arrow

सहाराले चौथो व्याचमा ३० बालक भर्ना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
sahara.jpg

पोखरा । फुटबल एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको सहारा क्लब पोखराले एकेडेमीमा चौथो ब्याचका बालक भर्ना गर्ने भएको छ ।

‘मन वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नारासहित विसं २०५८ मा पहिलोपटक क्लबले सामाजिक सेवास्वरूप अनाथ बालकलाई राखेर फुटबल एकेडेमी सुरु गरेको थियो । 

आगामी वैशाखदेखि सुरु हुने नयाँ ब्याचलाई क्लबले १० वर्ष एकेडेमीमा राख्ने जनाएको छ ।  एकेडेमीमा पहिलो ब्याचमा विसं २०५८ मा २०, विसं २०६१ मा दोस्रो ब्याचमा २० र तेस्रो ब्याचका रूपमा विसं २०७० मा २८ जना प्रशिक्षार्थी बालक रहेका थिए । तेस्रो ब्याचका ११ जना दशजोड दुई (प्लस टु) अध्ययन पूरा गर्दै एकेडेमीबाट बिदाइ भइसकेका छन् ।

बाँकीलाई समेत दशजोड दुई (प्लस टु)को परीक्षा सकिएपछि क्लबबाट बिदाइ गरिने सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताए । उनले भने, “यसअघिका सफल अनुभवलाई सँगाल्दै तेस्रो ब्याचलाई वैशाखमा बिदाइपछि चौथो ब्याच राख्नेछौँ, चौथो ब्याचका लागि यही चैत मसान्तभित्रमा आवेदन आइसक्नुपर्ने छ ।”

क्लबले चौथो ब्याचलाई झन्डै १० वर्ष एकेडेमीमा राखेर शिक्षा-दीक्षासँगै फुटबल प्रशिक्षण गराउने छ । अध्यक्ष गुरुङका अनुुसार ३० जनाभन्दा बढी भएको अवस्थामा छनोट गरेर राखिने छ । एउटा ब्याचलाई १० वर्ष एकेडेमीमा राख्दा क्लबले रु ३० लाख खर्च हुने अनुमान गरेको छ । “एकेडेमीमा राखेपछि बिदाइ भइन्जेलसम्म झन्डै १० वर्ष क्लबको रु २० देखि रु ३० लाख खर्च हुन्छ”, अध्यक्ष गुरुङले भने ।

सहारा क्लबले एकेडेमी सञ्चालनका लागि अक्षयकोष बनाएको छ । अक्षयकोषबाट प्राप्त ब्याजलाई समेत एकेडेमीमा खर्च गर्दै आएको क्लबले जनाएको छ । अक्षयकोषमा हाल रु दुई करोड ४० लाख रहेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । सहाराले बर्सेनि फुटबल प्रतियोगिता गर्दै प्रतियोगिताबाट बचत रकमले एकेडेमी चलाएको छ ।  एकेडेमी सञ्चालनका लागि क्लबले दाताहरूको हात थाप्दै आएको छ ।
 
दुई वर्षअघि मात्रै सूर्यबहादुर केसी स्मृतिले एकेडेमीका लागि वार्षिक रु १५ लाख सहयोग गर्ने सम्झौता गरेको छ । सम्झौतापछि क्लबले एकेडेमीको नाम परिवर्तन गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा’ छात्रबास फुटबल एकेडेमी राखेको छ ।

एकेडेमीबाट उत्पादित अनिल गुरुङ राष्ट्रिय फुटबल टोलीको कप्तान बने । यसैगरी नेपाल पुलिस क्लबमा अजित भण्डारी, नेपाली सेनाको त्रिुभवन आर्मी क्लबमा कार्यरत नवीन श्रेष्ठ, नेपालको ए डिभिजन सातदोबाटो क्लबमा अनुबन्धित सुशील लामा, मनाङ मस्र्याङ्दी क्लबमा अनिल पोमु लिम्बू पनि सहाराको उत्पादन छन् । 

फुटबल इतिहासका नक्षत्र स्व डम्बरसिंह गुरुङ, पूर्वराष्ट्रिय फुटबल खेलाडी स्व बिल तामाङ, पूर्वराष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक थिए । हालका एकेडेमी प्रशिक्षक प्रह्लाद हिराचन, हालका उदीयमान प्रशिक्षक विष्णु गुरुङ र १९ वर्षमुनिको पूर्वराष्ट्रिय फुटबल खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन भएको सहाराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ