arrow

एमालेमा अरू आकाङ्क्षीलाई उछिन्दै यसरी बने देवराज घिमिरे सभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
devraj-ghimire-jhapa-2-uml-mp-2079-2022.jpg

काठमाडौं प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा  एक सय मत खसेको थियो । मतदानमा  दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् ।

मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गर्नुभएकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे ।

ओलीले कसरी स्विकारे घिमिरे ?
केही दिन ओलीले सभामुखमा छविलाल विश्वकर्मालाई बनाउने बताएपछि महासचिव शंकर पोखरेलले घिमिरेलाई बोकेर ओली निवास आफै जान थाले । घिमिरेका अगाडी ओलीले अस्वीकार गर्ने अवस्था पनि थिएन किनकि ओली एक्लो हुँदाको बखत उनै घिमिरेले साथ दिएका थिए । 

उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई रोक्न महासचिव शङ्कर पोखरेलले झापाका पुराना नेता देवराज घिमिरेलाई जसरी पनि सभामुख बनाई छाड्ने अडानले घिमिरे सभामुख निर्वाचित भए ।

एमाले र माओवादीको गठबन्धन बन्नु हुँदैन भन्ने लाइनका पोखरेलले उपमहासचिव गुरुङलाई रोक्न घिमिरेलाई अघि सारेपछि पार्टी अध्यक्ष ओलीले नाइँ भन्ने अवस्था आएन। अन्ततः उनै घिमिरेलाई एमालेले अघि सार्‍यो। एमाले माओवादी गठबन्धनका मुख्य पात्र रहेका गुरुङलाई नै सभामुख बनाउने तयारीमा रहेका ओली महासचिवको प्रस्तावलाई अस्वीकार गर्न सकेनन्।

अन्ततः ओलीले आफ्ना पुराना विश्वासपात्र र सहयोगी घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा बनाएरै छाडे। यसका लागि ओलीले पार्टीका पदाधिकारीहरूको छलफलसमेत गरेका थिए। पाँचौँ महाधिवेशनमै केन्द्रीय सदस्य भएका घिमिरे एक पटक मात्रा रष्ट्रिय सभाको सांसद भएका छन्।

त्यसयता पार्टी काममै सक्रिय रहेका घिमिरेले लाभको पद लिएनन्। उनी चुनाव लड्ने क्षेत्रमा विगतमा माधव नेपाल समूहकी पवित्रा खरेलले टिकट पाएकी थिइन। उनी सांसद पनि भइन। त्यसअघि नरेश खरेल पनि सोही क्षेत्रका भएकाले उनी ओझेलमा पर्दै गए पनि ओलीको साथ भने छाडेका थिएनन्।

अहिले भने महासचिव पोखरेलकै जोडबलका ओलीले पुराना सहयोगीलाई सभामुखको पदमा जिताएर परस्कृत गरे। हाल उनी पार्टीको स्थायी कमिटी सदस्य रहेका छन्। साथै प्रदेश १ को इन्चार्ज रहेका छन्। झापा २ बाट निर्वाचित एमाले स्थायी कमिटी सदस्य घिमिरेको प्रतिनिधिसभामा पहिलो उपस्थिति हो। स्थायी कमिटी सदस्य घिमिरे पार्टी अध्यक्ष ओलीको सहयोगी मात्र होइन, महासचिव पोखरेलका राजनीतिक गुरु समेत रहेका छन्।

को हुन् घिमिरे?

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थायी बासिन्दा रहेका देवराज घिमिरे २०१३ साल जेठ १३ गते सिरजंघा गाउँपालिका वडा नम्बर ३, तालेजुङमा जन्मिएका हुन्। स्नातकसम्म अध्ययन गरेका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा लिन थालेका थिए।

तालेजङु सदरमुकामको भानु पब्लिक हाइस्कुलबाट एसएलसी पास गरेका थिए भने धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण गरी त्रिचन्द्र क्याम्पसबाट स्नातक तह पूरा गरेका थिए।

विसं २०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) को काममा होमिएर राजनीतिक जीवनमा प्रवेश गरेका थिए।

२०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटेका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (कोके) को सदस्यता प्राप्त गरेका थिए।

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पाएका जिम्मेवारीहरू मध्ये  २०३५ पुष ११ गते कम्युनिस्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख (माक्र्सवादी), २०४९ सालमा नेकपा माले र नेकपाको एकीकरणपछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए।

२०५० सालमा नेकपा (एमाले) को मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभाग अन्तरगत स्वास्थ्य विभागको इन्चार्ज त्यसपछि इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील प्राध्यापक सङ्घको इन्चार्ज भएका थिए। २०७५ सालमा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ