arrow

भावी आईजीपीका लागि दौडधूप शुरु, प्रतिस्पर्धीबीच अस्वस्थ्य प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
dig-for-aig-2079.jpg

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि अन्तिम तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवाको तयारी गर्न प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहलाई निर्देशन दिए लगत्तै बढुवा तयारी भएको हो । 

आईजीपी  सिंह यूएईबाट फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर बढुवाको तयारी गर्न निर्देशन दिएका थिए । केही दिनमै गृह मन्त्रालयले बढुवा सिफारिस समितिको बैठक बस्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ । 

माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न भएपछि स्वदेश आएका आईजीपी सिंहले सोमबार नै प्रधानमन्त्री निवास वालुवाटारमा भेटघाट गरेका थिए । 

अघिल्लो हप्ता मात्रै सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएपछि नेपाल प्रहरीको एआईजी बढुवाको पालो रहेको छ । 

नेपाल प्रहरीमा भने ६ महिनादेखि एआईजी रिक्त छ । अहिले एआईजी बन्ने मध्येबाटै भावी आईजीपी हुने भएकाले सरकारले त्यसअघि नै एआईजी बढुवा गर्ने तयारी भैरहेको छ । 

बुधबारबाट एआईजी पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या ५ पुगेको छ । यसअघि विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बिसी र रवीन्द्र धानुकले अवकाश भएका थिए ।  

४ एआईजी रिक्त हुँदा पनि एआईजी बढुवा गरिएको थिएन । एआईजीका दाबेदारलाई निवर्तमान गृहमन्त्री रवि लामिछानेले प्रदेशमा सरुवा गरेका थिए । लामिछाने गृहमन्त्रीबाट हटिसकेका छन् । लामिछाने हटेसँगै तत्काल एआईजी बढुवा अगाडि बढाउने तयारी सरकारको छ । हाल गृह मन्त्रालयको पनि जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै भएकाले माओवादीहरु नेताहरुले पनि चासो राखेका छन् । 

आईजीपी सिंहकै ब्याची ३ जना रहे पनि उनीहरुलाई भने अवकाशको मुखमा बढुवा गर्ने सम्भावना देखिएको छैन । मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्यको आगामी चैत ११ गते अनिवार्य अवकाश हुनेछ । 

३० वर्षे सेवा अवधि हटाउने प्रक्रिया अगाडि बढाइएको भए पनि बीचमा सरकार परिवर्तन भएपछि यो प्रक्रिया रोकिएको छ । ३० वर्षे नहटे आईजीपीसँगै ३ एआईजी र ३ डीआईजी पनि अवकाश हुनेछन् । एआईजीहरु सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि आईजीपीसँगै घर जानेछन् ।  

अहिले एआईजीमा बढुवा भएमा डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्रचार्य, सुदीप भण्डारी, भीम ढकाल मध्येबाट एक जना आईजीपी हुनेछन् । यीमध्ये पाँच जनाको बढुवा हुनेछ । तिनै पाँच जनामध्ये एक जना आईजीपी बन्नेछन् । 

वसन्त कुँवर मधेश प्रदेशको प्रहरी प्रमुख छन् भने टेकप्रसाद राई लुम्बिनी, अशोक सिंह सुदूरपश्चिम र दीपक थापा बागमती प्रदेशको प्रहरी प्रमुख छन् । 

श्यामलाल ज्ञवाली प्रदेश १ मा, किरण बज्रचार्य प्रशासन विभागमा छन् । उनीहरुका अतिरिक्त सुदीप गिरी, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ,  दुर्गा सिंह, किरण राणा, उमेशराज जोशी र टेकबहादुर तामाङ पनि दाबेदार छन् । तर उनीहरुको संभावना भने निकै कम रहेको छ । 

अघिल्लो सरकारले वसन्त, टेकप्रसाद, अशोक र दीपकलाई वरीयतामा अगाडि राख्दै डीआईजीमा बढुवा गरेको थियो । अहिले एआईजीमा बढुवा हुनेको भने आईजीपी बन्ने सम्भावना कायम रहन्छ । यीमध्ये दीपक थापा ५ महिनापछि भर्ना भएका हुन् ।  

यस पटक अरु नै आईजीपी बने पनि उनी त्यसपछि छोटो समयका लागि आईजीपी बन्ने सम्भावना उनको पनि छ । बढुवाका प्रमुख दाबेदार ६ जना २०५१ चैतमा र थापा २०५२ भदौमा प्रहरी निरीक्षक भएका हुन् । 

भावी आईजीपीका लागि डीआईजीको एआईजीमा बढुवा हुन लागेसँगै आपसमा अस्वस्थ्य प्रतिस्पर्धासमेत देखिएको छ । 

एकले अर्कालाई खुइल्याएर आफू अगाडि बढ्नका लागि विभिन्न होडबाजी चलेको छ । सो क्रममा केहीले एक अर्काका नकारात्मक सूचना चुहाउने क्रमसमेत चलिरहेको पाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ