- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
यतिबेला विश्वभरकै आर्थिक स्थिति तरल छ । बैंकिङ क्षेत्रहरुको अवस्था त झन् अन्योलको अवस्थामा छ । अर्थतन्त्रमा धेरै माथि भएका देशमा पनि बैंकिङ क्षेत्र सुधारिएको छैन ।
कोरोना भाइरसको महामारीपछि देखिएको आर्थिक मन्दीले विश्वलाई नै प्रभाव पारिरहँदा बैंकिङ ब्याजदरमा देखिएको उतारचढावले अर्थतन्त्रमा तनाव सिर्जना भएको छ । यो अवस्थामा नेपाल पनि अछुतो रहन सकेको छैन ।
यसकै तरङ्गका रुपमा बैंक ब्याज नतिर्ने जस्ता गतिविधि पनि बढाइयो । असहयोग नीति बनाएर सर्वसाधारणलाई सडकमा उतार्ने काम पनि भए । तर त्यो अवस्थाबाट पार गर्दै गर्दा बैंकमा भएको अस्थिरता केही महिनाभित्रै हेटर जाने दाबी गर्छन् राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ ।
सरकारी स्वामित्वको बैंकले निजी बैंकहरुसँग गर्नुपरेको प्रतिस्पर्धा, वाणिज्य बैंकको भूमिका र अहिले विश्वभरमै देखिएको तरलताको विषयमा हाम्राकुराले राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठसँग छोटो कुराकानी गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक सरकारको स्वामित्वको बैक पर्यो । निजी बैंकहरुसँग प्रतिस्पर्धा कत्तिको हुन्छ ?
हामी सरकारी स्वामित्वको बैंक भए तापनि वाणिज्य बैंकको नाता भएकाले जे जति बैंकिङ सुविधाहरु दिनुपर्छ ती सबै सुविधाहरु दिनैपर्यो । क्रेडिटका कुराहरुदेखि लिएर डिजिटल बैंकिङका कुराहरु, रेमिटेन्सका सबै कुराहरु गर्नुपर्यो । एकातर्फ यो खालको प्रतिस्पर्धा पनि छ । अर्कोतर्फ सरकारको नीति तथा कार्यक्रम र प्राथमिकतालाई पनि गाउँ, दूरदराजमा पनि हामी लाग्नुपर्यो । अनि लोकसेवा आयोगदेखि लिएर विभिन्न संवैधानिक निकायहरुमा जस्तो महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका यी सबै संवैधानिक निकायहरुमा पनि हाम्रो दायित्व हुने भो । त्यसो भएको हुनाले हाम्रो दोहोरो खालको रेस्पन्सिबिलिटी र प्रतिस्पर्धा हुने भयो । एउटा चाहिँ निजी क्षेत्रको बैंकहरुसँग बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्यो । अर्को जुन हाम्रो सरकारी बैंकको नाताले गर्नुपर्ने राष्ट्रिय खालका दायित्वहरु छन् तिनीहरुलार्ए पनि पूरा गर्नुपर्नेहुन्छ । त्यसैले प्रतिस्पर्धामा दोहोरो कामले गर्दा निकै नै मेहनत गर्नुपर्ने हुन्छ ।
कति छन् राष्ट्रिय वाणिज्य बैंकका ग्राहक ?
३८ लाख ५० हजार निक्षेपका ग्राहक रहेका छन् । कर्जाकार ग्राहक एक लाख ८० हजार रहेका छन् । विभिन्न बैंक मर्जर हुँदा ग्राहक कति भए त्यो हेर्नुपर्छ । नत्र ग्राहक संख्याका हिसाबले सबैभन्दा ठूलो बैंक हामी हौं । सात प्रदेश ७७ जिल्ला र सदरमुकामलै २६४ शाखा भएको भनेर हामीले भन्ने गर्या थियौं । त्यो स्थिति हो नि हाम्रो ।
बैंकहरु धमाधम मर्जर भइरहेका छन् । यसले कस्तो प्रभाव पार्छ ?
मर्जर हुनु मलाई वास्तवमा सकारात्मक कुरा लाग्छ । किनभने बैंकहरुको साइज ठूलो भएपछि त्यसको क्षमता पनि बढ्ने नै हुन्छ । लगानी लगायतका कुराहरुमा बढ्ने हुन्छ । अलिकति डुब्लिकेशन भइरहेको खर्चहरु, विभिन्न खालका अपरेशन खर्चहरु हुन्छन् त्यसमा अलिकति कटौती गर्न सकिने खालको स्थिति पनि हुन्छ । ब्यालेन्स सिटको साइज ठूलो भैसकेपछि बाहिर अन्तर्राष्ट्रिय रुपमा पनि हाम्रो अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्र वा अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोण पनि बैंकको आकारले पनि फरक हुन्छ । धेरै सकारात्मक कुराहरु गर्छन् । यसले गर्दा बैंक बलियो र खँदिलो पनि हुन सक्छ भन्ने मान्यता मर्जरको हो । यो मलाई लाग्छ सकारात्मक कुरा हो । हाम्रो देशमा पनि त्यही हुन्छ जस्तो मलाई लाग्छ ।
बैंकको डेटा सुरक्षाको विषय गम्भीर बन्दै गएको छ । वाणिज्य बैंकले के गर्दैछ ?
अहिले जुन साइबर सेक्युरिटी र डेटाहरुको कुरा छ नि यसको चुनौती एकदम बढेर गएको छ । तर पनि सबै बैंकहरुले हाम्रो सिष्टमलाई पनि त्यसैको काउन्टर एट्याक गर्नको निमित्त हामीले डेभलपर सिष्टमहरु गरिरहेका छौं । हामीले एक अर्काबीचमा जुन खालको इन्फरमेशन शेयरिङ गर्ने कुराहरु, एलर्ट गर्ने कुराहरु र त्यस्तो खालको सिम्टम्सहरु आयो भने तुरुन्तै त्यसको रेस्पोन्स कसरी गर्ने भन्ने कुराको मेकानिज्म बनाएका छौं । त्यसलाई हामीले साइबर थ्रेटलाई साइबर सेक्युरिटीलाई विकास गरेर अगाडि बढेको स्थिति छ ।
व्यवसायीहरुले बैंक ब्याजको विषयलाई लिएर आन्दोलन गरे । यो अवस्था कसरी आयो ?
हाम्रो बैंकिङ क्षेत्रको भनाइ के छ भने हामी एउटा खुला अर्थनीतिमा गएको र प्रतिस्पर्धामा गएको हुनाले धेरै कुराहरु बजारमै निर्भर रहन्छ । बजारमा अर्थशास्त्रको जुन माग र आपूर्तिको नियम छ त्यो यसमा पनि लागू हुन्छ । अहिले त सहज छ तर एक दुई महिना अगाडि जुन खालको स्रोत, डिपोजिटको एकदमै कमी भएको स्थिति, नपाउने स्थिति भएपछि हामीले अलिकति ब्याजहरु बढाउनु पर्ने स्थिति बन्यो । त्यो ब्याज बढाइसकेपछि यतापट्टि बेस रेटमा पनि बढ्यो । बेस रेटमा पनि बढिसकेपछि कर्जामा पनि त्यसको प्रभाव पर्यो । त्यसले गर्दा त्यो ढङ्गले ब्याजदर बढेको स्थिति हो । तर यसलाई एक महिना, दुई महिना, तीन महिनाको मात्रै फेनोमिना नलिइकन दुई वर्षको साइकिलमा हामीले हेर्यौं भनेदेखि र हामीले त्यसरी पनि हेर्नुपर्छ जस्तो लाग्छ । किनभने हिजो कोभिडको टाइममा निक्षेपहरु जति पनि पाइने, कर्जाहरु नपाइने स्थिति थियो । त्यसो हुनाले सात आठ प्रतिशतमा आएको हो कर्जाहरु । यसले गर्दा हिजोको तुलनामा आज बढी देखिएको हो । तर एकदमै अप्राकृतिक चाहिँ हैन है । अहिले घट्ने क्रम शुरु भयो । चैतमा आउँदा सहजताहरु आए । सबै बैंकका सीडी (क्रेडिट–डिपोजिट) रेसियो, लिक्विडिटीहरुमा सहजता आइसकेपछि बैशाखमा फेरि घट्ने क्रममा जान्छ । मलाई लाग्छ आर्थिक वर्षको अन्त्यतिर पुग्दा हिजोको जस्तै सामान्य अवस्थामा फर्किन्छ । त्यसैले आत्तिनु पर्ने, धेरै डराउनु पर्ने छैन जस्तो लाग्छ मलाई ।
ऋण नतिर्ने आन्दोलनको कुनै अर्थ छैन ?
यो त जनताको पैसा हो । बैंकहरुमा भएको पैसा त जनताले डिपोजिट गरेको पैसा हो नि । अहिले ब्याज बढी भयो भने त्यहीँ डिजोजिट गर्ने ३८ लाख ५० हजारले पाए । त्यसले गर्दा यो कुरालाई बुझ्नु पर्यो एउटा कुरा । र यसलाई के छ भन्दाखेरी आन्दोलनहरु भन्दा पनि यसको मूख्य स्थिति के हो र यदि बैंकहरुको यस्तो खालको तलमाथि भएको छ भने गुनासो सुनुवाइ गर्ने निकाय राष्ट्र बैंक पनि छ । त्यहाँ बसेर हामी छलफल गर्ने, अन्तरक्रिया गर्ने, यसलाई समाधानको बाटो निकाल्ने र सौहार्दपूर्ण रुपमा दुवै पक्ष विन विन गरेर अगाडि बढ्ने हो नि त ।
निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्दै गर्दा भोलिका योजना के अगाडि सारेको छ ?
हाम्रो एउटा भनाइ पनि छ हामी सरकारी बैंक भएको हुनाले सरकारी स्वामित्वको हामी गर्व गर्छौं । र हामी के गर्छौं भन्दाखेरी सरकारी बैंक भएता पनि सबै बैंकहरुसँग स्वस्थ्य प्रतिस्पर्धा गर्न तयार छौं भनेर हामी अगाडि बढेको स्थिति हो । त्यसरी नै हामी प्रतिस्पर्धा गरिरहेका छौं । त्यसो भएर भोलिको दिनमा पनि हामीले हाम्रो बिजनेशलाई बढाउने कुराहरु, बैंकलाई अझै सुदृढीकरण गर्ने कुराहरु, अझै यसको नेटवर्कहरु बढाउने कुराहरु, कर्मचारीको क्षमता वृद्धि गर्ने कुराहरु र टेक्नोलोजीमा परिवर्तन गरेर यसको कष्टमर सर्भिसको क्वालिटीलाई अभिवृद्धि गर्ने योजना र हामी प्रतिस्पर्धामा जाने भन्ने हाम्रो योजना हो ।
अनि सरकारी भएकै कारण काममा ढिलासुस्ती र एटीएममा जहिल्यै समस्या भएका गुनासो सुनिन्छ नि ?
सरकारी स्वामित्व बैंकहरुको एक किसिमको नेगेटिभ छ । हामीले कस्टमर सर्भिसको क्वालिटी अझै बढाउनु पर्नेछ । हामीले हाम्रो टेक्नोलोजीमा अझै सुधार गर्नुपर्नेछ । हाम्रो कर्मचारीको क्षमता, बानी ब्यहोरा, सोच्ने, हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्नेछ । त्यसैले यो कुराहरु गरेर प्रतिस्पर्धी हुन्छौं ।