- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलात्कार आरोपी क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिने गरी हेर्दाहर्दैमा राखेको हो ।
आइतबार सरकारी पक्षका कानून व्यवसायीले बहस सकाएपछि सन्दीपका कानून व्यवसायीले बहस थालेका छन् । आइतबारको बहस नसकिएपछि सोमबार पनि बहस हुने भएको छ ।
मल्ल र चुँडालको इजलासले जाहेरवालाका तर्फबाट महान्यायाधीवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको हो ।
आफूलाई देश बाहिर जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको निवेदन र सन्दीपलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेश बदरको माग गर्दै परेको पुनरावलोकन सम्बन्धी मुद्दाको सुनुवाइ चलिरहेको हो ।
अग्राधिकार दिइएका कारण उक्त इजलास आइतबार एक नम्बरमा पेसी तोकिएको थियो । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।
उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले निवेदन पेस गरेको थियो ।