arrow

उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाउँदै दलहरु, गठबन्धन एकजुट नहुँदा एमाले उत्साही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
upanirwachan-2080a.jpg

काठमाडौं । यतिबेला उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न ठूला दलका शीर्ष तहकै नेताहरु मैदानमा खटिएका छन् । नेपाली कांग्रेसले चितवन र तनहुँमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई खटाएपछि एमालेले पनि शीर्ष तहकै नेताहरुलाई परिचालन गरेको छ । 

एमालेले चितवनमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव गोकर्ण विष्टलाई खटाएको छ । चितवनमै रहेका पोलिटव्युरो सदस्य गोकुलप्रसाद बास्कोटा बैशाख १० सम्म नै त्यही बस्नेछन् । 

त्यहाँ एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । कांग्रेसले पनि पूर्व जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएपछि त्यहाँ महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ । 

त्यसैगरी तनहुँमा एमालेका उपाध्यक्ष युवराज ज्ञावालीको कमाण्डमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्या अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ खटिएका छन् । 

उनीहरु चुनाव अवधिभर त्यही रहनेछन् । त्यहाँ एमालेले पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी कांग्रेसबाट नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गोविन्द्र भट्टराईलाई उम्मेदवार बनाएको छ । त्यहाँ कांग्रेस महामन्त्री गगन थापा आफैँ खटिएका छन् । 

अर्कोतर्फ एमालेले बारामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको कमाण्डमा बारा पठाएको छ । त्यहाँ सचिव रघुवीर महासेठ र ज्वालाकुमारी साह खटिने छन् । बारा २ मा एमालेले पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई उठाएको छ । त्यहाँ कांग्रेसको उम्मेदवार नभएकाले कसैलाई पनि खटाएको छैन । 

पूर्व उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिएका छन् । 
एमालेले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय पनि बनाएका कारण शीर्ष नेताहरुलाई मैदानमा खटाएको देखिन्छ । 

खासगरी उपनिर्वाचनमा १० दलीय सत्ता गठबन्धन एकढिक्का हुन नसकेपछि एमालेले त्यसको फाइदा उठाउनका लागि तीन वटै क्षेत्रमा आफ्ना नेताहरुलाई टास्क दिएर खटाएको हो । 

१० बैशाखका लागि तोकिएको तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनमा गठबन्धनमा रहेका दलहरूले छुट्टाटुट्टै उम्मेदवारी दिएपछि एमालेले पनि तीन वटै क्षेत्रमा कोही कसैलाई समर्थन नगरी एकल उम्मेदवारी दिएको हो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा माओवादीसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीबीच गठबन्धन निर्माण भएको थियो । 

त्यही गठबन्धनका आधारमा उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाउने भनिएको भए पनि उपनिर्वाचनसम्म आइपुग्दा उनीहरुले साझा उम्मेदवार तय गर्न सकेनन् । गठबन्धनले तनहुँ–१ र चितवन–२ मा नेपाली कांग्रेस तथा बारा–२ मा जसपा उम्मेदवारलाई सघाउने भने पनि त्यसविरुद्ध दलहरू एक मत देखिएनन् । 

गठबन्धन अर्थात् कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी पार्टी र लोसपाका उम्मेदवारका रूपमा तनहुँ–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, चितवन–२ मा नेपाली कांग्रेसकै पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ तथा बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बने । 

गठबन्धनमा रहेको रास्वपाले तीन वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । रास्वपाले तनहुँ–१ मा स्वर्णिम वाग्ले, चितवन–२ मा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्ति पार्टीले पनि तीन क्षेत्रमै पार्टीका उम्मेदवार उठाएको छ । उन्मुक्तिले बारामा कमरुल्लाह अन्सारी, चितवनमा राजेश अधिकारी र तनहुँमा भीमबहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीले बारामा शिवचन्द्र कुसवाहलाई उम्मेदवार बनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ