काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बेपत्ता रहेका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र परिवारका अन्य सदस्यको अवस्था हालसम्म अज्ञात रहेकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वअध्यक्ष रेग्मीको निजी सचिवालयका तर्फका रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई घिमिरेको खोजी र उद्धारमा अत्याधुनिक उपकरणको प्रयोग गर्न आग्रह गरेका छन् ।
रेग्मीले पूर्व गृहमन्त्री घिमिरे तथा उनका भाइहरुको अवस्था हालसम्म अज्ञात हुनाले आफू अत्यन्त दुःखित भएको जनाउँदै उनीहरुको स्थिति पत्ता लगाई यथाशक्य छिटो सार्वजानिक गर्न विशेष आग्रह गरे ।
मुक्तिनाथबाट फर्कने क्रममा पूर्वपरराष्ट्रमन्त्री घिमिरेसहित उनका भाइहरु चढेको गाडी असोज ९ गते चितवनको दारेचोक गाविसको घोप्टेभिरमा दुर्घटनामा परेको थियो । हालसम्म घिमिरेसहित उनका भाइहरुको अवस्था अज्ञात नै छ । रासस