arrow

नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
chandra-dhakal-gokhara-fncci.jpg

गोरखा। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन्।

गोरखा उद्योग वाणिज्य सङ्घको ४७औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनीतिक भूमिका रहेका दुई ठुला आयोजनाहरू गोरखकाली रबर उद्योग पुनः सञ्चालन र बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्ने बताएका हुन्।

“नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग सञ्चालन गर्न मैले पनि पहल गर्नेछु। यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,” उनले भने,” यसका साथै बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आग्रह गर्न चाहन्छु।”

उनले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरूसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए।

कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पूर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

नेपाल एकीकरण गोरखाबाट सुरु भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा विकास गर्नुपर्छ, उनले भने।

“अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै हुनुहुन्छ। महत्त्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधान मन्त्री तथा भौतिक विकास मन्त्री हुनुहुन । तपाई हामी सबै पहल गरौँ। नेपाल एकीकरणको सुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक समृद्धि र विकासको अभियान पनि यहीबाट सुरु गरौँ,” उनले भने।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरू देखिएको बताउँदै उनले व्यवसायीहरूलाई संयमित भएर व्यवसाय गर्न आग्रह गरेका छन्।

“कोरोना महामारी सँगै मुलुकको अर्थतन्त्रमा धेरै समस्याहरू देखिएका थिए। हामी महासङ्घको नेतृत्व बैङ्कको ब्याजदर लगायत व्यवसायीहरूका समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क तथा विभिन्न पक्षसँग वार्ता र छलफल गरिरहेका छौँ। त्यसकै फलस्वरूप आंशिक रूपमा भए पनि व्यवसायीहरूका मागहरू सम्बोधन भएका छन्। हामी महासङ्घका तर्फबाट व्यवसायीका सबै माग सम्बोधन नभएसम्म निरन्तर पैरवी गरिरहनेछौँ,” उनले भने।

उनले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरू सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए।

उनले बैङ्कको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरूले निर्धारण गर्ने हुँदा कुनै एक बैङ्कको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए।

उनले महासङ्घको आगामी ५७औँ अधिवेशनमा विभिन्न पदमा प्रत्याशी साथीहरूलाई सस्तो लोकप्रियताका लागि गैर जिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ