arrow

पुनर्वास नगरपालिकाद्वारा कार्यविधि बिनै सामाग्री खरिद, करिब २५ लाख खर्च

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ फागुन १ सोमबार
punarbas.jpg

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले सार्वजनिक खरिद ऐनले व्यवस्था गरेको खरिद कार्यविधि पालन नगरी सामाग्री खरिद गरेको पाइएको छ । 

पुनर्वास नगरपालिकाको सूचना अधिकारी बाट हाम्राकुरालाई प्राप्त विवरण अनुसार चालू आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म २४ लाख ८६ हजार ३८९ रुपैयाँ ५० पैसा बराबरको सामाग्री ऐनले व्यवस्था गरेको कार्यविधि पालन नगरी खरिद गरेको पाइएको हो । 

पुनर्वास नगरपालिकाका सूचना अधिकारी बाट प्राप्त विवरण अनुसार स्वास्थ्य शाखाले चालू आर्थिक वर्षको पुस मसान्त सम्म ९ लाख ९२ हजार ५५२ रुपैयाँ ५० पैसा बराबरको औषधि रौले केदार मेडिसिन सप्लायर्स कैलालीबाट  खरिद गरिएको पाइएको छ । 

त्यस्तै गरि पुनर्वास नगरपालिकाले चालू आर्थिक वर्षको पुस मसान्त सम्म १४ लाख ९३ हजार ८३७ रुपैयाँ फर्निचर खरिदमा खर्चिएको छ । सार्वजनिक सेवा प्रदायक संघ संस्थाहरूले आवश्यक  सामाग्री खरिद गर्दा ऐनले व्यवस्था गरेको कार्यविधि अनुसार गर्नु पर्ने स्पष्ट व्यवस्था भए पनि पुनर्वास नगरपालिकाले भने पालन नगरेको पाइएको छ । 

सार्वजनिक खरिद ऐनको परिच्छेद २ को दफा ९ मा सार्वजनिक निकायले कुनै खरिद गर्नु पर्दा खुल्ला रूपमा बोलपत्र आह्वान गर्नु पर्ने व्यवस्था गरेको छ ।

No description available.

दफा ४० को उपदफा ३ अनुसार सिलबन्दी दरभाउ पत्र माग गर्दा राष्ट्रिय वा स्थानीय स्तरको समाचारपत्रमा कम्तीमा १५ दिनको अवधि दिई सूचना प्रकाशन गर्नु पर्ने स्पष्ट व्यवस्था उल्लेख गरिए पनि पुनर्वास नगरपालिकाबाट प्राप्त विवरणमा उल्लेख नभएको पाइएको छ । 

सार्वजनिक खरिद ऐनको परिच्छेद ५ ले व्यवस्था गरेको खरिद सम्बन्धी व्यवस्था दफा ४० को उपदफा २ अनुसार सिलबन्दी दरभाउ पत्र माग गर्नु अघि खरिद गर्ने मालसामानको स्फेसिफिकेशन , गुणस्तर जस्ता कुराहरूको विवरण स्पष्ट उल्लेख भएको हुनुपर्ने व्यवस्था भए पनि पुनर्वास नगरपालिकाले भने खरिद प्रक्रिया रितपूर्वक गरेको पाइएको छैन ।  

त्यसै गरि ऐनको दफा १४  कम अङ्क कबुल गरेको बोलपत्रदाताबाट खरिद गर्नु पर्ने व्यवस्था भए पनि सञ्चारकर्मीद्वारा गरिएको माग बमोजिमको नगरपालिकाबाट प्राप्त विवरणमा सो को स्पष्ट उल्लेख गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ