी मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । उनले प्रतियोगितामा सहभागी भएपछि तामाङ्ग समुदायबारे आफूले थाहा नपाएको इतिहासदेखि आजसम्मका विषयमा जानकारी पाएकोमा दंग छिन् ।
पछिल्लो युवा पुस्तालाई कला, संस्कृतिको जर्गेनाका लागि सघाउने उद्देश्यले समाजले प्रतियोगिता आयोजना गर्दै आइरहेको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । बढ्दो आधुनिकतासँगै आफ्नो संस्कार र संस्कृतिबारे युवा पुस्ताको चासो कम हुँदै गएकाले तामाङ्ग समुदायको संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक राम लामाले जानकारी दिए ।
मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृह हलमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए ।
प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग, निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग, आकृति तामाङ्ग, विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग र रोश्मा तामाङ्गले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजार रुपैयाँसहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन ।
यस्तै, सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम लामाले जानकारी दिए ।
कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा कालो चश्मा गीतका चर्चित गायिका तथा कलाकार डोल्मा ह्याल्मोले गीत गाउनेछन् ।