arrow

मौद्रिक नीति समीक्षा र पूँजी बजारको प्रभाव  

logo
निश्चलराज दवाडी,
प्रकाशित २०७९ फागुन ७ आइतबार
article-nichhalraj-dawadi.jpg

सन् २००७ देखि २००८ सम्मको हाउजिङ बबल दुर्घटना तथा आर्थिक संकटको  सही भविष्यवाणी गर्ने नोरिएल रुबिनी अर्थात् डा डुम उपनामले प्रख्यात अर्थशास्त्रीले विश्वव्यापी मन्दीको प्रक्षेपण गर्दै सन् २०२३ सम्म रहने लामो र कुरूप विश्वव्यापी मन्दीमा संयुक्त राज्य अमेरिकाको स्टक एक्सचेन्जमा सूचीबद्ध ५०० ठूला कम्पनीहरूको स्टक प्रदर्शन ट्रयाक गर्ने स्टक बजार सूचकाङ्क एस एन्ड पी ४० प्रतिशतले घट्ने आँकलन गरेसँगै नेपाल राष्ट्र बैंकले समीक्षा गरेको अर्धवार्षिक मौद्रिक नीति २०७९–८० ले पनि लामो र कुरूप विश्वव्यापी मन्दी भएको खण्डमा तदारुकताका साथ यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न मौद्रिक नीतिमार्फत समीक्षा गरिएको देख्न सकिन्छ । 

सन् २००८ मा, घरपरिवार र बैंकहरू सबैभन्दा बढी पीडित रहेता पनि यस पटकको मन्दीले निगमहरू, र छाँया बैंकहरू, हेज फन्डहरू, निजी इक्विटी र क्रेडिट कोषहरूू सबैभन्दा बढी हिट हुने आँकलन गरिएको छ । यसबाट हुने जोखिम भारलाई न्यूनीकरण गर्न राष्ट्र बैंकले उत्पादनशील क्षेत्र तथा गैर उत्पादनशील क्षेत्रको रूपमा क्षेत्र वर्गीकरण गर्दै मौद्रिक नीतिमार्फत सबै वाणिज्य बैंकहरूलाई वि.सं.२०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, ६ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा (१ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रूपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नुपर्ने तथा विकास बैंकहरूले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम र व्यवसाय, ऊर्जा र पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा ऋण प्रवाह गर्नुपर्ने निर्देशन दिएको छ ।  

रुस–युक्रेन द्वन्द्व, महामारी र चीनको शून्य कोभिड नीतिबाट आउने पूर्वअवस्थित नकारात्मक आपूर्ति झड्काहरूको शीर्षमा आउने यस मन्दीमा धेरै ‘जोम्बी’ परिवारहरू, बैंकहरू, छाँया बैंकहरू र देशहरूलाई असर पर्ने तथा सन् १९७० को दशकमा जस्तै ठूलो ऋणको संकटसँगै सुस्त वृद्धि, उच्च बेरोजगारी र बढ्दो मूल्य  एकै साथ देख्ने आँकलन गरेसँगै राष्ट्र बैंकले सन् २०२२ मा ३.४ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशतले विस्तार हुने आँकन गरेको छ । 

यसैगरी सन् २०२२ मा विकसित अर्थतन्त्र २.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा १.२ प्रतिशत र सन् २०२४ मा १.४ प्रतिशतले विस्तार हुने प्रक्षेपणसँगै सन् २०२२ मा ३.९ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख मुलुकहरूको अर्थतन्त्र पनि सन् २०२३ मा ४.० प्रतिशतको झिनो अन्तरले वृद्धि हुने तथा सन् २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण मौद्रिक नीतिमार्फत साझा गरेको देख्न सकिन्छ ।

आर्थिक वर्ष २०७९–८० मा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चित कायम गर्ने लक्ष्य रहेकामा २०७९ पुस मसान्तमा ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित रहेको प्रतिवेदन साझा गर्दै  विप्रेषण प्रवाह सुधारोन्मुख रहेको, आर्थिक वर्ष २०७९–८० को ६ महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको, आर्थिक वर्ष २०७९–८० को ६ महिनामा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भइ भ्रमण आय ११६.९ प्रतिशतले बढेको तथा विप्रेषण आप्रवाहमा भएको वृद्धि र आयातमा आएको कमीका कारण चालु खाता घाटा तथा शोधनान्तर स्थितिमा सुधार भएको खुलाउँदै नेपाल राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक नीति सार्वजनिक गरेको छ  ।

तर रुबिनीको भविष्यवाणी अनुरूप सम्पत्तिको मूल्य १०–३० प्रतिशतले घट्न सक्ने तथा नगदको नाम मात्र तर मूल्य शून्य रहने, अमेरिकी नागरिकहरूले निगमहरू र सरकारहरूको ठुलो ऋण अनुपातलाई ध्यान दिनुपर्ने तथा फेड कोष दर ४ प्रतिशत र ४.१५ प्रतिशतको बीचमा हुने प्रक्षेपण गरेजस्तै हाल अमेरिकी फेड कोषको रेट ४.७५ प्रतिशत रहेको तथा बैंक अफ इङ्गल्याण्डले ०.५ प्रतिशत बैंक दरबाट ४ प्रतिशतमा वृद्धि भएको तथा अन्य युरोपेली मुलुकका बैंक दरमा पनि वृद्धिको स्थिति देखा परेका कारण नेपालको मुद्रा अवमूल्यन हुँदै आर्थिक वर्ष २०७९–८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ८.०२ प्रतिशत रहेको र यस उपभोक्ता मुद्रास्फीति १.०२ ५ को हिसाबले लक्ष्य भन्दा माथि गएको कारण बजारमा मूल्य वृद्धि जस्ता समस्या झेल्नु परेको राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक नीतिमार्फत प्रस्ट बुझ्न सकिन्छ ।

यस्तो भयावह स्थितिको सामना गर्न यही नीतिमार्फत राष्ट्र बैंकले घर जग्गा तथा पूँजी बजारमा मौलाउँदै आएको पूँजीवाद र पूँजीपति लगानीकर्ताहरूद्वारा सञ्चालित नेक्ससका कारण समस्यामा परेका आम लगानीकर्तालाई सुरक्षित अवतरण गराउन, क्रियाशील पूँजीपति लगानीकर्ताहरूले आम लगानीकर्ताहरूको थोरै लगानी फसाउन अपनाउने विभिन्न हत्कण्डा विफल पार्न तथा गैर उत्पादनशील क्षेत्रमा लगानी कटौती गर्न तथा आम लगानीकर्ताहरूको लगानी संरक्षण गर्ने लक्ष्य धारण गर्दै यी नीतिहरू अवलम्बन गरेको बुझ्न सकिन्छ । 

आधारभूत रूपमा कम प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएका तथा सानो कित्तामा रहेका शेयर र स्क्रिपमा चलखेल गर्दै शेयरको बजार भाउ उच्च बनाउन तत्कालीन शेयर खेलाडी तथा ऋण तथा ओभर ड्राफ्टसम्म सहज पहुँच राख्न सक्ने ठूलो व्यापारिक घरानाहरूको मिलेमतोमा पुरानो नीतिको फाइदा उठाउँदै बजार बढाउन सफल भएका र आम लगानीकर्ताहरूको लगानी जोखिममा पर्दै आएको तथ्य नौलो होइन ।

घरजग्गा तथा शेयर बजारका यस्ता पूँजीपतिहरूले कहिले शेयर बजारको मूल्य बढाउँदै आएका तथा कहिले घरजग्गाको मूल्य बढाउँदै आएको कुरा प्रस्ट रूपमा अनुभूत गर्दै आएको राष्ट्र बैंकले यस्ता गैर उत्पादनशील क्षेत्रमा हुने लगानी कम गर्न यस्ता चलखेल गतिविधिलाई निरुत्साहित गर्न र यस्ता गतिविधि प्रोत्साहन गर्दै आएका बजारका सक्रिय नेक्ससलाई तोड्न ४–१२ को नियम लगाएसँगै राष्ट्र बैंकले ठूलो आलोचना सहनु परेको थियो । 

यस अर्धवार्षिक मौद्रिक नीति २०७९–८०, ४ र १२ को नीति मा राष्ट्र बैंक लचिलो हुने भनेर हल्ला फिजाउँदै स्टकको मूल्य मौद्रिक नीति आउनु भन्दा केही हप्ता अघि बढेको देख्न सकिन्थ्यो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमार्फत यस नियमलाई यथावत राखेसँगै आइतबार कारोबार शुरु भएको दिन नेप्से ६१ अंकले घटेको देख्न सकिन्छ । ४–१२ को नियमले आम लगानीकर्तालाई केही असर नपर्ने तर ४–१२ को नियम संशोधन गर्दा पूँजीपतिहरूलाई फाइदा हुने तथा राष्ट्र बैंकको मौद्रिक नीति मायोपिक र अदूरदर्शी हुने प्रस्ट देखिन्थ्यो । 

यस मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा साझा गरेसँगै नेपाल राष्ट्र बैंक पूँजीपति र व्यापारिक घराना भन्दा आम लगानकर्ताप्रति संवेदनशील रहेको देख्न सकिन्छ ।   

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवं परिदृश्य आँकलन गर्दै विवेकपूर्ण मापदण्डहरूका साथ वित्तीय संस्थाको कोल्याट्रल र सम्पत्तिलाई बलियो बनाउँदै लैजाने राष्ट्र बैंकको अनेक नीति मध्येको मौद्रिक नीतिले वित्तीय संस्थाको कोल्याट्रल र सम्पत्तिलाई सुरक्षित अवतरण गर्न खोज्दै स्टक कोल्याट्रललाई १५० प्रतिशत जोखिम युक्त लगानी भन्दै यस वर्गीकरण यथावत राखेको बुझ्न सकिन्छ ।
 
उता ४–१२ को नियम यथावत राख्ने अनि वित्तीय संस्थालाई शेयरको जोखिम भार घटाउन लगाएर यस्ता गैर उत्पादनशील क्षेत्रमा ऋण उपलब्ध गराउँदा अन्त्यमा यस्ता लुपहोलको फाइदा पुनः पूँजीवादी र पूँजीपति लगानीकर्ताहरूले नै उठाउने प्रस्ट ध्येय राष्ट्र बैंकले राखेको बुझ्न सकिन्छ ।  

गैर उत्पादनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको पुँजी बजार जसले उत्पादकत्वमा केही टेवा नपुराउने, रिपोर्टिङ अवधिमा कमाएको जस्तो मात्र हुने तर वास्तविक परिवेशमा उत्पादनशीलतामा केही प्रभाव नपार्ने तथा गैर उत्पादनशील क्षेत्रमा प्रवाह हुने ऋण भार लाई सुरक्षित अवतरण गराउने प्रस्ट नीति बोकेको नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्र लक्षित गर्दै विपन्न कर्जा, सहुलियत तथा पुनर्कर्जा  तथा उत्पादन मूलक क्षेत्रमा कर्जा प्रवाहको नीति बसालेर समस्तगत अर्थतन्त्रलाई सुरक्षित अवतरण गराउन खोजेको कदम प्रशंसनीय रहेको बुझ्न सकिन्छ । 

वित्तीय क्षेत्र जस्तै पूँजी बजारमा विश्वासको स्तरमा परिवर्तन गर्न वित्तीय साक्षरताको साथ प्रतिस्पर्धात्मक प्रदर्शनी जरुरी हुन्छ । यस्ता अवसरहरूको  सिर्जना भए पूँजी बजारमा प्रतिस्पर्धा गरिरहेका कम्पनीहरूले कुनै चलखेल बिना नै स्वतः आम लगानीकर्ताहरूको विश्वास जित्न सफल हुने निश्चित अनुमान गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ