arrow

बुद्ध एयरले यात्रु छाडेकोबारे गर्‍यो यसरी बचाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
buddha-airlines.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बुद्ध एयरले यात्रु छाडेर गएको विषयलाई लिएर आफ्नो बचाउ गरेको छ । 

मंगलबार बेलुकी काठमाडौंबाट भद्रपुरको उडान गरेको उडान संख्या ९५९ रहेको बुद्ध एयरले यात्रुलाई छाडेर गएको र यात्रुलाई उल्टै दुर्व्यवहार गरेको विषयलाई हाम्राकुराले समाचार बनाएपछि त्यसको सम्बोधन गर्दै उसले बचाउ गरेको हो ।

बुधबार बिहान उसले लेखेको छ, ‘हिजो काठमाडौंबाट भद्रपुरको उडान संख्या ९५९ साँझ ७ः२४ बजे उडान भरेको हाम्रो रेकर्ड रहेको छ । टिकटमा उल्लेख समयभन्दा यात्रु निकै ढिलो आएका र हामीले उहाँलाई उडानका लागि प्रयासरत पनि गरेका थियौं । जहाजको ढोका ७ बजेर १२ मिनेटमा बन्द भएको थियो ।’

हाम्राकुराले ‘यात्रु छाडेर बुद्ध एयर समयअघि नै उड्यो, म्यानेजरले खोसे बोर्डिङ पास, प्रहरीले उल्टै दियो साथ’ भनेर समाचार बनाएको थियो । 

यस्तो थियो समाचार– 

‘यात्रु छाडेर बुद्ध एयर समयअघि नै उड्यो, म्यानेजरले खोसे बोर्डिङ पास, प्रहरीले उल्टै दियो साथ’

काठमाडौं । प्रायः ढिला उडेर हैरान पार्ने बुद्ध एयरले मंगलबार बेलुकी भने समयअघि नै उडेर यात्रुलाई छाडेको छ । काठमाडौंबाट भद्रपुर जाने बुद्ध एयरले यात्रुलाई छाडेर समय अगाडि नै उडेको हो । 

बेलुकी ७ः२० बजेको समयमा उड्नु पर्ने बुद्ध एयर ७ः१३ मै उडिसकेको थियो । तर बुद्ध एयरका कर्मचारीहरुले बोर्डिङ पाससमेत च्यातेर बसमा राखेर उड्ने स्थलमा ७ः१३ बजे पुर्याइसकेका थिए । त्यतिन्जेल जहाज उडिसकेको थियो । 

तर त्यसपछिको सात मिनेटको समयमा भने बुद्ध एयरका बोर्डिङ म्यानेजर र विमानस्थल प्रहरीले देखाएको हर्कत भने दुःखद छ । 

यसका पीडित हुन् व्यवसायी संजीव घिमिरे । उनी काठमाडौंबाट भद्रपुर जाँदै थिए । कतारबाट आएका उनी मंगलबार राति नै घर पुग्नुपर्ने थियो । तर उनी उड्न पाएनन् । बदलामा बोर्डिङ म्यानेजर र विमानस्थल प्रहरी प्रतिनिधिको दुर्व्यवहारको शिकार भए ।

उनले हाम्राकुरासँग भने, ‘मेरो ७ः२० को फ्लाइट थियो । ७ बजे चेकिङ काउन्टरमा गएँ । चेकिङ काउन्टरबाट बोर्डिङ पास दियो । लगेज राखेर लगेजको ट्याग पनि दियो । चेकिङ पूरा गरेर भित्र गएँ । ५ नम्बर काउन्टरबाट छिरेँ । बोर्डिङ पास पनि च्यात्यो । बसमा पुर्यायो । फ्लाउट उड्न सात मिनेट बाँकी थियो । तर फ्लाइट उड्यो भन्दियो ।’

उनले बोडिङ म्यानेजरलाई ‘तपाईहरुको पनि त कहिले १०, १५ देखि एक घण्टा ढिला हुन्छ कुनै कम्प्लेन गर्दैनौं । म त फ्लाइटभन्दा सात मिनेट छिटो आएको छु , बोर्डिङ पास दिनु भएको छ, तपाईहरुले यसो गर्नु त मिल्दैनथ्यो नि’ भनेर भन्दा बोर्डिङ म्यानेजरले ‘आज हाम्रो छिटो उड्यो तपाई खुशी हुनुहोस् न’ भनेर जवाफ दिएको बताए । 

यही कुरा उनले विमानस्थलको प्रहरीलाई भन्दासमेत (रमेश दुलालले) ‘हैन उहाँहरुले सकभर उडाउन कोसिस गर्ने हो सर उहाँहरुले बोर्डिङ पास दिनु र च्यात्नु उहाँहरुको गल्ति हैन उहाँहरुको कोसिस पूरा भएन अब के गर्नुहुन्छ त तपाई जानुस्’ भनेको सन्जीवले बताए । 

उनले बोर्डिङ म्यानेजरलाई अब आफू मिडियामा जाने बताउँदा ती म्यानेजरले ‘तपाई जहाँसुकै जानुस् मलाई मतलब भएन त्यो लगेजको ट्याग चाहिँ दिएर जानुस्’ भनेर मागेको बताए । 

तर आफूले दिन मानेनन् । उक्त क्रममा म्यानेजरले पाससमेत खोस्ने प्रयास गरे । 

त्यसो त प्रहरीलेसमेत पनि बोर्डिङ पास फिर्ता दिन भने । सञ्जीवले मिडियालाई दिने भन्दै बोर्डिङ पास दिन मानेनन् । 

मंगलबार राति नै परिवारलाई भेट्ने आशा राखेर विमानस्थल पुगेका सञ्जीव भने निरीह भएर फर्किनु परेको छ । 

अब प्रश्न बुद्ध एयरलाई ? 
पक्कै पनि बुद्ध एयरले ढिला गरी पुगेका यात्रुलाई लैजान खोजेकै थियो । त्यसैले नै उसले बोर्डिङ पास दियो, लगेज लियो, बोर्डिङ पास रुजु गर्यो र ती छुटेका यात्रुलाई बुद्ध एयरकै गाडीमा बुद्ध एयर उड्ने स्थलसम्म लग्यो । 

तर उनी त्यहाँ पुग्दा ७ः१३ बजेको थियो भनी यात्रुले दाबी गरेका छन् । उनको दाबीलाई पनि अहिले नहेरौं । 

यदि विमानले यात्रु लैजाने थिएन भने उनलाई किन उनलाई विमान भएको स्थलसम्म लगियो ? अर्को कुरा यात्रु छुटेका छन् किन सम्पर्क गरिएन ? वा सम्पर्क गरियो र जानाजान छोडियो ? यी प्रश्नको उत्तर भने बुद्ध एयरले दिन सकेको छैन । यसको जवाफ यात्रुले पाउनु पर्छ । 

पटक पटक यात्रुले यही कुरा बोर्डिङ म्यानेजरलाई दोहोर्याएको बताएको जनाएका छन् । बोर्डिङ म्यानेजरले यसलाई हलुका पाराले लिनु, सधै ढिलो गर्दथ्यो आज छिटो गयो खुशी हुनुस् न भनेर पीडामा थप पीडा दिनु र बोर्डिङ पास फिर्ता माग्नुले पनि गलत भएको स्पष्टै हुन्छ ।

यसलाई छानबिनको दायरामा ल्याएर बुद्ध एयरले गल्ती सच्याउने प्रयास गर्ने हो भने यात्रुको पीडाको उचित सम्मान हुने थियो । 

आफ्नो गरिमा बढाओस्

अर्कातर्फ आन्तरिक उडानतर्फ बुद्ध एयरले गत हप्ता मात्रै ‘बेस्ट एयरलाइन्स अफ द इयर’ को अवार्ड पाएको थियो । 

ग्लोबल एक्रिडिएसन काउन्सिलले आन्तरिकतर्फ ९ वायुसेवालाई प्रतिस्पर्धा गराएकामा बुद्ध उत्कृष्ट ठहरिएको थियो ।  

अनलाइनमार्फत भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन र निर्णयक मण्डलको निर्णयको आधारमा अवार्ड पाएको जनाइएको छ ।  

त्यस्तै बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेतले नेपाली वायुसेवा कम्पनीमा सीईओ अफ द इयरको अवार्डसमेत प्राप्त गरेका थिए । 

यी दुई वटा उत्कृष्ट अवार्डले नै उसको विश्वसनीयता झल्किन्छ । यी अवार्डको गरिमा राख्नका लागि पनि त्यसको एक हप्तामै भएको यो घटनालाई छायाँमा पार्नु भन्दा सत्यतथ्य छानबिन गरी आफ्नो एयरलाइन्सको गरिमा बढाउँदा अझ राम्रो हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ