arrow

लुम्बिनीमा मेघा म्याराथन

logo
नारायण वली,
प्रकाशित २०७९ चैत २२ बुधबार
khel press meet.jpg

रुपन्देही । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा लुम्बिनीमा म्याराथन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता चैत २३ गते हुनेछ । लुम्बिनीमा एकैदिन २ वटा अन्तर्राष्ट्रिय स्तरका म्याराथन प्रतियोगिता हुने भएको लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता र अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ को आयोजना गरिने भएको पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाए ।

खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्धनमा टेवा पुग्ने अपेक्षासहित २ सय ७ वटा राष्ट्रका खेलाडीहरुलाई निमन्त्रणा गरिएको महासचिव श्रेष्ठले बताए ।

उनले निमन्त्रणा गरिएका सबै राष्ट्रहरुबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने बताए । श्रेष्ठका अनुसार कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान ७ बजे म्याराथन प्रतियोगिता शुरु भएर लुम्बिनीको शान्तिदीपमा आएर समापन गरिने बताए ।

प्रतियोगितामा नेपालको विभागीय टिमसहित विभिन्न देशका ५० वटा बढी धावक सहभागी हुने बताइएको छ । यस वर्षको प्रतियोगिता समापनसँगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीहरुलाई अर्को वर्षको प्रतियोगिताका लागिसमेत निमन्त्रणा गरिने उल्लेख छ । 

प्रतियोगिताका लागि कुनै पनि स्पोन्सर नभएको भन्दै प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जनाए ।

उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित ४० लाख रुपैयाँ खर्च आँकलन गरिएको छ भने पुरस्कारका लागि ४ लाख २४ हजार खर्च हुने आयोजकले बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ