arrow

पूर्व गृहमन्त्रीको खोजी कार्यमा कुनै कसर बाँकी रहँदैन : गृहमन्त्री निधि

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
nidhi.jpg.jpeg
चितवन। गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजी कार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । गएको आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न यहाँ आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुख सामु सो कुरा बताएका हुन् ।
 
नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बेपत्ता भएका व्यक्तिको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र तथा प्रहरी तथा नेपाली सेनाले समन्वय गरेर काम गरिरहेको र घोप्टेभिरबाट भारतीय सीमा क्षेत्रसम्म ५६० सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।  पानीभित्र हेर्न मिल्ने उपकरण प्रयोग भएको, मेटल डिटेक्टरको प्रयोग गरी बेपत्ता सवारी साधान खोजी गरिएको, नेपाली सेना र सशस्त्रको तीनवटा डुङ्गा र र्‍याफ्टिङ प्रयोग भएको छ भन्दै मन्त्री निधिले रातको समयमा समेत खोजी कार्य भइरहेको बताए ।
 
नेपालका दक्ष गोताखोर खोजी कार्यमा जुटेको, सीमा पारी भारतीय क्षेत्रमा समेत खोजी कार्य गर्न नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा निकायले समन्वय गरी काम थालेको छ भन्दै मन्त्री निधिले आवश्यक परेमा जुनदेशको पनि गोताखोर मगाउन सरकार तयार तर नेपाली गोताखोर दक्ष भएकाले त्यसतर्फ काम अघि नबढाएको बताए ।  घटनास्थलमा अन्य दुर्घटनासमेत भएकाले सो क्षेत्रलाई दुर्घटनामुक्त बनाइनेमा जोड दिंदै निधिले घिमिरेको प्रशासनिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताए ।
 
सो घटनाका घाइतेलाई आफैँले हेलिकप्टरबाट काठमाडाँ लगेर नेपाल प्रहरीको अस्पतालमा उपचार गराउने उल्लेख गर्दै मन्त्री निधिले नजिकिँदो चाडवाडमा सवारी दुर्घटना हुन नदिन मार्ग इजाजत नलिएका सवारी साधन चल्न नदिने र क्षमता भन्दा बढी यात्रु बोक्नेलाई कारबाही गरिने बताए ।
 
गृहमन्त्री निधिसंगै गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित दुर्घटनास्थल निरीक्षणका लागि पुगेका थिए ।
 
 निधिसँगै भरतपुरमा उपचाररत सो दुर्घटनाका घाइते चालक प्रहरी हबल्दार विष्णु राईलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । मुक्तिनाथ गएर फर्कदै गर्दा पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी गत आइतबार त्रिशूली नदीमा उनको आमासहित तीन जनाको मृत्यु भएको थियो भने घिमिरेसहित तीन दाजुभाई बेपत्ता छन् ।रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ