arrow

असिना पानीले बाली नष्ट, किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
asina.jpg

म्याग्दी । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्याएको किसानले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताए ।

हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाको भनाइ छ । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ ।

भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौंला लगायतका तरकारी र बालीका बिरुवामासमेत क्षति पुगेको चिनाखेतका किसान श्याम पुनले बताए । 

यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । 

गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौँ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । अलिअलि भएको बालीसमेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ