arrow

एनसेलको अत्याधुनिक डाटा सेन्टर: महत्वपूर्ण कम्पनीहरूलाई देशभित्रै सुरक्षित सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
ncell-data-center-ncell-data-center.jpg

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलले ललितपुरको नख्खुमा अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ। डाटा सेन्टर एक आईटी अपरेशन र उपकरणलाई केन्द्रीकृत गरिएर राखिएको सुविधा सम्पन्न भवन हो । 

डाटा सेन्टरमा डाटा र एप्लिकेसन भण्डारण गरिएको हुन्छ भने त्यसको प्रोसेसिङ र त्यो डाटा एवं एप्लिकेसनको सञ्चार अथवा प्रसार पनि डाटा सेन्टरबाटै हुन्छ।

२४ घण्टा र ३६५ दिन नै डाटा सेन्टरले अपरेशन या काम गरिरहेको हुन्छ। त्यसले डाटा सेन्टर अत्यावश्यक सुविधा हो । एनसेलले अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई अर्ब भन्दा बढीको लगानीमा देशभित्रै अत्याधुनिक डाटा सेन्टरको निर्माण गरेको हो ।

बैंक, फाइनान्स, डिजिटल वालेट, टेलिकम, इन्टरनेट सेवा प्रदायक कम्पनी एवं ठूला व्यवसायिक कम्पनीको डाटा देशभित्रै सुरक्षित हिसाबले भण्डारण गर्न सक्ने क्षमताका साथ एनसेलले यो डाटा सेन्टर निर्माण गरेको जनाएको छ ।

भौतिक एवं डिजिटल सुरक्षा

एनसेलको डाटा सेन्टर ९ रेक्टर स्केलसम्मको भूकम्पलेसमेत क्षति पुर्‍याउन नसक्ने किसिमले निर्माण गरिएको कम्पनीले जनाएको छ।

डाटा सेन्टरका लागि एनसेलले आफ्नै लगानीमा ३.२ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेशनबाट विद्युतीय लाइन जोडेको छ।

दुई वटा विद्युतीय ट्रान्सफरमर आवश्यक भए पनि दुई ट्रान्सफरमर ब्याकअपमा एनसेलले राखेको छ। विद्युत अवरोध भएको अवस्थामा आवश्यक दुई वा तीन ठूला जेनेरेटरको ठाउँमा एनसेलले पाँच वटा प्रत्येक १२५० किलोभोल्ट एम्पियरका जेनेरेटर डाटा सेन्टरमा राखेको छ। 

यस्तै जेनेरेटरबाट निस्किने धुवाँसमेत फिल्टर भएर मात्रै वायुमण्डलमा छोडिने प्रणाली जडान गरिएको छ । जेनेरेटर चलाउनु परेको अवस्था र इन्धनको पनि अभाव भएको अवस्थाका लागि सात दिनसम्म पुग्ने क्षमताको इन्धनको ट्याङ्कीसमेत एनसेलले डाटा सेन्टरमा राखेको छ।

बिजुली अवरोध भएमा स्वचालित जेनेरेटर चल्ने भए पनि त्यसको पनि ब्याकअपका लागि एनसेलले ३० मिनेटसम्म थेग्ने क्षमताको राखेको छ।

यस्तै आगलागी भएको खण्डमा बढीमा ६ सेकेण्डमा अटोमेटिक रुपमा आगलागी पुष्टि भइसक्ने धेरै प्रारम्भिक धुवाँ पत्ता लगाउने एपेरटस (भीईएसडीए) र बढीमा ८ सेकेण्डदेखि आगो निभाउने वातावरणमैत्री नोभेक १२३० ग्यास निस्किने गरी बनाइएको स्वचालित फायर अलार्म र बुझाउने प्रणाली रहेको छ।

यस्तै डाटा सेन्टरसँगको फाइबर नेटवर्कको लाइनसमेत एउटामा कुनै समस्या आएको अवस्थामा अर्को तयारी अवस्थामा राखिएको छ।

२५० र्याक क्षमता

मलेसियन कम्पनी एक्जियटा अन्तर्गतको एनसेलको डाटा सेन्टरमा २२० भीको ८८ एसी र्याक र ४८ भीको १६२ डीसी र्याक गरी २५० र्याक रहेको छ। प्रतिर्याक ९ किलोवाट क्षमता रहेको छ।

२ तले भवनमा तीन वटा डाटा हल रहेको छ। यो डाटा सेन्टर टायर ३ को हो। मानक अथवा स्तरका आधारमा डाटा सेन्टर १,२ ३ र ४ गरी चार टायरको हुनेगर्छ ।

यस्तै डाटा सेन्टरको पावर युजेज ईफेक्टिभनेस (पीयूई) १.५ सम्मलाई प्रभावकारी मानिन्छ । एनसेलले भने १.५ भन्दा पनि कम नै राखेको छ र बढीमा १.५ कायम राख्ने गरी बनाइएको छ।

सुरक्षा प्राथमिकता

एनसेलका प्राविधिक प्रमुख अदिल इस्रारले ह्याकिङ, डाटा चोरीजस्ता समस्याको उच्च सुरक्षा र भौतिक पूर्वाधारहरुको समेत उच्च सुरक्षा सहित एनसेलले अत्याधुनिक डाटा सेन्टर निर्माण गरेको बताएका छन् ।

एनसेलले आफ्नो प्रायोजनसँगै र अन्य बैंक, फाइनान्स, डिजिटल वालेट, टेलिकम, इन्टरनेट सेवा प्रदायक कम्पनी एवं ठूला व्यवसायिक कम्पनीहरुलाई आफ्नो डाटा सेन्टरको सुविधा प्रदान गर्ने बताएको छ ।

सरकार एकीकृत डाटा सेन्टर बाहेक पछिल्लो समय नेपालमा अन्य कम्पनीहरुले पनि डाटा सेन्टर बनाउन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ