arrow

राष्ट्र बैङ्कका तीन कदम जुन सकारात्मक हुनसक्छ शेयर बजारमा

logo
निश्चलराज दवाडी,
प्रकाशित २०७९ माघ १६ सोमबार
share-bazar-rastra-bank-article.jpg

काठमाडौं । मौद्रिक र आर्थिक स्थितिमा सिधा प्रभाव पार्ने नेपाल राष्ट्र बैङ्कका केही कदमहरूले अन्योल बनेको शेयर बजारले आफ्नो गति लिने संकेत दिएको छ । केही उतार चढाव देखेको शेयर बजार आगामी दिनमा परिपक्क बन्दै जाने लक्षण देखिएको हो । तर यसका लागि राष्ट्र बैङ्कले सकारात्मक कदमहरू चाल्नु पर्ने हुन्छ ।

सन् २०२३ को पहिलो दिन २०४६.२६ तथा १७.२४ वृद्धि गर्दा ०.८५ प्रतिशतले बढेको शेयर बजार २६ दिनमा २१८३.२१ अङ्क पुग्दा ०.४१ वा ०.०२ प्रतिशतमा सीमित रहेको थियो । ९ तारिखमा २१९० को रेजिस्टेन्स लेभल पार गर्दै ४७.१५ अथवा २.१८ प्रतिशत अङ्कको वृद्धि दरसँगै २२११.७६ अङ्क चुम्दा २२४० को दोस्रो रेजिस्टेन्स लेभल तोडिसकेको नेपाली दोस्रो शेयर बजार पुनः १० तारिखमा २१९०.४२ मा झरेर २१.३४ अथवा ०.९६ प्रतिशतले ओरालो लागेको थियो । 

२१९० अङ्कको रेजिस्टेन्स लेभल पार गर्न हम्मे हम्मे परेको दोस्रो बजारको शेयर कारोबारमा के कस्ता कारणले गर्दा यस रेजिस्टेन्स लेभल पार गर्न नसकेको वा पार गरेता पनि के का कारण त्यसमा स्थायी हुन नसकेर मुनि झरेको अड्कलबाजीबीच शेयर बजार थप माथि उक्लने वा अझै मुनि झर्न सक्ने यकिन मूल्याङ्कन भने गर्न सकिएको छैन ।

विगतका दिनमा ३१९८.६० अङ्क तथा २१ अर्बको कारोबार रहेको  शेयर बजार अहिलेको स्थितिसम्म आइपुग्दा तीन प्रमुख कारणको समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कलाई दोषारोपण गर्दै आएको सुनिन्छ ।

राष्ट्र बैङ्कको यही प्रमुख तीन कारणका लागि नेपाली दोस्रो शेयर बजारमा नकारात्मक असर परेको आङ्कलन गरिँदै आएको छ । यसै तथ्याङ्कलाई दोस्रो शेयर बजार माथि जाने आधार मान्ने हो भने नेपाल राष्ट्र बैङ्कले साझा गरेको मौद्रिक नीतिका कारण आगामी दिनमा दोस्रो शेयर बजार बढ्ने बलियो आधारको रूपमा मान्न सकिन्छ । 

अहिले शेयर बजार किन बढ्दै छ ?
पहिलो कारण: राष्ट्र बैङ्कले २०२२ असार मसान्तसम्ममा ९० प्रतिशतमा सीडी अनुपात झार्न दिएको निर्देशन– 
नेपाल राष्ट्र बैङ्कले पूँजी कर्जा र निक्षेप अनुपात (सीसीडी) को प्रावधान खारेज गरी सीडी रेसियो प्रणाली ल्याएपछि बैङ्कहरूले तरलता सङ्कटको सामना गर्नुपरेको गुनासो बजारमा सर्वत्र फैलिएको थियो । यसै निर्णयका कारण बैङ्कहरूको अवस्था बिग्रिएको र ऋणमा लगानी गर्न नसकेको धेरैको भनाइ भएता पनि यो व्यवस्थाले तरलतालाई असर नगरेको राष्ट्र बैङ्कले जनाउँदै आएको थियो । भने राष्ट्र बैङ्कले २०२२ असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशत भित्र ल्याउन वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको थियो । 

तर हालसालै नेपालका बैङ्कहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले आशावादी सङ्केत देखाउन थालेको छ । गत महिना ९२ प्रतिशतको तुलनामा ९०.५४ प्रतिशतमा पुगेको सीडी रेसियो सकारात्मक भएसँगै वाणिज्य बैङ्कमा निक्षेप पनि बढेको छ । 

राष्ट्र बैङ्कले २०२२ असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशत कायम गर्ने निर्देशन वाणिज्य बैङ्कहरूलाई दिएको थियो । नेपाल राष्ट्र बैङ्कका अनुसार माघको पहिलो साता बैङ्किङ क्षेत्रको सीडी रेसियो ९०.५४ प्रतिशत रहेको थियो भने वाणिज्य बैङ्कहरूको अनुपात ९१.०२ प्रतिशत रहेको  थियो । 

योसँगै दोस्रो त्रैमासिक मौद्रिक नीतिमा नेपाल राष्ट्र बैङ्कले ठप लचिलोपन लराउने सङ्केतको आकलन गरेका लगानीकर्ताले  दोस्रो त्रैमासिक मौद्रिक नीतिमा सीडी अनुपात  ८५ देखि ९० प्रतिशतसम्म भित्र्याउने आङ्कलन गरिरहेका छन् । विगतका मौद्रिक नीतिले थलिएको दोस्रो शेयर बजारका लगानीकर्ताहरू लाई माघ २८–२९ मा आउने दोस्रो त्रैमासिक मौद्रिक नीतिमा सीडी अनुपात घटेसँगै बैङ्किङ ब्याजदर घट्ने आङ्कलन गर्दै शेयर लगानीकर्ता उच्च मुनाफा कमाउन दोस्रो शेयर बजार छिरिसकेका हाल बढेको शेयर बजारमार्फत बुझ्न सकिन्छ  । 

दोस्रो कारण: शेयर धितोमा ऋणको जोखिम भार घट्ने आँकलन–
यसैगरी राष्ट्र बैङ्कले शेयर धितोमा ऋणको जोखिम भारलाई १५० प्रतिशत जोखिम कर्जाको रूपमा राखेसँगै दोस्रो शेयर बजार खस्किएको आँकलन गरिएको थियो । यसैका कारण निम्न मूल्याङ्कनमा शेयर कर्जा प्रवाह हुने, लगानीकर्ताले उच्च जोखिम खेप्नु पर्ने भएका कारण लगानीकर्ताले शेयरमा आधारित ऋण लिन नगएका वा वित्तीय संस्थाबाट उच्च जोखिम कर्जाको रूपमा अंकित  गरिएका शेयर कर्जा सबैलाई प्रवाह गर्न नसक्दा राष्ट्र बैङ्कको मौद्रिक नीतिसँगै तीन महिनामा शेयरमा आधारित ऋण २ अर्ब रुपैयाँले घटेको आँकलन गरिएको थियो । तथा यसै नीति पश्चात् दोस्रो शेयर बजारमा नराम्रो असर परेको मानिएको थियो । 

राष्ट्र बैङ्कले यसै प्रथम त्रैमासिक मौद्रिक नीतिमा शेयर धितोमा ऋणको जोखिम भार खुकुलो गर्दै २५ लाखसम्मको धितोमा ऋणको जोखिम भार हटाएको थियो भने यो सीमाभन्दा माथिको ऋणको जोखिमलाई १५० प्रतिशत राख्दै सन् २०२२ को प्रथम त्रैमासिक मौद्रिक नीतिकै अनुपातमा शतप्रतिशतमा अपरिवर्तित कायम राखेको थियो । 

हालै गरिएको पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा पश्चात् नेपाल राष्ट्र बैङ्कले कडाइ गर्दै आएको शेयर धितोमा ऋणको जोखिम भार खुकुलो गर्दै २५ लाखसम्मको शेयर धितोमा ऋणको जोखिमको तौललाई हटाएका कारण दोस्रो त्रैमासिक मौद्रिक नीतिमार्फत २५ लाखको सीमाभन्दा माथिको ऋणको जोखिमको तौललाई १५० प्रतिशतबाट घटाउने आँकलन गरिएको छ । यसैका कारण पनि नेपाली शेयर बजार उकासिन थालेको शेयर लगानीकर्ताको बुझाइ छ ।  

तेस्रो कारण: नेपाल राष्ट्र बैङ्क ४ः१२ को नीतिमा लचिलोपन अपनाउने आँकलन– 
बढ्दो शेयर बजारलाई नियन्त्रण गर्न तथा राष्ट्र मा सिर्जना भएको तरलताको सङ्कट पछि नेपाल राष्ट्र बैङ्कले पछिल्लो एक वर्षमा चारवटा नीतिगत प्रावधान परिवर्तन गरेको थियो । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत शेयरमा आधारित कर्जालाई कडाइ गर्दै प्रति व्यक्ति र कम्पनीको हकमा बैङ्कबाट ४ करोड रुपैयाँसम्म शेयरमा आधारित कर्जा लिन सक्ने तथा बैङ्क र वित्तीय संस्थाको हकमा जम्मा १२ करोड रुपैयाँ लिन पाउने नीति लागू गरेसँगै शेयर बजारमा घातक असर परेको थियो । 

१८० दिनको औसत मूल्यमा १२० दिन शेयरमा आधारित कर्जा पाउने व्यवस्था गर्दै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले शेयर खरिद गरेपछि दोस्रो बजारमा एक वर्षसम्म शेयर बिक्री गर्न नपाउने र बैङ्क तथा वित्त कम्पनीले लघुवित्तको शेयर खरिद गर्न नपाउने व्यवस्था लगाएको थियो । मुद्रा तरलताको अभावसँगै लिइएको यस निर्णय पश्चात् शेयर बजारमा निकै नै नकारात्मक प्रभाव परेको थियो ।

रेमिटेन्स र बाहिरिया पर्यटक बढेसँगै देशमा सृजना भएको तरलताको अभाव केही हटेको महसुस बैङ्कहरूले गत पुस मसान्त तथा माघको पहिलो हप्तासम्म गरेको कुल निक्षेप सङ्कलनको आधारमा गर्न सकिन्छ । 

बैङ्कहरूले गत पुस मसान्तसम्म कुल ४२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरिसकेका छन् भने माघको पहिलो सातासम्म वाणिज्य बैङ्कहरूले ४२ अर्ब हाराहारी ४९ करोड रुपैयाँ निक्षेप गरिसकेको सूचना छ । यो गत महिनाको तुलनामा १२ अर्बले बढेको छ । 

त्यस्तै पुस मसान्तसम्म चार हजार ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैङ्कहरूले माघको पहिलो सातासम्म कुल चार हजार ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसैसाथ बैङ्कहरूको कर्जा लगानी पनि रु १५ अर्ब पुगेको छ ।

राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत शेयरमा आधारित कर्जालाई कडाइ गर्दै प्रति व्यक्ति र कम्पनीले बैङ्कबाट ४ करोड रुपैयाँको सीमा र बैङ्क र वित्तीय संस्थाले जम्मा १२ करोड रुपैयाँभन्दा बढी लिन नपाउने सीमा बैङ्कहरूको निक्षेप सङ्कलन बढेसँगै तथा तरलताको अभाव हटेसँगै दोस्रो त्रैमासिक नीति थप खुकुलो हुने आँकलन बजारले गर्न थालिसकेको छ । यही सङ्केतसँगै विगत केही दिनको दोस्रो शेयर बजारमा कारोबारको सङ्ख्या हिस्सिएको आँकलन गर्न सकिन्छ । 

शेयर बजारलाई आफ्नो गतिमा चल्न दिएको खण्डमा बजारले लय समात्ने छ भने बजारमा भनिएका, देखिएका, सुनिएका ‘खेलाडी’हरूले फेरि खेल्न खोजेर आफूमात्र कमाउने वा फाइदामा रहने मनस्थिति आए शेयर बजार गलत बाटोमा जान थाल्नेछ र त्यसपछि फेरि राष्ट्र बैङ्कले नीतिगत निर्णय गर्दै हस्तक्षेप गर्नुपर्ने नै छ । 

बजारलाई प्राकृतिक रूपमा चल्न दिने र बजारलाई बजारका रूपमा मान्न थालेमा बजारले सर्वसाधारण लगानीकर्ताहरूको विश्वास जित्ने छ । जुन बजारको लामो भविष्यका लागि सकारात्मक सङ्केत हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ