- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामको पीठाधीशका रूपमा अन्नत श्री विभूषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराजले आज गद्दी आरोहण गरेका छन् ।
नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिको विशेष साधारणसभाद्वारा पीठाधीशको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेकामा बिहीबार उनले साधुसन्त परम्पराअनुसार गद्दी आरोहण गरेका हुन् ।
विशेष साधारणसभाको निर्णयानुसार पीठाधीशकै अध्यक्षतामा आजै १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा रिषवानन्द स्वामी, सचिवमा माधव भण्डारी, सहसचिवमा शङ्करप्रसाद पौडेल, कोषाध्यक्षमा विष्णु गौतम, सहकोषाध्यक्षमा सुकमाया सुनारलगायत रहेका छन् । धामको निवर्तमान समितिका अध्यक्ष झविन्द्रराज आचार्य सल्लाहकार रहेका छन् ।
कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्दजी महाराजले नर्मदेश्वर मोक्षश्रमधामको धार्मिक एवं ऐतिहासिक महत्त्वलाई जोगाउनुपर्ने बताए । अनन्त श्री विभूषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराजले सबैको साथ र सहयोगमा धामको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका निवर्तमान अध्यक्ष आचार्य, पोखरा महानगरपालिका-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङलगायतले धामको धार्मिक एवं सांस्कृतिक महत्त्वलाई उजागर गर्नुपर्नेमा जोड दिए ।
कर्दम-कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्लागण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यो धाम प्राचीनकालदेखि साधकहरूको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित छ । यसको गरिमा र महत्त्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाइएको निवर्तमान अध्यक्ष आचार्यले जानकारी दिए ।
धाम परिसरमा द्वादश ज्योर्तिलिङ््गसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिङ्ग स्थापना गरिने योजना छ । बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्का लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने र मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने जानकारी दिँदै आचार्यले नेपाल आमा एवं अवतारी महापुरुषहरूको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए ।