arrow

प्रहरी महानिरीक्षकमा बसन्त कुँवर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
basanta-kunwar-dhiraj-pratap.jpeg

काठमाडौं । बसन्तबहादुर कुँवरले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । 

पाँच जना एआईजीमध्ये पहिलो स्थानमा रहेर बढुवा भएका कुँवरलाई नै सरकारले आईजीपी बनाउने निर्णय गरेको हो । दुई दिनअघि मात्रै पाँच जना एआईजीले फूली लगाएकामा कुँवरले तीन दिनको अवधिमा दोस्रो फूली लगाउन पाउने भएका हुन् । 

हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । 

बुधबार एआईजीको फूली शुक्रबार आईजीपी

यसअघि मन्त्रिपरिषद्को गत चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू बुधबार मात्रै दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका थिए । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका थिए । 

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्येबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिएका थिए । 

तर भाग्यमानी कुँवर एउटा फूली लगाएको दुई दिनपछि नै अर्को फूली पाउने महाभाग्यमानी प्रहरी अधिकृत ठहरिएका छन् । प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति नियमित भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताएका थिए । 

प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गरेका थिए । 

 कुँवरसँगै बुधबार टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले एआईजीको फूली लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ