arrow

निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्छु : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
chandra-dhakal-hetauda-fncci.jpg

हेटौडा। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको छैटौँ प्रदेश सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुन स्थापित गर्ने गरी काम गर्नु पर्नेछ। यसकालागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न आवश्यक छ। निजी क्षेत्रका मागहरू पुरा गर्नको लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ।”

उनले सस्तो लोकप्रियता र भिडमा तालीका लागि मात्र गैर जिम्मेवार ढङ्गले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे। “म निजी क्षेत्रका साथीहरूलाई पनि भन्न चाहन्छु। तपाईँहरू वास्तविक र व्यवहारिक बन्नुस्। त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ। सस्तो लोकप्रियताका लागि यस्ता गैर जिम्मेवार कुराका पछाडि नलागौँ। यसले कुनै दिन हामीले कल्पना नगरेको सङ्कट निम्ताउन सक्छ,” उनले भने।

कोरोनाभाइरसका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै उनले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जाने क्रम घट्दा, नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवासमा कमी आउन गएको बताए।

त्यस्तै, बाह्य पर्यटकको सङ्ख्या घट्दा र बैङ्कमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको उनले बताए।

“कोरोनाभाइरसको समयमा ६ महिनाको अवधिमा बैङ्कहरूबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ। त्यस बेला जब बैङ्कमा तरलता बढ्यो त्यो समयमा बैङ्कले उद्योगी व्यवसायीहरूलाई कर्जा लिनको लागि प्रोत्साहन गरेका थिए। बैङ्कहरूले पनि सहज रूपमा कर्जा दिएकै हुन्।
उद्योगी व्यवसायीहरूले कर्जा लिएर घर जग्गा किनेको पनि हो,” उनले भने।

“तर कोरोनाभाइरस पछि जब वैदेशिक रोजगारमा जाने क्रममा कमी आयो, गएकाहरू पनि फर्किने क्रम बढ्यो। पर्यटकहरू आउने क्रम रोकियो। तब, बैङ्कमा रहेको तरलता सकिँदै गयो। त्यसपछि नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूलाई तरलता व्यवस्थापन गर्नका लागि मुद्दतीमा ५० प्रतिशत र बचतमा १०० प्रतिशत जस्तो व्याज बढाउने नीति लियो। त्यसको फल स्वरुम करिब ८ प्रतिशत मात्र तरलता बैङ्कमा आयो। तर, यसले बैङ्कको लागत बढ्न गयो। बैङ्कको व्याज बढेपछि तरलता बढ्छ भनेको त्यसो हुन सकेन।”

उनले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्था भन्दा नबिग्रने विश्वास व्यक्त गरे। “वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि बढेको छ। विदेशबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ। रेमिट्यान्सको आप्रवास पनि बढेको छ। बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ। र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन। केही न केही सुधार हुने मलाई विश्वास छ,” उनले भने। हरेक असजिलोमा सङ्घर्ष गरेर सहज परिस्थितिको अपेक्षा गरेर बस्ने निजी क्षेत्र सानातिना असहजताबाट आत्तिन नहुने पनि उनले बताए।

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वमा महिलाहरूको प्रतिनिधित्व हुनु पर्‍यो भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उनले आफ्नो कार्यकालमा महासङ्घमा महिला प्रतिनिधित्व बढाउन पुरापुर प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले महासङ्घको विधानमा रहेका केही प्रावधानहरू नमिलेको बताउँदै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ