arrow

बलात्कार आरोपी सन्दीप विरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
sandeep-lamichhane-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । 

गत चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानून व्यवसायीले स्थगित गराएका थिए । त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो ।

सर्वोच्च अदालतले सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ शुरु भएको छैन । 

सन्दीपमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ गते राति काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । 

५ गते रातभर ती नाबालिगसँग बसेका सन्दीप ६ गते उनकै नेतृत्वमा क्रिकेट खेल्न विदेश गएको थियो । त्यसपछि नाबालिगका तर्फबाट भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो । जिल्ला अदालत काठमाडौंले भदौ २३ गते पक्राउ गर्ने आदेश दिएको थियो । त्यसपछि उनलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको थियो । 

सन्दीप असोज २० गतेमात्रै नेपाल फर्केका थिए । कार्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । 

उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर पुसको २८ गते २० लाख धरौटीमा रिहा हुने आदेश गरेको थियो । उनी २९ गते २० लाख तिरेर रिहा भएका थिए । 

त्यसपछि सन्दीपलाई क्यानले निलम्बन फुकुवा गर्दै विश्वकप लिग २ खेल्ने अनुमति दिएको थियो । यसको चर्को विरोध भए पनि उनलाई खेल्नबाट रोकिएन । महान्यायाधीवक्ताको कार्यालयले पक्राउ गरेरै मुद्दाको प्रक्रिया अगाडि बढाउन भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । 

सोही बखत सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदनसमेत दिए । 

न्यायाधीश सपना मल्ल प्रधानले उच्च अदालतको आदेश भन्दा एक कदम अगाडि बढेर सन्दीपलाई निसर्त विदेश जान पाउने आदेश दिइन् । त्यतिमात्र हैन सन्दीपले विदेशबाट फर्केपछि आफू आइपु्गेको भनेर जानकारी गराए पुग्ने खालको आदेशसमेत दिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ