arrow

वर्षा नहुँदा सुक्न थाल्यो बाली, किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
gahu_kheti.jpg
फाइल तस्वीर

म्याग्दी । लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउ) लगायत तरकारी खेती सुक्न थालेको छ । यस वर्ष म्याग्दीमा बर्खेबाली-धान र कोदो) को उत्पादन पनि घटेको र हिउँदेबालीको उत्पादनमा पनि कमी आउने सङ्केत देखिएकाले कृषक चिन्तित भएका छन् ।

गत असोजदेखि यहाँ आकाशे पानी परेको छैन । हिउँदे बाली लगाउने समयमा भएको खडेरीका कारण लगाइएकोे बाली सुक्न थालेको कृषकले बताएका छन् ।

यस वर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु तथा तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश कृषक उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् ।

दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै कृषक चिन्तित भएका हुन् । करिब नौ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको म्याग्दीमा ५२ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा भएको छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँ बाली लगाउन नपाएका स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।

गहुँ छरेका ठाउँमा पनि खडेरीका कारण सुक्न थालेपछि १० देखि १५ प्रतिशतसम्म उत्पादन घटने अनुमान कृषि प्राविधिकको छ । लामो समयसम्म पानी नपर्दा र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

म्याग्दीका किसानले परम्परागत कृषि औजारको ठाउँमा प्रविधिको प्रयोग गर्न थालेका छन् । खेतीपातीका लागि प्रविधिले किसानलाई सजिलो बनाइदिए पनि प्रकृतिले भने साथ नदिँदा निराश बन्नुपरेको उनीहरूको भनाइ छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा खेतीपाती गर्ने तरिका  पनि फेरिएको छ । परम्परागतरूपमा प्रयोग हुँदै आएका हल गोरुको ठाउँमा अब खेतका गह्रा र फोहोटामा पनि ट्र्याक्टर र मिनिट्रिलर प्रयोग हुन थालेका छन् । गाउँमा हल गोरु पाल्ने चलन हराउँदै गएको छ । हलो, जुवालगायत परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको भए पनि सिँचाइ, मल, बीउ र कृषिका लागि जनशक्तिको भने अभाव देखिएको खबरका अगुवा कृषक शोभित सापकोटाले बताए । 

कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत तरिकाले खेती लगाउँदा बेहोर्नुपर्ने धेरै किसिमका झन्झटबाट पनि मुक्ति मिलेको कृषकले बताएका छन् ।

वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेको बेला मिनिट्रिलर र ट्र्याक्टर उपयोगी माध्यम भएको स्थानीय कृषकले बताएका छन् । अहिले म्याग्दीका सबै गाउँमा मिनिट्रिलरको प्रयोग व्यापकरूपमा हुन थालेको छ । 

हल गोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नुपर्ने झन्झट पनि हटेको कृषकको भनाइ छ ।



नयाँ