arrow

कसले लगाउला आईजीपीको फूली ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
igp-aigp-2079.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि नहट्ने संकेत गरेसँगै नेपाल प्रहरीमा पाँच जना एआईजीहरु आईजीपीका लागि प्रतिस्पर्धी रहेका छन् । एआईजीको फुली लगाएको तीन दिनमै उनीहरुमध्ये एक जना आईजीपी हुने निश्चित प्रायः देखिएको छ । 

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन केही राजनीतिक दलहरु सहमत भए पनि प्रधानमन्त्री प्रचण्ड असहमत देखिएका छन् । जसले गर्दा एआईजीमा बढुवा भएलगत्तै पाँचै एआईजीहरुले आफ्नो तर्फबाट पहलकदमी थालेका हुन् । 

नेपाल प्रहरीमा ३० औं आईजीपीको दाबी गर्ने पाँच जना एआईजीहरु पछिल्लो कार्यक्षमता सबै अब्बल देखिएका छन् । खास ठूलो विवादमा नआएका र पाँचै जना आफ्नो कार्य क्षेत्रमा अब्बल नै रहेका छन् । 

विगतमा जस्तो गम्भीर विवादमा नपरेका डीआईजीहरु एआईजी सिफारिस मात्रै भएनन् उनीहरुले बुधबार एआईजीको दर्ज्यानी चिन्हसमेत लगाए । दर्ज्यानी चिन्ह लगाएपछि प्रचण्डसँग भेट गरेर आफूहरु सबै आईजीपी हुन सक्षम रहेको बताएका थिए ।  

प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान हेरफेर नहुने करिब निश्चित जस्तै भएको अवस्थामा ११ चैतबाट उनीहरुमध्ये एक जनाले प्रहरी संगठनको नेतृत्व  सम्हाल्ने छन् ।

पहिलो नम्बरमा बढुवा भएकाले बसन्तबहादुर कुँवर आईजीपीका बलिया दाबेदार मानिन्छन् । यसअघि डीआईजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नुले उनलाई सहज भएको छ । 

उनी पछिल्लो पटक मधेस प्रदेशमा खटिएका थिए । डीआईजीमा बढुवा हुनुअघि अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवर एआईजी बढुवामा पनि १ नम्बरमै रहन सफल भए । कुँवर व्यवसायिक प्रहरी अधिकृत मानिन्छन् । 

दोस्रो नम्बरमा बढुवा भएका टेकप्रसाद राई पनि इमानदार छवि भएका अधिकृत हुन् । लामो समय विशेष ब्युरोमा बसेर सशस्त्र हिंसा तथा संगठित अपराधको नियन्त्रणमा देशका लागि महत्वपूर्ण भूमिका निभाएका उनी कार्यक्षेत्रमा सबल प्रहरी अधिकारी हुन् । उनले लामो समय सादा पोशाकमा रहेर काम गरे । पछिल्लो पटक राईले लुम्बिनी प्रदेशको प्रमुख भएर काम गरे । 

तेस्रो नम्बरका दीपक थापा अर्का बलिया दाबेदार हुन् । उनी प्रहरीभित्र व्यवसायिक अधिकृत मानिए पनि चितवनमा एसपी हुँदा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारसँग निकट सम्बन्ध रहेकाले उनका लागि अहिले सहज अवस्था बनेको छ । लामो समय प्रबन्ध शाखामा काम गरेका थापालाई संगठनभित्रको आर्थिक कारोबारबारे जानकार मानिन्छ । पछिल्लो पटक उनी बागमती प्रदेशको प्रमुख थिए । 

चौथो नम्बरका श्यामलाल ज्ञवाली पनि अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा फसेका छैनन् । उनका दाजु ठाकुर ज्ञवाली आईजीपी भएर निस्किएका थिए । 

पछिल्लो पटक उनी कोशी प्रदेशमा कार्यरत थिए । योजना र अन्वेषणमा काम गरेका ज्ञवालीलाई प्रशासनिक काममा दक्ष मानिन्छ । तर एआईजीम नियुक्ति भएकै दिन उनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रमार्फत गृह मन्त्रालयले उमेर विवादको विषयमा छानबिन शुरु गरेको छ ।
 
पहिलो पटक महिलालाई आईजीपी बनाउने अवसर भएकै कारण पाँचौँ नम्बरमा बढुवा सिफारिस भएकी किरण बज्राचार्य आईजीपी पदकी एक प्रमुख हकदार हुन । 

साथै यस पटक आईजीपी नियुक्तिमा इतिहास कायम गर्ने अवसर सरकारलाई रहेको छ । यसअघि उत्कृष्ट पुरस्कारहरू पाएकी उनी क्षमतावान महिला अधिकृतका रूपमा चिनिन्छिन् । 

उनी प्रहरीमा इतिहास रच्ने दाउमा छिन् । सरकारले यसपटक उनलाई आईजीपीमा नियुक्ति गरेमा नेपाल प्रहरीकै इतिहासमा पहिलो महिला प्रहरी प्रमुख हुने अवसर प्राप्त गर्ने छिन् । 

हालका आईजीपी धिरजप्रताप सिंहसँगै उनका ब्याचका एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी शुक्रबारदेखि अवकाशमा जाने छन् । 

उनीहरुसँगै डीआईजीहरु नलप्रसाद उपाध्याय र महसुद आलम खाँ पनि विदा हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ