हुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले हिन्दूको चाडपर्वका लागि खाद्यान्न नभएकाले आपूर्तिमन्त्रीलाई दसैं तिहारमा सर्वसाधारण जनता, कर्मचारी, व्यापारीलाई खाद्यान्न बिक्री–वितरण गर्नका लागि कोटाको चामल माग गर्ने निर्णय गरेको छ ।
हवाईजहाजबाट आउने खाद्यान्न हप्तामा चार फ्लाइट मात्र आएपछि नेपालगन्ज तथा सुर्खेत विमानस्थलमा नै थन्किएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नैनसिंह रावतले दसँैका लागि आपूर्तिमन्त्रीसँग अनुरोध गरिसकेको जानकारी गराए ।
उक्त खाद्यान्न तत्काल तीन हजार क्विन्टल चामल आएपछि दसै–तिहार मनाउन सजिलो हुने प्रस्ट पारे ।
यस वर्ष असारदेखि कुनै पनि कर्मचारी, व्यापारी, जनताले खाद्यान्नसमेत नपाउँदा बजारमा २५ केजीको रु चार हजार तिर्न बाध्य भएका स्थानीय बासिन्दा बताउँछन् ।
दसैं–तिहारका लागि प्रजिअ डा कृष्णबहादुर घिमिरेले अञ्चल, क्षेत्र, विभाग, मन्त्रालयमा दसैं – तिहारका लागि सर्वसाधारण जनतालाई खाद्यान्न बिक्री–वितरणका लागि पत्राचार गरी सकिएको बताउँदै गत वर्ष पनि दसैं–तिहारमा सबैलाई पाँचदेखि १० केजीसम्म वितरण भएको जानकारी दिए । रासस