arrow

विदेशबाट फर्केर मौरीपालनमा भागीमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
bee.jpg
फाइल तस्वीर

रुकुमपूर्व । जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थालेका छन् ।

रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनी यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहेका छन् । 

खाडी मुलुकमा काम गर्दा औसत मासिक रू ३० हजार कमाउने उनले अहिले भने मासिक औसतमा रू २५ हजार कमाइरहेको बताए । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उनी स्वदेश फर्किएर कृषि कर्ममा लागेका हुन् ।

उनी भन्छन्, “घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी रू तीन लाखको हारहारीमा भइरहेको छ ।” विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उनको भनाइ छ ।

“पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो”, भागीमानले भने, “सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।”

विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उनको भनाइ छ । भागीमानले सेराना जातको मौरी पालेका छन् ।

भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आएका छन् । शुरुमा एउटा भाले र दुईवटा माउबाट शुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उनी बताउछन् ।

उनका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् । बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रू २० हजार आम्दानी भइरहेको उनको भनाइ छ ।

यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ