arrow

पदयात्रा र ज्ञान  

logo
शीतल गिरी,
प्रकाशित २०७९ फागुन २७ शनिबार
shital-giri-article-travel.jpg

हिजो–आज डाँडाकाँडा या ग्रामीण बस्तीमा केही लेखकहरू स्रष्टा पदयात्राको नाममा गोलबन्द भएर प्रत्येक महिनाको पहिलो शनिबार पदयात्रा गर्न निस्कने गरेका छन् । पदयात्रा गर्दा रमणीय लागेको केही रोचक प्रसङ्गमात्र यहाँ उल्लेख गर्ने जमर्को गर्दैछु । पदयात्रा गर्न रमाइलो रूटमा सुन्दरीजलदेखि शालीनदीसम्मको पर्छ । सुन्दरीजल रमणीय छ, यसको सेरोफेरोमा पदयात्रीले फोटो खिच्न अलमल गरेमा शालीनदी पुग्न सकिँदैन ।         

पदयात्रीले यहाँबाट यहाँसम्म पुग्छु र यतिखेर फर्कन्छु भनेर समयतालिका व्यवस्थित नगरिने हो भने यात्रा निश्चय नै असफल हुन्छ । एक दिने पदयात्रीको बाध्यता भनेको घाम डुब्नेताकासम्म आ–आफ्नो निवासमा फर्किनु पर्ने पनि हो । समय धेरै बचाएर फटाफट दूरीमात्र तय गरियो भने पनि यात्रा बेस्वादिलो बन्छ यसमा कुनै शंका छैन । 

सुन्दरीजल बस पार्कबाट उकालो चढेर जंगल क्षेत्र हुँदै अगाडि बढ्दै जाँदा सुन्दरीजलको खानेपानी रिजभ्वायरमा पुगिन्छ । त्यहाँबाट पनि अगाडि बढ्दै जाँदा मूलखर्कमा सडक भेटिन्छ । सो सडक समातेर तेर्सैतेर्सो जाँदा गागलफेदी हुँदै साँखु पुग्न सकिन्छ । 

हाँस्दै, खेल्दै, रमाउँदै हामी साँखु जाने बाटोमा हिँड्न थाल्यौं । शालीनदीको चोखो पानीलाई अञ्जुलीभरि उठाउन चाहेका थियौं । शालीनदी पुग्नु भनेको हाम्रो पदयात्राले सफलता पाउनु पनि हो । सफलता प्राप्ति हेतु पाइला चल्न थालेको हुँदा मन फुरुंग भएको थियो । 

हामी महिनाको एकपल्ट काठमाडौं वरिपरिका डाँडाकाँडा छिचोल्ने गरेका छौं । हामीले मूलखर्कमा गोसाइकुण्ड पास पुगेर फर्केका स्वीटजरल्यान्डका तीन जना पर्यटकलाई भेट्टाएका थियौं । काठमाडौं वरपर कति रमाइला ठाउँहरू छन्, भिल्लको देशमा मणि समान भइरहेका छन् हामी नेपालीका लागि त्यो पाखापखेरा, झरना, जंगल र कन्दराहरू । रमणीय प्रकृतिका छटाहरू । 

अलिअलि उकालो र सकेसम्म तेर्सो बाटो हिँडिरहेका छौं । असोजको महिना पारिलो घाम लागिरहेको छ, त्यो घामको किरणले हाम्रो शरीरमा पनि स्पर्श गरिरहेको छ । हामी अगाडि बढिरहेका छौं, साँच्चै हामी खुशी छौं यो यात्रामा । 

खुशीका तरंगहरू तरंगित छन् हाम्रा नसानसाभरि । अब हाम्रो अगाडि दुईटा बाटो— सल्लेपिरको बाक्लो गलैँचा प्रकृतिले ओछ्याइदिएको देखियो । देखियो मात्र होइन सल्लाघारीले सुसाइ सुसाइ हामीलाई बोलाउँदै थियो । 

हामी साँखु जान हिँडेको हुँदा उकालो बाटो समातेर हिँड्न थाल्यौं । उकालोमा शीतल ठाउँमा बाटो फेरि फाटियो— उकालो बाटो लागे चिसापानी पुगिने हुँदा हामी तेर्सोतिरको बाटो लागेका थियौं । हामीलाई भोक लागेको हुँदा प्रकृतिको काखमा बसेर हामीले बोकेको खाना खाने योजनाअनुसार बाँस झ्याङको सियाँलमा बसेर पोको पुन्तुरा खोल्न लाग्यौं । खाना खाएर हामी गागलफेदी हुँदै साँखुतिर लम्कियौं । हामीले बाटो बिराएर खेतको डिलडिलै भएर साँखुतर्फ लाग्यौं  । साँखुमा पुग्यौं, हामी हाम्रो गन्तव्यमा पुग्यौं । त्यहाँबाट हामी शालीनदी गएका थियौं ।         

 ०००

पुस महिनामा हामी लगनखेलबाट सातदोवाटो हुँदै खोकनासम्म गाडीमा गएका थियौं । मल्लकालीन नेवार संस्कृतिको खुला संग्रहालय— ललितपुरको खोकना ७५० वर्षअघि स्वस्तिक आकारमा बसालिएको बस्ती रहेछ । खोकनावासी दशैँ मनाउँदैनन् ।

सो बेला उनीहरू रुद्रायणी (सिद्धिकाली) जात्रा मनाउँछन् । तोरीको तेलका लागि खोकना प्रख्यात छ । परम्परागत शैलीमा कोलबाट अहिले पनि तेल निकालिन्छ । फर्पिङमा वि.सं. १९६८ सालमा बनेको नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत आयोजनाको पावर हाउस छ । चन्द्र शमशेरको पालाको करिब १२ सय मिटर उचाइमा रहेको विद्युतगृहमा दुइटा टर्बाइन मेसिन छन् ।  
       
फर्पिङको विद्युतगृहको क्षमता ५०० वाट बिजुली उत्पादन गर्ने हो । तर विद्युतगृह सञ्चालन गर्ने पानी हाल खानको लागि मात्र प्रयोगमा ल्याइएको छ । विद्युत सञ्चालन गरी सो पानी खाने काममा लगाउन सके ऐतिहासिक सम्पदा चन्द्रज्योती विद्युत हात्तीको देखाउने दातको रूपमा अवश्य रहने थिएन । गलत व्यवस्थापनको कारण माल भएर पनि हामी आफैँमा खुम्चिनु परेको छ । विद्युतगृहमाथि पानी संकलन गर्ने पोखरीमा शेषनारायण र सातमूलबाट पानी ल्याइएको छ । 

पोखरी हाताबाट काठमाडौं र ललितपुरका दृश्य मात्र होइन, पश्चिमदेखि उत्तरपूर्वसम्म हिमालका लस्कर पनि देखिन्छ । यस यात्रामा हामीलाई पाकेका रसिला सुन्तलाले स्वागत गरेको थियो । कतिपय स्रष्टा पदयात्रीले त बोटबाटै टिपेर पनि खाए । हामीले ५ केजी किनेर लगेर पानी पोखरीको चौरमा बसेर खाएका थियौँ । यसपटकको यात्रामा हामी खोकनाबाट गाउँको बाटो हुँदै बागमतीको झोलुङ्गेपुल भएर विद्युतगृह, पानीपोखरी हुँदै सुन्तलाबारी, सातमुहान अनि दक्षिणकाली रोडसम्म पदयात्रा गर्न भ्याएका थियौं ।  

०००   

भदौ महिनाको पदयात्रामा हामी काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै पदयात्रा गर्दै ओशो तपोवन गएका थियौं । तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभवको आधारमा भन्ने हो भने ध्यान र योगको लागि लोकप्रिय आध्यात्मिक केन्द्र लाग्यो । तपोवनमा साधकहरूले ओशोका ध्यान विधिहरूको अनुभव गर्नेदेखि गहिरोसँग साधनामा डुब्दै जीवन नै बिताउने गरेको पायौं । 

ओशो तपोवनको गेटबाट छिर्नेबितिकै रिसेप्सनको भवन हाम्रो सम्मुखमा थियो, जहाँ रातो बस्त्र लगाएका ओशो शिष्या माता मीनाले हसिलो मुहार अनि मृदु मुस्कानका साथ हाम्रो स्वागत गरेकी थिइन् । रिसेप्सनसँगै जोडिएको स्टलमा ओशोका साहित्यहरूको साथै अन्य पुस्तक र साधकहरूको लागि आवश्यक बन्दोबस्तीका सामानहरू बिक्रीका लागि राखिएको पायौं । मलगायत केही स्रष्टा पदयात्रीले केही थान पुस्तक किन्यौं । 

रिसेप्सनभन्दा तलतिर हरियो जंगलले भरिएको भिरालो भूभागमा तपोवनको मुख्य संरचनाहरू निर्माण गरिएको रहेछ । सो अवलोकन गर्न पायौं । रिसेप्सनबाट आश्रमको मुख्य भागतिर झर्नको लागि सिँढी बनाइएका छन् । बाटोको छेउँमा पढ्न मिल्ने गरी राखिएको जीवनका हरेक पक्षलाई छुने ओशोका अमृत वचनहरूको कोटेशन बोर्डहरूले आश्रमको महत्त्व बोध गराउँदै थियो । 

काठमाडौंको कला संस्कृति झल्काउने खालका तथा आधुनिक किसिमले निर्माण गरिएका साधकहरू बस्नको लागि बनाइएको भवन हेर्दै तल झरेपछि रजनीश ध्यान मन्दिरमा पुगेका थियौं । रजनीश ध्यान मन्दिर हिन्दूहरूका आराध्यदेव भगवान शंकरको शिवलिंग स्वरूप झल्काउने गरी बनाइएको ओशो तपोवनको मुख्य ध्यान कक्ष रहेछ । जसमा करिब तीन सय व्यक्ति एकैसाथ ध्यानमा बस्न सक्दा रहेछन् ।     

माता मीनाले हामीलाई आश्रम अवलोकन गराउनु भयो । त्यहाँ हामीले साहित्यिक कार्यक्रम गरेका थियौं, हामीमध्ये केहीले आफ्नो पुस्तक स्वामी आनन्द अरुणलाई उपहार दिएका थिए भने हामीले पनि उहाँले लेख्नुभएको पुस्तक प्राप्त गरेका थियौं । स्वामी आनन्द अरुणको प्रवचन श्रवण गरेर हामी मड्खु भञ्ज्याङको टावर अवलोकन गरी बालाजु माछा पोखरीमा आएर बस चढी आ–आफ्नो निवासस्थान फर्केका थियौं ।     

०००    

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगम त्रिवेणी जानको निम्ति नारायणगढ–बुटवल मार्गमा पर्ने बर्दघाटको त्रिवेणीचोकबाट अर्को बस फेरेर २५ किलोमिटर यात्रा तय गरेपछि गन्तब्यमा पुग्न सकिन्छ । 

त्रिवेणी बसपार्क नजिकै मनोरम शिवालय, घाट तथा केही देवालय छन् । यसको ठीक पारिपट्टि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम पुग्न डुंगाबाट नदी तरी करिब ४५ मिनेट पैदल यात्रा गर्नुपर्ने हुन्छ । 

वाल्मीकि आश्रमको वरिपरि भएका पौराणिक, पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा यानी लव कुशको जन्मस्थल, लव कुश पढ्ने ठाउँ, लव कुशले अयोध्याका राजा रामको अश्वमेधयज्ञको घोडा समाती बाँधेको ठाउँ, जनकपुत्री सीताको भान्साघर, सीता तथा लव कुशले खेल्ने पिङ, हवनकुण्ड, प्राचीन इनार आदि देख्दा हृदय उद्वेलित हुन्छ । 

पौराणिक साहित्यमा वर्णन गरिए झैं यहाँ कैयन बस्तु तथा स्थल फेला परेका छन्, जसले प्राचीनताको गहिराइमा डुबी यथार्थको मोती टिप्न पुकारा गरिरहेको अनुभव गर्न सकिन्छ । 

वाल्मीकि, सीता र लव कुशसँग सम्बन्धित विभिन्न स्थान तथा वस्तुले यसको प्राचीनता प्रामाणिकता र ऐतिहासिकताको सशक्त परिचय दिएको छ । हरिहर मन्दिर, सीता पाताल प्रवेश मन्दिरलगायत विभिन्न ठाउँमा छरिएर रहेका आकर्षक मूर्ति एवं वस्तु प्राचीनताको उत्कृष्ट नमूना हुन् । 

हरिहर मन्दिरमा सीता, लव, कुश, शिव, शेषनारायण, हनुमान, विष्णुका दश अवतार आदिको प्राचीन आकर्षक मूर्ति रहेका छन् । निकुञ्जको घना जंगल, वन्यजन्तुको डर हुने हुँदा समूहमा यात्रा गरेको राम्रो साथै डुंगावालालाई नै रिझाएर पथप्रदर्शक बनाइ वाल्मीकि आश्रमको भ्रमण गरिनु सजिलो, भरपर्दो र मनोहारी माध्यम हो । त्रिवेणी भ्रमणमा जाँदा छुटाउनै नहुने ठाउँ हो— गजेन्द्रमोक्ष दिव्यधाम । त्रिवेणी बसपार्कबाट यो दिव्यधाम पुग्न सकिन्छ । श्रीमद्भागवत पुराणमा वर्णित ग्राह (गोही) बाट गज (हात्ती) लाई नारायणले मुक्त गराएको यो ठाउँ नै गजेन्द्रमोक्ष दिव्यधाम हो ।         

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले निर्माण गराएको दिव्यधाममा मुक्तिनाथपीठ वेदविद्याश्रम, हातमा शालिग्राम लिएकी माताको मन्दिर, गौशाला, गजेन्द्रमोक्ष नारायण मन्दिर, यज्ञकुण्ड, श्रीसिद्धकलश, अतिथिगृह, स्नानघाट आदि छन् । त्रिवेणी पुगेर गजेन्द्रमोक्ष दिव्यधाम नपुगी फर्किएमा गहिरो रिक्तता जीवनभर रहनेमा शंका रहदैन । 

०००

२०७५ साल पुस ६ गते बिहान हामी यानी डिल्लीराज अर्याल, शीतल गिरी, एन.वी. जनकपुरी, लीलाराज दाहाल, डा. धनप्रसाद सुवेदी, बसन्त रिजाल, डा. भक्त राई, डिल्लीरमण सुवेदी, शशी थापा पण्डित, गोकुल पोखरेल, कुवेर नेपाल र विक्रम श्रेष्ठ बस चढेर साँगा भञ्ज्याङमा ओर्लिएका थियौं । 

त्यहाँबाट पदयात्रा गर्दै हामी डाँडामा बनेको नेपालको सबैभन्दा अग्लो महादेव अवलोकन गरेका थियौँ । अनी हामी साँगा गाउँमा लप्सीबाट बन्ने विभिन्न परिकारको घरेलु उद्योग अवलोकन गर्दै प्रहरी विद्यालयलाई दाहिने पारी भङ्गालमा रहेको लटरम्वेश्वर महादेव थानमा पुगेका थियौं । बाटोमा खड्का गाउँ भेट्टायौं घर वरपर वारीभरी सुन्तला पहेलपुरबनी फलिरहेको दृश्य राम्रो देखिएको थियो ।

खड्का गाउँको डाँडामा रहेको महादेवथान अवलोकनगरी दक्षिणतर्फको समथर घमाइलो ठाउँमा बसी भोजन गरेका थियौं । त्यसपछि नाला अमाल लगायतका स्थान हेर्दै नालाको प्रसिद्ध उग्रचण्डी भगवती मन्दिरमा पुग्यौं । नाला उग्रचण्डी भगवतीको बारेमा ऐतिहासिक नालाको पौराणिक कथन बुझ्ने काम गरेका थियौं । 

भगवती मन्दिरका पूजारी राजकुमार कर्माचार्य, कृष्णगोपाल कर्माचार्य, सिद्धिबहादुर कर्माचार्य र पूर्णगोपाल कर्माचार्य लगायत मन्दिरमा आएका भक्तजनको साथमा साहित्यिक कार्यक्रम सम्पन्न गरेका थियौँ । उग्रचण्डी भगवतीको भव्य खारु पूजा एक दिन अघी सम्पन्न भएको रहेछ । सोको प्रसाद गुठी घरमा बसालेर स्रष्टा पदयात्रीलाई ग्रहण गराई सम्मान दिइएको थियो ।

०००

काठमाडौंको सम्पदा लायकु (बसन्तपुर) अवलोकन गरी शहरभित्रै पनि शहरको कोलाहलबाट टाढा शान्त र शीतल अनुभूत गर्दै शहरको पश्चिम फेरो समातेर छेउँछेउँ स्वयम्भू डाँडा पुग्न सकिन्छ ।
         
वास्तुकला, काष्ठकलालगायत अनुपम कलाकारिता अवलोकन गर्दै लायकु (बसन्तपुर) बाट मरुहिटीतर्फ झर्नु पर्दछ । बसन्तपुरको डबली पहिले स्थानीय किसानहरूको धान सुकाउने ठाउँ थियो यहाँ श्वेत भैरव लगायत विभिन्न देवीदेवताका गुठीको जमीनबाट आएको धान यहाँ सुकाइन्थ्यो । 

काष्ठमण्डपको दक्षिणपश्चिम कुनामा रहेको चुच्चो परेको ढुङ्गा ‘थस्वः हिटी’ यानी माथि फर्केको धारो छ । पचली भैरवको खड्गजात्रा सक्न धारोको प्रतीक यो चुच्चे ढुङ्गा सांस्कृतिक दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ । उपत्यकामा भेटिने धेरैजसो ढुङ्गेधाराहरूमा मकरको मुखाकृति हुन्छ । तर बुरांख्य मुन्तिर एउटा अद्भुत ढुङ्गेधारो हेर्न पाइन्छ, राँगाको टाउकाको आकृति भएको । 

पदमार्गमा बन्जा हिटी (व्यापारी धारो) हेर्दै अघि बढ्दै जाँदा इँटा छापिएको गल्लीहरूमा एकअर्कालाई टेकोको आड लिएर बसेका भवनहरू भेटिन्छन् । प्राचीन बस्तीका गल्लीहरूमा हिँड्दा आनन्द आउँछ किनभने सम्पदा पदमार्गमा भेटिने जीर्ण घरका भित्ताहरू आकर्षक कलाकारिताले भरिएका नेवारी लोकसंस्कृति झल्किने कोरिएका लाखे, कुमारीलगायत विभिन्न देवीदेवताका चित्रहरूले पदमार्गको शोभा बढाएको छ । 

लायखः गल्ली, चसांद्व गल्ली, सुन्ता गल्ली, पाच्छे गल्ली जस्ता प्राचीन टोलहरू भएर पदयात्रा गर्नु पर्ने हुन्छ । पदमार्गमा संझ्या, तिकीझ्या, क्वछुझ्या भएका परम्परागत घरहरू सुन्दर त छन् नै काष्ठकलाको अवर्णनीय कलात्मकता पनि अवलोकन गर्न पाइन्छ । 

काठमाडौंको ऐतिहासिक वास्तुकला केही घरहरूको मूलढोकाको खापामा कुँदिएका, मेथहरूमा कुँदिएका कलात्मक बुट्टाहरूले बचाइराखेका घरहरू पदमार्गमा भेटिनु पदयात्राको सकारात्मक पक्ष हो । विभिन्न समुदाय र जातजातिका कुलदेवताहरूका ढुंगामा कुँदिएका विभिन्न आकृतिका आकर्षक मूर्तिहरू सडक छेउँमा, अलपत्र र अशोभनीय बेवारिस हुन पुगेको पाउँदा भने मन कटक्क दुख्छ ।

ताम्सीपाखाबाट तल झरेको पदमार्ग विष्णुमती तरेर भेलु महादेव, धिमेल्ह्वं हुँदै भुईद्यय पुग्दा दलु (डल्लु) को व्यस्त सडक छिचोल्नुपर्छ । संस्कृति र सम्पदाको धनी शहर काठमाडौंमा रहेका सम्पदा अवलोकन गरेर, अनुभूति बटुलेर स्वयंभूको डाँडामा पुगेर ध्यान मग्न भै शहरको सुन्दर र कुरुप दुवै पक्षबारे सामूहिक छलफल गर्न सकिन्छ ।          

०००

एकपटक पुग्नै पर्ने विश्वास गरिएको पवित्र धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइकुण्डमा प्रत्येक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमाका दिनसम्म मेला लाग्ने गर्छ । पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीचको लडाइँमा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी भगवान शिवले विषको डाह शान्त गर्न हिमालय पर्वतको भित्तामा त्रिशुल प्रहार गरी गङ्गाजल उत्पत्ति गराई त्यही पानी पिउनु भएको र कुण्डमा डुबेर बस्नु भएको धार्मिक विश्वास छ । 

त्यही पानीबाट गोसाइकुण्ड बनेको भन्ने मान्यता रहेको छ । कुण्डमा स्नान गरी भगवान गोसाइ बाबा शिवको दर्शन गर्नाले जीवनभर भए गरेका पापबाट मुक्ति पाइने, पितृमोक्ष हुने, चिताएका सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । काठमाडौंको बालाजुबाट नुवाकोट हुँदै रसुवाको कालिकास्थान, धुन्चेसम्म सवारी साधनमा पुग्न सकिन्छ । धुन्चेबाट पैदल यात्रा गरी चन्दनबारी, चौलाङपाटी, लौरीविनायकका रमणीय दृश्यावलोकन गर्दै दुई दिनमा गोसाइकुण्ड पुग्न सकिन्छ ।         

समुद्री सतहदेखि ४३८० मिटरको उचाइमा रहेको विश्व सम्पदा तथा सिमसार क्षेत्रमा सूचीकृत गोसाइकुण्ड राष्ट्रिय निकुञ्जभित्र पर्दछ । ऐतिहासिक धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइकुण्डलाई प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम सिर्जना मानिन्छ । 

यस मार्गमा घट्टेखोला, देउराली, चन्दनबारीको सिङ्गोम्पाको बुद्धका विशाल मूर्ति, दिम्सा, चोलाङपाटी, लौरीविनायकजस्ता मनोरम दृश्य देखिने स्थानहरू पर्छन् । भैरव, सरस्वती, सूर्य, रक्त आभालगायत १०८ कुण्ड रहेको रसुवाको गोसाईकुण्ड त्रिशूली हिमनदीको उद्गम विन्दु पनि हो ।    

०००

वेद व्यास जन्मिएको व्यास गुफा अवलोकन गर्न जान काठमाडौंबाट वस–माइक्रो चढेर पाँच घण्टाको यात्रा गरी दमौलीमा पुग्न सकिन्छ । दमौली बजारमा वेद व्यासको ५ फिट ४ इन्च अग्लो मूर्ति स्थापना गरिएको छ, जो कलाकार पृथ्वीनारायण श्रेष्ठले बनाएका हुन् । दमौली बजारबाट जम्मा पाँच सय मिटर दूरीमा मादी किनारमा अवस्थित वेदव्यास जन्मिएको गुफा छ । 

स्कन्द पुराणको हिमवत खण्डमा मादी र सेती नदीको संगम नजिकै महर्षि पराशर र मत्स्यगन्धाबाट वेदव्यासको जन्म भएको वर्णन छ । व्यास गुफा अनौठो छ, त्यहाँ दुई तला छन्, भुइँतलालाई ज्ञान–गुफा र माथिल्लो तलालाई ध्यान गुफा भनिन्छ । स्थानीयको विश्वास अनुसार भुइँतलामा व्यास चेलाहरूलाई दीक्षित गर्थे भने ध्यान गुफामा आफू तपस्यामा लीन हुन्थे । 
    
सधै खुलारहने गुफा नजिकै रहेको शिव पाञ्चायन मन्दिरमा २८ वटै व्यासका साना मूर्ति सजाइएको छ । नदी पारिपट्टि आश्रममा पराशर, सत्यवती, बोटे, व्यास र गणेशका मूर्ति छन् । साथै पराशर ऋषि बसेर तपस्या गरेको ढुङ्गा पनि छ । छाब्दी वाराही मन्दिरबाट सात सय मिटर पूर्व रहेको छाङगा डि झर्ना पनि अवलोकन गर्न सकिन्छ । 

व्यास गुफामा निःशुल्क खाना र बास उपलब्ध छ । त्यहाँ दामोदर बाबाले गुरुकुल पाठशाला खोलेर विद्यार्थी पढाइरहेका छन् । दमौली, तनहुँसुर र बन्दीपुर घुम्ने गरी तीन रातको यात्रामा जाँदा धेरै कुरा गहरिएर थाहा पाउन सकिन्छ । त्यसो त व्यास गुफा, पराशर आश्रम र छाब्दी वाराही त एकै दिनमा घुम्न सकिन्छ ।   

००० 

जुगल हिमालको काखमा रहेको पाँचपोखरीमा हरेक वर्ष जनैपूर्णिमाका दिन एक राते मेला लाग्ने गर्छ । जात्रामा आएका स्थानीय तामाङ युवक–युवतीहरू आफैँ लयमा नाचिरहेको रमणीय लाग्दछ । पाँचपोखरी मेलाको रौनक बाटैभरि नाच्दै र उफ्रिँदै हिँडेका धामी, झाँक्री नै हो, जसले मेलालाई थप आकर्षक बनाउने गर्छन् । 

धार्मिक र साहसिक दुवैखाले पर्यटकको आकर्षक गन्तव्य हो पाँचपोखरी उक्लिने बेलाको अप्ठेरो उकालो । यसलाई सबैले जीवनमा सम्झिने छन् । छोटो तर कठिन त्यही उकालोमा लेक लागेर कतिपय पर्यटक बीचैबाट फर्किनबाध्य हुन्छन् । लामटाङ राष्ट्रिय निकुञ्जमा पर्ने पाँचपोखरी सफा सुन्दर छ ।         

०००

मुस्ताङको यात्राको क्रममा बास बस्ने उपयुक्त थलो हो बेनीबजार । बेनीबजारबाट मुस्ताङको मुक्तिनाथ जाने बाटो सहज भने छैन । कहालीलाग्दो रूपमा गड्गडाइरहेकी कालीगण्डकीको तीरैतीर भएर छ । मुक्तिनाथ जाँदा बाटोमा पर्ने भुरुङमा रहेको तातोपानीको कुण्डभन्दा पनि सिँघा तातोपानी निकै प्रसिद्ध रहेछ । 

यस अर्थमा म्याग्दी तातोपानीको कुण्डमा धनी छ । अग्लो पहाडमा हरियाली र रुखबिरुवाहरू, पहाडलाई चिरेर सेता झरनाहरू झरिरहेको लोभलाग्दा लाग्दछन् । बाटोमै पर्छ म्याग्दी जिल्लामा रहेको संसारको प्रसिद्ध ‘रुप्से झरना’ ।

हो यही झरनाको छेउँमा छ कालीगण्डकीमा विश्वकै सबभन्दा गहिरो खोच । अजङ्गको पहाडलाई काटेर गाडी मात्र बल्लतल्ल छिर्ने बनाइएको मुस्ताङ जाने सडक साँच्चै डरलाग्दो लाग्दछ । म्याग्दी छाडेर मुस्ताङ प्रवेश गरेपछि हिमालका चुचुराहरूले पर्यटकलाई दायाँबायाँबाट स्वागत गर्दछ । 

थाकखोलाको मीठो सङ्गीत सुन्दै उकालो उक्लिनुपर्छ, बाटोमा दायाँबाया स्याउका हरिया बगैंचा भेटिन्छन् । मुस्ताङको परिचय बोकेको मार्फा गाउँ गएर हावाको तालमा स्याउका बोटहरूको नाच हेरिएन भने मुस्ताङ गएको अधुरो अपुरो हुन्छ ।     

जोमसोम नजिकै रहेको पानको पातको आकारको दुम्बाताल साँच्चै सुन्दर छ । मुस्ताङमा हावा कतिको चल्छ भनेर थाहा पाउन पनि एकपटक पुग्नै पर्ने हुन्छ । मुक्तिनाथको मन्दिरमा पुग्न सकिन्छ । प्यागोडा शैलीमा बनाइएको मन्दिर सुन्दर छ । मन्दिरको पछाडि खललल पानी झर्दै गरेका १०८ वटा कलात्मक धाराहरू छन्— यस यात्रामा मन्दिर परिसरमा बसेर लहरेपीपलको जङ्गल, खोलाको छङछङ आवाजभित्र हराउँदै रमाउन सकिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ