arrow

ढाकाकुमार काण्डमा रास्वपाभित्र विवाद, कारबाही कि उन्मुक्ति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
dhakakumar-shrestha-rsp.jpg

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री हुनका लागि दुई करोड रुपैयाँ माग गर्ने सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच विवाद भएको छ । 

श्रेष्ठलाई कारबाही गर्ने विषयमा रास्वपा सभापति रवि लामिछाने र अन्य पदाधिकारीबीच मतभेद देखिएको हो । रवि गलत गरेको भए कारबाही गरेर सांसदबाट हटाउने पक्षमा देखिएका छन् भने उपसभापति डोलप्रसाद अर्याल श्रेष्ठलाई बचाउने पक्षमा लागेका छन् । 

पार्टी उच्च स्रोतका अनुसार रवि र महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल गल्ती गरेको हो भने कारबाही गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् ।

रविले त गल्ती गरेको भएका कारबाही गर्न सकिन भने आफूलाई नदीमा बगाइदिए पनि हुन्छ भन्ने अभिब्यक्ति दिएका छन् । रवि चितवन क्षेत्र नम्बर २ बाट बैशाख १० मा हुने उपनिर्वाचनका उम्मेदवार छन् । 

चुनावको मुखमा आएर आफू र आफ्नो पार्टी बदनाम हुँदा नकारात्मक असर पर्ने भन्दै उनले कुनै पनि किसिमको सम्झौता नगर्ने पक्षमा देखिएका छन् । 

त्यसैले त उनले तीन दिनभित्र कारबाही गर्ने गरी अनुसन्धान समिति गठन गरेका थिए । प्रकरणको छानबिन समितिमा डा. भरतमणि देवकोटासहित चार जनाको टोली छ । 

समितिलाई ७२ घण्टाभित्र सत्य तथ्य जानकारी गराउन निर्देशन दिइएको छ । समयका सम्बन्धमा पनि विवाद आएको थियो । यद्यपि सभापति रविको अडान अगाडि कसैले पनि उल्लंघन गर्ने हिम्मत गरेनन् । 

उपसभापति अर्यालले भने यसलाई आलटाल गर्ने नीति बनाउन खोजेका थिए । उनले छानविन समिति मात्र बनाएर जानसमेत आग्रह गरेका थिए । तर सांसद श्रेष्ठलाई तत्काल स्पष्टीकरण बुझाउन भनेको थियो । 

विवादित सांसद श्रेष्ठले सोमबार बेलुका नै स्पष्टीकरण बुझाएका छन् । अब यसबारे मंगलबार छानबिन हुनेछ । अनुसन्धान समितिका देवकोटाले मिडियालाई दिएको जानकारी अनुसार मंगलबार बेलुकासम्म निचोड निकालिने छ । 

घटना के हो ? 
श्रेष्ठ र प्रसाईबीचको अडियो सम्वाद एउटा अनलाइनले सार्वजनिक गर्यो । उक्त अडियोमा श्रेष्ठले प्रसाईसँग आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि दुई करोड रुपैयाँ लाग्ने भएको भन्दै प्रसाईसँग मागेका थिए । 

प्रसाईले पनि आफूले दुई करोड रुपैयाँ दिने बताएका थिए । प्रसाईले सो सम्वादमा ढाकाको नाम, थर, उनले डाक्टरी पढेको र सर्टिफिकेट लिएको कुरा स्पष्टसँग सोधेका थिए ।

सो क्रममा पार्टीका अन्य नेताहरु पनि मुछिएका थिए । यद्यपि श्रेष्ठले अर्को एक यु–ट्युब च्यानलमा भने त्यो अडियो आफ्नो नै नभएको दाबी गरेका छन् । 

उनले ‘आफूले यत्रो पैसा माग्ने भए कसैले फोनमा माग्छ ? आजकल त बच्चा बच्चालाई पनि थाहा छ, मलाई किन थाहा नहुने ?’ भनेर स्पष्ट पार्ने प्रयास गरेका थिए । 

तर उनको यो भनाइमै शंका छ । उनले आफ्नो बोली त जसले पनि गराउन सक्छ भन्दै बच्ने प्रयास गर्ने क्रममा आफू जहाँ पनि जान तयार रहेको बताएका छन् । 

चिन्तामा रवि
चुनावमा बेलामा यो घटना बाहिरिँदा रवि चिन्तामा परेका छन् । तर स्रोतका अनुसार आर्थिक लेनदेनको टेप बाहिरिने जानकारी रविलाई पहिल्यै थियो । 

केही सांसदहरूका अनुसार पैसा मागेको प्रकरणबारे रास्वपाभित्र चर्चा भइरहेको थियो । आफैंले विश्वास गरेका सांसद श्रेष्ठको आर्थिक लेनदेनको अडियो बाहिरिएपछि रवि विचलित देखिएका छन् । 

रविको कोर टिमले पैसा मागेको बताएपछि कहीँ न कहीँ रवि पनि यो काण्डमा मुछिएका छन् । ढाकाले रविलाई मुछेका छन् । रविलाई यसको सुइँको छैन भने पनि उनी स्वयंले उन्मुक्ति पाउँदैनन् । 

उपनिर्वाचन हुनुअघि नै यो अडियो बाहिरिएपछि रविलाई चिन्ता लागेको हो । उनले अहिले सबै ध्यान चितवन २ मा केन्द्रित गरेका छन् । यद्यपि पार्टीको सभापति भइसकेपछि तनहुँ १ र बारा २ मा पनि प्रचारप्रसारको सम्बोधनमा सहभागी भएका छन् । 

रविको नागरिकता काण्ड र अहिले आएर श्रेष्ठ जोडिएको दुई करोड काण्डले रविको यसपालि भोट घट्ने निश्चितजस्तै भएको छ । 

गत मंसिर ४ को निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा तेब्बर बढी मत ल्याएका थिए । तर यसपालि त्यस्तो सम्भावना देखिएको छैन ।

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेवदार स्थानीय भएका कारणले पनि रविको भोट यसै पनि काटिँदै गरेको विश्लेषण भइरहँदा छोटो अवधिमै पार्टी विभिन्न काण्डमा मुछिएपछि रास्वपाको हैसियत पनि उस्तै त रहेछ नि भन्ने मनस्थिति मतदातामा पुगेको बुझ्न सकिन्छ । 

श्रेष्ठलाई कारबाही कि उन्मुक्ति ? 
रविको अवस्था हेर्दा श्रेष्ठलाई कारबाही नै हुन्छ । ढाकाकुमारले आफूले यु–ट्युबरसँग कुरा गर्दा आफ्नो मोबाइलबाट अरुले फोन गरेको हुन सक्ने तर आफूले नगरेको बताएर पन्छिन खोजे । यसबाट उनी झन् शंकाको घेरामा परिसकेका छन् । 

अर्कातर्फ कसैले कसैको आवाज निकाले पनि लाइभमा बोलिरहँदा कुनै न कुनै ठाउँमा चिप्लिन्छ । त्यो अडियोमा एकरुपता देखिन्छ । यसबाट पनि श्रेष्ठले अब उन्मुक्ति पाउने अवस्था छैन । 

अर्कातर्फ रविले यो काण्डमा कुनै माफी दिने योजना बनाएको पाइँदैन । त्यसो भएको भए उनको बोली केही फरक हुने थियो । 

उनले आफूले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन सक्नेसमेत बताइसकेका छन् । 

तसर्थ रवि कारबाहीकै पक्षमा रहेका छन् । तर उपसभापति अर्यालसहितका केही पदाधिकारी र सदस्य भने श्रेष्ठलाई उन्मक्ति दिनुपर्छ भन्ने पक्षमा रहेका छन् । 

सोमबारको प्रतिनिधि सभाको बैठकमा समेत रास्वपाले श्रेष्ठका कारण परेको विवादमा क्षमासमेत मागेको छ । साथै छानबिन गरी दोषीलाई कारबाही गर्नेसमेत भनिसकेको छ । 

र, पनि राजनीतिमा जे पनि जायज हुन्छ । जसरी निष्कलंक छु भन्दा भन्दै रवि नागरिकता विवादमा फसे त्यसैगरी श्रेष्ठलाई बचाउन खोजिए पनि उनलाई कुनै न कुनै छानबिनको माध्यमबाट कारबाही गर्न चाहे असम्भव छैन । गृहमन्त्री नारायणकाजी श्रेष्ठलेसमेत छानबिन हेरेर कारबाही गर्ने बताइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ