arrow

एउटै मञ्चमा सात भाषाका कविता गुञ्जिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
Gandaki.jpg

हेमजा । पोखरामा एकै मञ्चमा विभिन्न सात मातृभाषामा कविता गुञ्जिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारी गण्डकी प्रज्ञा प्रतिष्ठानले मंगलबार कवितावाचन कार्यक्रम गरेकोमा स्रष्टाले ७ भाषामा कविता सुनाएका हुन् ।

त्यस अवसरमा जगन्नाथ रेग्मीले संस्कृत, छवि सुवेदीले भोटे, ज्योति भट्टचनले थकाली, मधुसुदन जोशीले नेवारी र जसमाया गुरुङले गुरुङ भाषामा कविता वाचन गरेका हुन् ।

स्रष्टा यमबहादुर थापा, फूलकुमारी थापा र रुद्रश्रीष मगरले मगर भाषा साथै नेपाली भाषामा भीम रानाभाट, विष्णुप्रसाद बास्तोला, कल्याण पन्त र छविलाल आचार्यले कविता सुनाए । कवितामार्फत् स्रष्टाहरुले देशप्रेमको भावना व्यक्त गर्नुका साथै माया, प्रेमका पक्षहरु पनि उजागर गरे ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, विन्ध्यवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मी, भाषाविद् डा.यमनाथ तिमिल्सिनालगायतले मातृभाषाको स्वाभाविकतालाई सुरक्षित राख्नुपर्ने भन्दै यसलाई बचाइराख्न पुस्तान्तरण आवश्यक भएको उल्लेख गरे ।

नेपाल बहुभाषिक देश हो । यहाँ १२३ भन्दा बढी मातृभाषा अस्तित्वमा छन् । नेपाली राष्ट्रभाषा भए पनि यहाँ विभिन्न जातजाति, भाषाभाषीका आफ्नै मातृभाषाहरु छन् ।

मातृभाषालाई बचाइराख्न र पुस्तान्तरण गर्न भने ठूलै समस्या देखिँदै आएको छ । विद्यालय शिक्षामा औपचारिक भाषा राष्ट्रभाषा हुँदा धेरै बालबालिकाहरुमा सिकाइ उपलब्धिसमेत कमजोर देखिएको छ ।

गण्डकीमा विशेष गरी नेपाली, मगर, थारू, गुरुङ, कुमाल, दरै, घले, थकाली, ल्योपा, छन्त्याल, भुजेल, बोटे, दुरा, तिब्बती, मुसलमान, बराम, मनाङे, लमजुङ ह्योल्मोलगायत भाषा बोल्ने गरिन्छ ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रम प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ