अत्यधिक शुल्क वृद्धिको गुनासोपछि मातृभूमिमा अनुगमन
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
969
Shares
मध्यपुर । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा लोकन्थलीमा रहेको मातृभूमि स्कूलमा अचाक्ली शुल्क वृद्धि गरेकोबारे पत्रपत्रिकामा आएको गुनासोको आधारमा अनुगमन गर्यो ।
अनुगमनमा अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ भर्ना पचास हजार, डिपोजित पचास हजार, पूर्व प्राथमिकको मासिक शुल्क पन्ध्र हजार, प्राथमिक स्कुलमा बीस हजार, नीमावीमा एक्काइस हजार र मावीमा बाइस हजार र यातायात तीन हजार रुपैयाँ, वार्षिक शुल्क पच्चीस हजार शुल्क निर्धारण गर्दा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेको गुनासो आएको बताए ।
उनले विद्यालयले शुल्क निर्धारण गर्दा अभिभावक भेला राखी, व्यवस्थापन समितिले निर्णय गरी नगरशिक्षामा शुल्क प्रस्ताव पेश गरी शुल्क निर्धारण समितिले निर्णयपछि स्वीकृति लिई मात्र शुल्क उठाउनुपर्नेमा स्वीकृति बिना नै बढाएकोले नियम कानून अनुरसार नभएकोले र कानूनलाई उल्लंघन गरे विद्यालयालई अप्ठ्यारो हुने बताए ।
उनले विद्यालयले अभिभावकहरुलाई चित्त बुझाएर अभिभावकले तिर्न सक्ने क्षमतालाई मध्य नजर गरी र मुद्रास्फिति अनुसार केही मात्र शुल्क वृद्धि गर्नुपर्नेमा मनपरी शुल्क वृद्धि गरी शिक्षालाई व्यापारीकरण गर्दा भोलि विद्यालय नै बन्द हुनसक्ने भएकोले ज्ञानको मन्दिरलाई तुहाउन नहुने बताए ।
उनले प्रतिस्पर्धाको समयमा सरकारी विद्यालयहरु राम्रो हुँदै गएको अवस्थामा संस्थागत विद्यलायले मनपरि शुल्क वृद्धि गरे विद्यालयको भविष्य समाप्त हुने बाटोतर्फ दोहोरिन सक्नेतर्फ सचेत पारे ।
विद्यालयकी प्रिन्सिपल प्रकृति केसी पन्तले भर्ना शुल्क, डिपोजित, मासिक शुल्क, यातायात र वार्षिक शुल्कमा पाँच पाँच हजारका दरले वृद्धि गरेको स्वीकार गरी पूर्वाधार र सुविधा अनुसार अभिभावकहरुको सरसल्लाहमा शुल्क वर्द्धि गरेको र पूर्वाधार तयार नगरे विद्यार्थीहरू काठमाडौंको महंगो विद्यालयमा लानेसम्मको कुरा आएपछि पूर्वाधारसंगै शुल्क वृद्धि गरेको बताइन् । उनले केही केही अभिभावकको गुनासोलाई हेरेर कुरा गर्नुभन्दा विद्यालय निरीक्षण गरी गरी गुनासो गरे राम्रो हुने बताइन् ।
अनुगमनमा निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्य, वरिष्ठ उपाध्यक्ष राम सुवाल, सहसचिव राजकुमार लघुको सहभागिता रहेको थियो भने विद्यालयको पूरा निरीक्षण गरेको थियो ।