arrow

महायज्ञबाट उठेको रकम सार्वजनिक नगरे मुद्दा

logo
उमा केसी,
प्रकाशित २०७३ असोज ६ बिहिबार
mhayegye-rolpa-news.jpeg
रोल्पा । जलजला बहुमुखी क्याम्पस, रोल्पाले महायज्ञबाट उठेको डेढ करोड रकम सार्वजनिक नगर्दा दानकर्ताहरुले मुद्दा दर्ता गर्ने चेतावनी दिएका छन् । क्याम्पसले एक वर्षसम्म पनि रकम सार्वजनिक नगर्दा दाताले यस्तो चेतावनी दिएका हुन् । 
 
गत वर्ष असोज ३ देखि १० गतेसम्म जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तथा अक्षयकोष स्थापना गर्ने भन्दै धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । धार्मिक महोत्सवमा नगद, जिन्सी गरी दुई करोड बढी रकम उठेको भनिए पनि हालसम्म सो को हिसाब सार्वजनिक नहुँदा दाताहरु आक्रोशित भएका हुन् । 
 
महोत्सवमा एक लाख ९१ हजार नगद दान गरेका खटकबहादुर खत्रीले उठेको रकम अविलम्ब सार्वजनिक गर्नुपर्ने बताए । रकम दुरुपयोग भएको विषयमा आफूलाई शङ्का नभए पनि विवरण सार्वजनिक नहुँदा शङ्का गर्ने ठाउँ देखिएको बताए । क्याम्पसले सो रकम सार्वजनिक नगरे सम्बन्धित निकायमा उजुरी दिने उनले बताए । 
 
महायज्ञमा दिवंगत श्रीमानको सम्झनामा ७५ हजार दान गरेकी तुलसा आचार्यले क्याम्पसको गेटमा श्रीमान् श्रीमतीको नाम अङ्कित गर्ने भनिएकामा हालसम्म कुनै प्रक्रिया अघि नबढाइएकामा असन्तुष्टि पोखिन् । दान गर्दा जुन शर्त राखिएको थियो सो अनुसार नगरे आफूले सम्बन्धित निकायमा मुद्दा दर्ता गराउने उनको भनाई छ । 
 
स्नातकोत्तर तहको पढाइ हुने आशामा ३१ हजार १ सय ११ दान गरेकी शान्ति कक्षपतिले हालसम्म पनि स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्नेबारे कुनै प्रक्रिया नचालेको बताइन्। क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालन नगर्ने हो भने आफूहरुको पैसा फिर्ता हुनुपर्ने उनले भनेकी छन् । यस सम्बन्धमा क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले कबोल गरेका सबै पैसा प्राप्त नभएको हुँदा सार्वजनिक गर्न नसकेको बताए । 
 
असोज महिनाभित्रै सबै हिसाब मिलान गरेर सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाई छ । क्याम्पसको नियमित खातामा रकम अभाव भएका कारण शिक्षक कर्मचारीको तलबका लागि महायज्ञको खाताबाट केही रकम सापटीस्वरुप खर्च गरिएको उनले बताए । 
 
यसै विषयमा जलजला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालको धारणा बुझ्दा हिमानी ट्रस्टबाट केही रकम दिने भनिए तापनि हालसम्म सो रकम आउने–नआउने निश्चित नभएकाले पनि सार्वजनिक गर्नमा ढिलाइ भएको बताउँदै दानीले पनि घोषणा गरे अनुसारको रकम अझै नबुझाएको जानकारी दिए ।  
 
महायज्ञमा नगद एक करोड ५० लाख उठेकोमा दाङमा रहेको एक बैंकमा ७५ लाख अक्षयकोषका रुपमा राखिएको छ भने करिब  ४५ लाख जति महायज्ञमा खर्च भएको र बाँकी रकम क्याम्पसले सापटी लगेको अध्यक्ष हमालले जानकारी दिए । 
 
महायज्ञमा विभिन्न पाँचजना दाताले जग्गासमेत दान गरेको भएपनि हालसम्म कसैले पनि जग्गा क्याम्पसलाई रजिस्ट्रेसन पास नगरिदिएको हमालले बताए । रासस 



लोकप्रिय समाचार
नयाँ