arrow

चौधरीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ५३ सांसदको हस्ताक्षर 

logo
नारायण वली,
प्रकाशित २०७९ चैत १२ आइतबार
lumbini-province-government-claim.jpg

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाइएको छ । 

आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो । कांगेसका २७, नेकपा माओवादी केन्द्रका १०, जनमत पार्टीका चार तथा जसपा, लोसपा र नागरिक उन्मुक्तिका तीन–तीनसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक–एकजनाको हस्ताक्षर बुझाइएको हो ।

यसअघि, लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका २५ प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।

लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसदहरु छन् । प्रदेश प्रमुख शेरचन समक्ष बुझाइएको बहुमत सांसदहरुले हस्ताक्षरसहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गर्दै गठबन्धनमा आवद्ध दलहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि मागसमेत गरेका छन् ।

यसअघि पनि लुम्बिनीमा प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन गरिएको थियो ।

यता पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले पछिल्लो राजनीतिक घटनाक्रमले देशमा स्थिर सरकार चल्न नसकेको भन्दै विकास निर्माण र समृद्धि स्थापित गर्न नसकिएको बताउँदै बहुमत सांसदहरुको माग दाबीलाई आफूले बुझेको भए पनि वर्तमान मुख्यमन्त्रीले संविधान अनुसार १ देखि २ महिनासम्म लम्ब्याउन सक्ने संविधानमा स्पष्ट लेखिएको जनाउँदै त्यसपछिको विकल्प राजीनामा दिनुभन्दा अरु नभएको बताए । 

उनले भने, ‘मलाई जहाँसम्म लाग्छ यो पत्र आइसकेपछि अब प्रदेशको प्रमुख भएकाले पक्कै पनि मुख्यमन्त्रीज्यूले मलाई सम्पर्क गर्नुहुनेछ । हेरौं उहाँबाट के कस्तो खवर आउँछ । आज भोलि नै फेरबदल हुन सक्ने वा नसक्ने भन्नेमा अहिले नै भन्न नसकिने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ