arrow

शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिवद्ध छौं : मेयर आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
dhanraj.jpg

पोखरा । पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौरस्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार रैकरमा शिलान्यास गरेका हुन् ।

खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छतासमेत महत्वपूर्ण हुने बताए ।

खानेपानी संविधानको मौलिक हकमा राखिएकोले शुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र होइन यो शुद्धसमेत हुनुपर्छ भन्ने अभियानमा महानगर रहेको स्पष्ट पारे । 

नारा एक घर, एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोगमात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने गरेको उनले बताए ।

हाल सञ्चालनमा रहेका खानेपानीको आयोजनाहरू समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी शुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको उनले विश्वास दिलाए ।

पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको सुद्धिकरणका लागि जाइकासंगको समन्वयमा काम भइरहेको जानकारी दिँदै उनले त्यो परियोजना अन्तिम चरणमा रहेको बताए ।

शहर होस् या गाउँ अब घरघरमा धारा मात्र होइन, धारामा आउने पानीसमेत शुद्ध पिउन योग्य पानी आउने वातावरणको सृजना गरिने उनले भने । प्रमुख आचार्यले पानीको शुद्धिकरण, मुहानको संरक्षण र पानी वितरणका सम्बन्धमा आफूहरू निरन्तर लागिरहेको बताए ।

उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीको लागि विगतमा निकै दुख झेल्नु परेको सुनाउँदै पछिल्ला दिनहरू भने सहज हुँदै आएको बताए ।

हिजोका दिनहरूमा यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि खानेपानी निकै समस्या रहेको उनले बताए । तर स्थानीयहरूको सक्रियता र सम्बन्धित निकायको सहयोगले विभिन्न आयोजनाहरू सञ्चालन गरिएपछि अहिले धेरै नै राहत मिलेको उनले स्पष्ट पारे ।

खानेपानी व्यवस्थापनका लागि कार्यालय भवन आवश्यक रहेकामा त्यो पनि निर्माणको क्रममा रहेकाले यसले पुरन्चौर क्षेत्रको खानेपानी वितरणमा थप सहज हुनेमा उनले विश्वास व्यक्त गरे । 

बहुउद्देश्यीय भवनकारूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी रहेको छ । यस भवनले त्यस क्षेत्रका ४१५ घर परिवार लाभान्वित हुनेछन् । उक्त भवन रैकरमा निर्माण गर्न लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ